परराष्ट्र सेवामा ३१ वर्ष बिताउनु भएका मोहनकृष्ण श्रेष्ठ पूर्वराजदूत हुनुहुन्छ । जापानसहित विभिन्न देशमा रही कार्यबाहक राजदूतको जिम्मेवारी सम्हाल्नु भएका श्रेष्ठ पछिल्लो समय ४ वर्ष फ्रान्सको लागि राजदूत भएर काम गरेको अनुभव पनि छ उहांसंग । तत्पश्चात सेवा निवृत्त भएपछि हाल उहा लेखपढमै व्यस्त हुनु हुन्छ नेपालमा । करिब आधा दर्जन भाषाका ज्ञाता श्रेष्ठले ६ महादेशका करिब ७१ देश भ्रमण गर्नुभएको छ । कूटनीतिमा सफल व्यक्तिको रुपमा परिचित श्रेष्ठले आफ्नो परराष्ट्र सेवाको अनुभव समेटी ‘कूटनीतिमा तीन दशक’ पुस्तकसमेत प्रकाशन गर्नुभएको छ । मेहनती, इमान्दार र सधैं राष्ट्र सेवामा समर्पित रहीरहन चाहने पूर्वराजदूत श्रेष्ठसँग नेपाली समाचारका नेपाल व्यूरोप्रमुख शिव श्रेष्ठ र आनन्द पौडेलले विभिन्न देशमा राजदूत नहुंदाका पीडा, त्यहाका नागरिकहरुका समस्या र पछिल्लो समयमा राजदूत नियुक्तिमा देखिएको विवाद लगायतका बिषयमा गर्नुभएको कुराकानीको सम्पादति अंश:
परराष्ट्र सेवामा ३१ वर्षको अनुभव कस्तो रह्यो ?
सरकारी कुर्सीमा बसेपछि राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरो व्यक्तिमै भर पर्दछ। ३१ वर्ष परराष्ट्र सेवामा रहंदा मैले सदा नेपाल र नेपालीको भलो चिताएर काम गरी आएं । सोही कारण होला कि अहिले सेवा निवृत्त भएर बसेको अवस्थामा पनि फ्रान्स, युएई, जापान, थाइल्याण्ड लगायतका देशमा बस्ने हाम्रा दाजुभाई दिदीबहिनीहरुले मलाई सम्झने पाएकोछु । दूतावासहरुमा कार्यरत रहंदा आउने समस्याहरु समाधान गर्न दत्तचित्त भै कार्यरत रहे । राम्रो काम गर्न सक्यो भने जहा रहेपनि नेपालीहरुले बिर्सने रहेनछन् भन्ने मेरो अनुभव छ ।
दूतावासको कुर्सीमा बसेर संधै सबैलाई खुशी पार्न सकिन्छ ?
राजदूतको कुर्सीमा बसेपछि त्यो देशमा रहेका नेपालीले राजदूतलाई आनो अविभावक सम्झन्छन् । जे समस्या परेपनि सम्झेर आइपुग्ने । विदेशमा रहेका नेपालीहरुको मुख्य समस्या भनेकै पासपोर्ट हराउने वा पासपोर्ट सम्बन्धिनै हो । त्यसको लागि सक्दो प्रयास गरियो । खासगरी जापानमा कार्यरत रह्रदा कोरियामा रहेका नेपालीहरुको समस्या समेत हेर्न पर्दथ्यो। हाल केहि वर्ष अगाडि कोरियाको राजधानी सिउलमा राजदूतावास स्थापना भएकोले हाल यो काम गर्न आवश्यक छैन। सन् २००२ मा कोरियामा बिना कागजात करिव ६०० जना जति नेपालीहरु थिए । कोरियाई सरकारले विश्व फुटबल कपको आयोजना गर्ने भएकोले पासपोर्ट लिई आएमा अवैधानिक भै वसेका विदेशीहरुलाई वैधानिकता प्रदान गर्ने क्षमादान प्रदान गरेकोले राजदूतावासको पहलमा ६ हप्तामा ५५२ जनालाई पासपोर्ट प्रदान गरी उध्दार गरिएको थियो । त्यस्तै अन्य कतिपय कन्सुलर सम्वन्धित समस्याहरु पनि सक्दो सहयोग प्रदान गरी समाधान गर्ने कार्यहरु गरिएको थियो । फ्रान्समा कार्यरत रहंदा भिन्नै पं्रकारका कन्सुलर सम्वन्धित समस्याहरु देखा परेका थिए । त्यस्ता समस्याहरु परराष्ट्र मन्त्रालाई जानकारी गराई पछि केहि हद सम्म कम गर्ने प्रयास पनि सफल भएको थियो ।
जापानमा बस्ने नेपालीहरुले चाहँ के कारणले तपाईंलाई सम्झिरहन्छन् ?
टोकियो स्थित हाम्रो राजदूतावासमा म मिनिष्टर काउन्सेलर भै ३ बर्ष २ महिना र कार्यबाहक राजदूत भएर करिब १० महिना बसें । म कार्यबाहक राजदूत हुंदा जापानमा नेपालीको संख्या करिब १०/१२ हजार मात्र थियो । राजदूतावासमा हामी जम्मा तीन जना कर्मचारी थियौं । फोन निरन्तर आइरहने, एक जना सहचारीले फोन उठाउनै नभ्याउने । त्यसैले, मेरै पहलमा पहिलो पटक वेभसाइट बनायौं । जहा मुख्य ६ समस्याहरुको समाधानका उपाय राखिदियौ । त्यसपछि फोन आउने कम हुंदै गयो । वेभसाईटवाटै सवै जानकारी प्राप्त हुने भए पछि फोन गरी राख्नु जरुरत नै परेन । यति काम पनि धेरै वर्ष सम्म भएको थिएन । नेपालीहरुलाई आई पर्ने पासपोर्टको समस्या समाधान गर्न मैले संधै सकारात्मक सोच लिई सहयोग गरी दिने गरेकोले पनि मलाई धेरैले सम्झिरहन्छन् । यसका साथ दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने कूटनीतिक कार्यक्रमहरु चलाउन, देशको प्रबद्र्धन र लगानी बिस्तार गर्न आदि विषयमा पनि मैले राम्रो भूमिका निर्बाह गरेको थिएं ।
जापानमा बस्ने नेपालीहरुको मुख्य समस्या के के रहेछन् ?
जापानमा बस्ने नेपालीहरुको पनि मुख्य समस्या भनेकै पासपोर्ट हराउने । त्यसपछि काम पाईएन भनेर भौतारिने, शरणार्थी बन्ने समस्या पनि त्यस्तै छ । जापानमा पनि शरणार्थीको ठूलो समस्या देखें । विना कारण पनि नेपालीहरु आफ्नो देशको पासपोर्ट त्यागेर शरणार्थी बन्ने, कारण छ त शरणार्थी बन्नुमा? न त हाम्रो देशमा अहिले द्वन्द्व भएर बस्नै नसक्ने अवस्था छ, न अरु कुनै समस्या? यस्ता नेपालीहरुले त्यहां हामी र हाम्रो देशको वेइजत गरिरहेका छन् । जापान जस्तो देशमा गएर नेपालको इज्जत माथि दाग नलगाउन म सम्वन्धित व्यक्तिहरुलाई विनम्रता पूर्वक आग्रह गर्दछु। आफ्नो तुच्छ स्वार्थका कारण नेपाल आमाको नाममा कलंक नजोड्न सचेत गर्न चाहन्छु । सकिन्छ, त्यही शानका साथ काम गर्ने – प्रतिष्ठा कमाउने, सकिन्न देश फर्कने र आफ्नो राम्रो व्यवसाय गरी सम्मानजनक जीवन जिउने । जापानमा पनि हालका केहि वर्षहरु देखि मिहेनत, मजदुरी, व्यवसाय गरी आफ्नो आर्थिक हैसियत निकै माथि उठाई सकेका कतिपय नेपालीहरु देखिएका छन् ।
शरणार्थी समस्या समाधानका उपाय के हुन सक्छन् र यसमा राजदूतावासको भूमिका के हुन सक्छ ?
सबैभन्दा पहिला त जापान जान चाहने व्यक्तिले म जापान किन जाँदैछु, म त्यहां गएर के गर्छु र जापान कस्तो देश हो भन्ने बुझ्न प¥यो । साथै जापान पठाउनेहरुले त्यहाँको बारेमा राम्रो ज्ञान दिलाउनुपर्यो, पैसाकै लोभमा मात्र फस्न भएन । यी दुई कुराले धेरै समस्याको समाधान निकाल्न सक्दछ । जापान भनेको आपसी विश्वासमा अडेको देश भएकोले एउटा कुरामा विश्वास गुम्यो भने उनीहरुले जिन्दगी भर विश्वास गर्दैनन्। त्यसैले, दूतावासले पनि नागरिकलाई सचेत गराउनुपर्छ । नेपालीहरु किन शरणार्थी बनिरहेका छन् भन्ने त जापान सरकारले बुझ्दैनन् र ? यस्तो संवेदनशील कुरामा सबै सचेत हुनुपर्छ ।
जापानमा रहेका नेपालीहरुको आत्महत्या गर्ने क्रम किन बढ्दो छ ?
विदेश पुग्नु अघि नै ठूलाठूला सपना देख्ने अनि सपना देखेजस्तो दैनिकी नभएपछि वा कमाउन नसकेपछि आत्महत्या नै राम्रो बिकल्प ठान्छन् होला । आत्महत्या गर्नेको अन्य विभिन्न कारणहरु हुन सक्दछन् । जापान त्यति सजिलो देश छैन । नीति, नियम र समयको ख्याल गर्न नसक्नेहरु जापानमा टिक्न सक्दैनन् । जति कमायो त्यति खर्च हुने देश हो जापान । सोझो काम गराइले चांडै धनी हुने सपना देख्न हुंदैन । केहि व्यक्तिहरु निकै धनी पनि भएका छन् । उनीहरुबाट मिहेनत के हो भन्ने कुरा सिक्नु पर्छ । त्यसैले, मिहेनत गर्न सक्यो, झुठको खेती गरिएन र इमान्दार भएर काम गरियो भने सफलता पाइन्छ । आफ्नो एकवारको अमुल्य जीवन यसरी नसकाएमा वेश हुने थियो ।
नेपाल र जापानबीचको सम्बन्ध गाँसिएको ६० वर्ष पूरा भयो । तर, नेपालमा जापानी लगानी भित्र्याउन चाँहि खासै सकिएन किन होला ?
नेपाललाई जापानीहरुले हाई रिस्क कन्ट्री भन्छन् । यो भनेको डेञ्जर होइन तर रिक्स बढि छ । नेपालमा लगानी भिœयाउने नीति राम्रो छ । तर कार्यान्वयन सुस्तछ । नीति बन्दैमा बैदेशिक लगानी यतिकै आउने होईन । लगानी भित्र्याउन सम्वन्धित पक्षहरुले निकै मिहेनत गर्नु पर्दछ । बिदेशी लगानीकर्ताहरुलाई राम्रो सहयोग गर्नु पर्दछ । तर व्यवहारमा यस्तो देखिएको छ्रैन । एक एक मिनेटको हिसाब गर्ने जापानीहरुलाई यहाँको ढिलासुस्ती र हरेक काममा बार्गेनिङ गर्ने सिस्टम नै मन परेको छैन ।
विश्वमा जापानीहरुले ठूलो लगानी गरिरहेका छन् । नेपालमा एक प्रतिशत मात्र ल्याउन सक्यो भने पनि राम्रो हुन्छ । यहाको कृषि, पर्यटन, जलविद्युत, अन्य उद्योग सबैमा लगानी गर्न रुचाउछन् । तर, जापानीहरुले लगायत अन्य विदेशी लगानीकर्ताहरुले समेत नेपाललाई वान विन्डो पोलिसीबाट सहयोग लिन ११ वटा ढोकाहरु वाट छिर्न पर्ने देश पनि भन्छन् । अनि तर्सन्छन् । यही मार्च २ देखि ३, २०१७ सम्म काठमाडौमा लगानी शिखर सम्मेलनको सफलतापूर्वक सम्पन्न भयो । राजनैतिक प्रतिवद्धता समेत साझा मन्चबाट जाहेर गरिएकोले आशा गरे भन्दा धेरै गुणा बैदेशिक लगानीको प्रतिवद्धता सुन्नमा आयो । जुन कुरा निकै उत्साहबद्र्धक छ । तर, भएका राम्रा नीतिहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी विदेशी लगानीकर्ताहरुलाई हाम्रो क्षमता प्रति विश्वास दिलाउन सक्नु पर्दछ ।
बैदेशिक लगानी प्रवध्र्दन गर्ने राम्रो दिन आएको जस्तो लाग्दछ । तर हामी सवैले निकै चनाखो भै कामहरु गर्र्र्दै जानु पर्दछ । जापानवाट आएका प्रतिनिधिहरु संग छोटो भेट हुंदा उहांहरुमा निकै उत्साह भएको पाएं ।
लगानी बढाउन उपाय के हुन सक्छ ?
हुन त केही दिन अघि मात्र हाम्रो उद्योगमन्त्रीज्यू जापान गएर नेपालमा लगानीको वातावरण राम्रो छ भन्दै लगानी गर्न अपिल गर्नुुभएछ । तर, जापानीहरुको दिमागबाट नेपालमा राम्रो नीति भए पनि, कार्यान्वयन नहुने समस्या छ भन्ने कुरो हटाउन सकिएको छैन । उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, राजदूतावास र सरकारसहितको विशेष टोली गएर त्यस्तो खालको बिश्वास दिलाउन सकियो भने मात्र उनीहरु नेपालमा लगानी गर्न तयार होलान् । नत्र जो मन्त्री वा नेता गएर भाषण गरे पनि उस्तै हो ।
अब, राजदूत नियुक्तिको विषय जोडौं । पछिल्लो समयमा १४ देशका लागि सिफारिस भएका राजदूतका विषयमा तपाईंको भनाइ के छ ?
सरकारले गरेको निर्णयमा मैले राम्रो/नराम्रो भन्न त मिल्दैन । तर पनि, राजदूत भनेको राष्ट्राध्यक्षले मेरो विश्वासको पात्र हो भनेर पठाउने हो । यस्तो गम्भीर विषयमा शैक्षिक योग्यता नपुगेको, मुद्धा मामिला चलेको, सम्बन्धित देशका बारेमा नबुझेको व्यक्तिहरु पठाउन भएन । मुख्य कुरो त राजदूत भनेको भागवण्डा गरेर खाने पद नै होइन । छापाहरुमा आएको समाचार सुन्दा, पढ्दा त निकै निराश हुन पुग्दछु । देशमा योग्य व्यक्तिहरुको कमि छैन । पार्टीहरुले पनि हाम्रो मात्र नभनि राम्रोलाई पनि मौका दिएमा देश तथा जनतालाई फाईदा पुग्ने हो । भागवण्डा, गुट अनि फेरि उपगुट रे । यसरी मानिसहरु राजदूतको नियुक्तिमा पर्दा राम्रो होला जस्तो लाग्दैन । पार्टीहरुले योगदान पुर्याएका व्यतिmहरुलाई अरु किसिमले पनि सहयोग गर्न सक्दछ नि । कमसल खालको व्यक्ति राजदूत पदमा नियुक्ति भएमा यस्ता व्यक्तिबाट देशको ईज्जतमा कवाज खेल्ने काम बाहेक अरु हुन सदैन । यस्ता नालायक राजदूतको कारण दुई देशबीच रही आएको सम्बन्धमा कठीनाई उत्पन्न हुन सक्छ । जथाभावी नियुक्तिले अयोग्यहरुले पनि आफूलाई उम्मेदवारको रुपमा पेश गर्ने हुँदा राजदूत नियुक्तिमा धेरै समय लाग्ने एउटा खरो कारण यो पनि हुन सक्छ ।
राजदूत पदमा त सक्षम, अनुभवी र देशको हितका लागि काम गर्न सक्ने व्यक्ति चाहिन्छ । न कि पार्टीको झण्डा बोक्ने र नेताको चाकडी गर्ने व्यक्ति मात्रै । खै यस्तो स्थिती देशमा कहिले आउने होला ।
तपाईंलाई कहिलेकाहि म जस्तो बुझेको, विदेशमा रहेका हरेक नेपालीको ढुकढुकी छामेको व्यक्तिलाई राज्यले अवसर दिएन वा अन्याय गर्यो भन्ने लाग्दैन ?
अन्याय गर्यो भन्न त मिलेन । तर कहिले कांही अन्यायको फिल चाहि हुन्छ । मलाई अझै पनि मेरो अनुभव कहि न कहि गएर देखाउं भन्ने लागिराखेको’छ । म रिटायर्ड पो भएको हुं, टायर्ड त भएको छैन नि । चार वर्ष अझै खटेर काम गर्ने जोश, जाँगर र ईच्छा छ । मलाई कुनै दिन म तथा अन्य कतिपय हाम्रो मित्रहरु तथा अग्रजहरु जो अनुभवी छन्, कुटनीति बुझेका, भोगेका व्यक्तिलाई राज्यले उपयोग गर्ने दिन आउछ भन्ने लागेको थिया, तर गलत बुझेछु । अव छर्लग बुझे ।
जापानका बारेमा जानकारका नाताले नया सिफारिस हुनुभएका राजदूत’लाई केही सुझाब छ ?
मैले सुने अनुसार उहां राप्रपाको कोटाबाट सिफारिस हुनुभएको रे । सामान्य चिनजान भए पनि उहांलाई मैले राम्ररी अध्ययन गर्न पाएको छैन । त्यसैले धेरै भन्नुभन्दा पनि समग्रमा त्यहां पुगेपछि पार्टी वा कार्यकर्ताको राजदूत हुनुभएन, प्रवासमा बस्ने समग्र नेपालीहरुको राजदूत बन्नुप¥यो । मैले सुनेको केही देशमा दूतावासमा फोनै नउठ्ने, राजदूतले आफ्ना मान्छेलाई छुट्टै नम्बर दिएर काम गर्ने, सर्वसाधारणको पहुंचबाट टाढा रहने गर्छन् रे । त्यसो गर्नुभएन । दूतावासक चान्सरी तथा राजदूत निवासको लागि भवन खरिद गर्नु अति आवश्यक छ । मेरो पालामा पनि केहि पहल भएकोमा अझै पूरा भएको छैन । दुई देशबीचको सम्बन्ध सुधार गर्ने, देशको प्रबद्र्धन, लगानी भित्र्याउने जस्ता काम त सबैले गर्नैपर्यो । जापानमा नेपालीलाई माया गर्ने धेरै जापानीहरु गाउगाउमा छन्, उनीहरुको भावना बुझेर नेपालीहरुलाई लिंकअप गराइदिन सक्नुपर्छ । मलाई लागेको चाहि २०२० मा जापानमा ओलम्पिक हुदैछ, हजारौं कामदारले रोजगारी पाउने संभावना छ । नेपाली कामदारहरु लाई रोजगारी दिलाउन दूतावासबाट पहल गर्न सक्यो भने राम्रो हुन्छ । सकेमा जापानी भाषा पनि अध्ययन गर्नु भएमा झन् राम्रो हुन्छ । गत १६ डिसेम्वर २०१६ का दिन जापानी प्रधानमन्त्री सिन्जो आवेले २८ देशका जापानी भाषा वोल्न सक्ने राजदूतहरुलाई आफ्नो सरकारी निवासस्थानमा दिवाभोजमा निमन्त्रणा गरी जापान तथा उहांहरुको देशहरु बीच सम्वन्ध वढाउन कार्यरत रहन विशेष आग्रह गर्नु भएको थियो । नयां राजदूतलाई २।३ वर्ष त जापान तथा यस्को तौरतरिकाहरु बुझ्नै लाग्दछ भन्ने व्यापक भनाईछ ।
भर्खरै सरकारले सिफारिस गरेका मध्ये दुई जनालाई त फिर्ता बोलाइयो नि ? के भन्नुहुन्छ ?
यो विषयमा सरकारले पहिलै सोच्नुपथ्र्यो, ढिलै भए पनि सही निर्णय गर्यो भन्ने लाग्छ । राजदूत भनेको स्वच्छ छवि भएको, विवादमा नआएको, कुनै केश नलागेको, अन्तर्राष्ट्रिय निकायले हेर्दा पनि देशकै इज्जत राख्ने सक्षम व्यक्ति चाहिन्छ नै । एक जना कुशल प्रशासकको कार्यक्षमताको कारणले अन्धकार नेपालवाट हट्यो नि । गरेपछि नहुने भन्ने हैन । हो, त्यस्तै व्यक्ति कूटनीतिक क्षेत्रमा पनि प्रशस्त काविल व्यतिmहरु छन् । काम गरेर अनुभवले खारिएका व्यक्तिहरुलाई सरकारले हेरोस्, जसका कारण केही परिवर्तनको महशुस गर्न पाउन् नेपाली जनताले ।
अन्तमा, ‘कूटनीतिमा तीन दशक’ कस्तो पुस्तक हो ?
यो मेरो ३१ वर्षसम्मको परराष्ट्र सेवाको एउटा अनुभव हो । परराष्ट्र सेवामा रहदा भोगेका तीतामिठा क्षणहरु उल्लेख गरेको छु । यस क्षेत्रमा काम गर्ने व्यक्तिले अध्ययन गर्नैपर्ने पुस्तक हो त्यो । राजदूत हुनु अघिका लागि त पाठ नै हुन्छ । तर, किताब निकालेपछिको तीतो अनुभव के रह्यो भने लेखक हुनुको वास्तविक पीडा मैले पनि भोगें । प्रकाशनदेखि बजार व्यवस्थापन सम्मका विविध कुराहरु निकै कठिन रहेछ । यस पुस्तकले सारांशमा दिने सन्देश भनेको देशलाई धनी बनाउन सवैले आआप्mनो क्षेत्रवाट दत्ततित्त भै काम गर्नुपर्छ, मगन्ते प्रवृत्ति छाड्नुपर्छ भन्ने नै हो । केहि महिना पछि अंग्रेजी संस्करण पनि आउंदा विदेशीहरुले पनि पढ्न पाउने छन् । नेपालको प्रचार प्रसारमा सहयोग पुग्नेछ । कुटनीतिमा आफ्नो अनुभव शेयर गर्न खोजेको छु । कसैलाई सिकाउने मेरो ध्येय होईन । यस पुस्तकको अध्ययनले कुटनीतिका वारेमा केहि न केहि कुरा जान्ने मौका मिल्नेछ भन्ने मेरो पुरा विश्वासछ।