काठमाडौं – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजदेखि इटहरीमा सुरुहुँदैछ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगितामा पाँच विकास क्षेत्र र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब गरी ६ टिमले सहभागिता जनाउनेछन । प्रतियोगिता इटहरी क्रिकेट एकेडेमीको स्थानीय व्यवस्थापनमा हुन लागेको हो ।
सहभागी टिमलाई दुई समुहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाईनेछ । एपीएफ, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल समूह ‘ए’ मा छन भने पुर्वाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल समूह ‘बी’ मा छन । प्रत्येक समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा पुग्नेछन । प्रतियोगिताको उद्घाटन खेलमा आज दुई टोलीबीच खेल हुनेछ ।
पहिलो पुर्वाञ्चल र मध्यमाञ्चलबीच हुनेछ भने दोस्रो खेलमा मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चलको सामना गर्नेछ । खेल इटहरीस्थित डिभिएम स्कुलको मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेतालाई ५० हजार पुरस्कार पाउनेछन ।