काठमाडौं – उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट कञ्चनपुरको पुनर्वासका गोविन्द गौतम मारिएको घटनामा गल्ती स्वीकार (रिग्रेट) गर्न भारतीय पक्षलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँगको भेटवार्ताका क्रममा निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट नेपाली मारिएको प्रसंग उठाउँदै भारत सरकारलाई यसमा ‘रिग्रेट गर्न आग्रह’ गर्नुभएको हो । उहाँले नेपालको अनुसन्धानले गोली भारतीय सुरक्षाकर्मीबाट नै चलेको देखिएको डोभललाई जानकारी गराउनुभएको थियो । प्रत्युत्तरमा डोभलले घटना दुःखदायी भएको बताउनुभएको थियो ।
‘हाम्रो अनुसन्धानले गोली भारतीय पक्षबाट नै चलेको देखाएको छ । त्यसमा भारतीय पक्षले रिग्रेट गर्नुपर्छ भनेको छु,’ भेटघाटपछि निधिले भन्नुभयो । निधिले भारतीय पक्षले मागे अनुसार गौतमको पोष्टमार्टम रिपोर्ट उनीहरुलाई उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको बताउनुभयो।
‘हामीले गृह र परराष्ट्र हुँदै रिपोर्ट भारतलाई पठाउने प्रक्रिया सुरु गरिसकेका छौ,’ उहाँले भन्नुभयो । आफू नयाँ दिल्लीमा हुँदै पोस्टमार्टम रिपोर्ट भारतलाई दिन लागिपरेका उहाँले बताउनुभयो। भारतले भने घटनाको अनुसन्धानपछि मात्र केही भन्न सकिने बताएको छ । भारतले यस अघि नै घट्नाबारे आफ्नो तर्फबाट छानबिन शुरु भएको बताएको थियो ।
निधि र डोभलबीचमा दुई देशको सीमामा रहेका समस्या समाधान गर्ने विषयमा समेत कुराकानी भएको थियो । निधिले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसंग भेटघाट गर्ने तय भएको छ ।