शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

डडेल्धुरा – प्राविधिक तथा व्यवसायीक तालिम परिषद(सीटीईभीटी)ले अन्तत डडेल्धुरा पारामेडिक क्याम्पस डडेल्धुराबाट ठगिएका बिद्यार्थीहरुको पक्षमा निर्णय सार्वजनिक गरेको छ ।

पैसा सहित घर बस्ने वा तोकेको शिक्षालयमा पढ्ने ?
क्याम्पसले अनुमति विपरित तथा नियम विपरित लिएको भर्नामा ठगिएका बिद्यार्थीहरुको पक्षमा निर्णय गर्दै सीटीईभीटीले बिद्यार्थीलाई दुई विकल्प दिएको छ । सीटीईभीटीले दिएका दुई विकल्पमा बिद्यार्थीले पैसा फिर्ता सहित घरमै बस्ने वा सीटीईभीटीले नै भनेको क्याम्पसमा भर्ना हुनु पर्ने रहेका छन् । त्यसभन्दा अगाडि घरमै बस्ने वा पढ्ने जुनसुकै विकल्प रोजे पनि बिद्यार्थीले पैसा फिर्ता पाउने भएका छन् । सीटीईभीटीको बिहीबार बसेको बैठकपछि शुक्रबार निर्णयबारे जानकारी दिँदै सीटीईभीटीको स्तर निर्धारण महाशाखाका निर्देशक रामसिंह धामीले क्याम्पसले बिद्यार्थीबाट लिएको सबै पैसा फिर्ता गर्नु पर्ने निर्णय भएको जानकारी दिएका छन् ।

एक टोली जिल्ला आउँदै
त्यसका लागि बिहीबारको बैठकबाट गठित चार सदस्यीय एक टोलीलाई क्याम्पसबाट बिद्यार्थीको पैसा फिर्ता गराउन उनले पत्र दिईसकेका छन् । उक्त टोली सोमबार सम्म जिल्लामा पुग्ने जनाईएको छ । सीटीईभीटीको क्षेत्रीय कार्यालय कोहलपुर बाँकेका प्रमुख तथा क्षेत्रीय निर्देशक यादव सुवेदीको नेतृत्वमा परिक्षा नियन्त्रण महाशाखा, प्राविधिक महाशाखा र स्तर निर्धारण महाशाखाका एक–एक जना गरी चार जना सम्मेलित टोली जिल्लामा आउन लागेको हो ।

पढ्नको लागि डोटी वा दाङ एक ठाउँ जानु पर्ने
एक हप्तासम्म जिल्लामा बसेर काम टुङ्ग्याउने गरी जिल्लामा आउन लागेको टोलीले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा क्याम्पसबाट ठगिएका सबै १४८ जना बिद्यार्थीको पैसा फिर्ता गराउनेछ । सोही अवधिमा बिद्यार्थी तथा उनका अभिभावकले पैसा थमाएर घर फर्किने वा सो पैसा लगेर सीटीईभीटीले तोकेको क्याम्पसमा पढ्न जाने मध्ये एउटा बिकल्प रोज्ने बिषयमा सो टोलीसँग समन्वय गरिसक्नु पर्नेछ ।

पढ्न चाहने बिद्यार्थीलाई सीटीईभीटीले दुई वटा शिक्षालय मध्ये एउटा रोज्नु पर्ने विकल्प पनि दिएको छ । बिद्यार्थीले आफु अनुकुल सेती प्राविधिक शिक्षालय डोटी र राप्ती प्राविधिक शिक्षालय दाङ मध्ये एउटा छान्न पाउनेछन् । बिद्यार्थीले क्याम्पसबाट फिर्ता पाएको रकम सहित ती दुई मध्ये एउटा शिक्षालयमा पढ्न जान सक्नेछन् । ठगिएका बिद्यार्थीहरुको भर्ना समेत अब शिक्षालयमै हुनेछ । शिक्षालयमा भर्नापछि सकभर शिक्षालयमा पढिरहेकाहरुको सँगै एउटै समयमा परिक्षा हुने र केही जटिलता आएमा भर्ना हुन जाने बिद्यार्थीहरुको परिक्षा एक–डेढ महिनापछि हुने समेत सम्भावना रहेकाले त्यसमा पनि नआत्तिन परिषदका निर्देशक धामीले सचेत गराएका छन् ।

क्याम्पस तीन बर्षका लागि निलम्बित
यता चारवटा कार्यक्रममा १४८ जना बिद्यार्थीहरुलाई ठगि गर्ने क्याम्पस भने निलम्बनमा परेको छ । नियम विपरित बिद्यार्थी भर्ना गरेर बिद्यार्थीको भविश्यमाथी खेलवाड गरेको तथा अन्यौलता शिर्जना गरेको भन्दै क्याम्पस तीन बर्षका लागि निलम्बनमा परेको हो । छानविनका क्रममा क्याम्पसले नियम विपरित अनमि तर्फ ३८ जना, सीएमए तर्फ ३८ जना, कृर्षि जेटिए तर्फ ३८ जना र ल्याब तर्फ ३४ जना बिद्यार्थी भर्ना गरेको देखिएको थियो ।

त्यसो भए अन्य बिद्यार्थीलाई केही असर पर्छ ?
यसो भनिरहँदा नियम अनुसार भर्ना भएका बिभिन्न सात वटा कार्यक्रमका बिद्यार्थीहरुमा पनि आफ्नो भविश्य के हुने भन्ने बारेमा चिन्ता उब्जेको देखिएको छ ।
तर अहिले क्याम्पसमा अध्ययन गरिरहेका बिद्यार्थीहरुले पारामेडिकल क्याम्पसबाटै परिक्षा दिन पाउने र नयाँ शैक्षिक शत्रबाट मात्रै क्याम्पसले तीन बर्ष सम्म उसले अनुमति पाएका कुनै पनि कार्यक्रममा भर्ना नपाउने गरी निलम्बन गरिएकाले बिद्यार्थीले आत्तिनु पर्ने अवस्था नरहेको सीटीईभीटीले जनाएको छ ।

सीटीईभीटीमा बिद्यार्थी नेताको जात्रा
गएको मंसिर १३ गते बिद्यार्थीले क्याम्पसमा तालबन्दी गरेपछि क्याम्पसले नियम विपरित बिद्यार्थी भर्ना लिएको र उनीहरुको भविश्य अन्यौलमा परेको बिषय सञ्चार माध्यममा सार्वजनिक भएपछि बिभिन्न पार्टीका बिद्यार्थी संगठनका उच्च तहका नेताहरुले सीटीईभीटीमा जात्रा देखाएको बिषय समेत बाहिरीएको छ । उनीहरुले बिद्यार्थीहरुको व्यवस्थापन तथा क्याम्पसलाई कारबाही गर्ने या नगर्ने भन्ने बिषयमा जात्रा देखाएका हुन् ।

बिद्यार्थी संगठनको केन्द्र तहको उपाध्यक्ष, महासचिव सम्मका पदमा रहेका नेताहरुबीच यो बिषयमा एकअर्काबिच हात हालहाल समेत भएको स्रोतबाट जानकारी प्राप्त भएको छ । बिद्यार्थीको पक्षमा सबैले एउटै आवाज ‘बिद्यार्थीहरुको व्यवस्थापन जसरी पनि गरिनु पर्छ’ भन्ने बोले पनि बदमासी गर्ने क्याम्पसलाई कसैले हदै सम्मको कारबाही र कसैले आँखामा छारो हाल्ने खालको कारबाही मात्र गर्नु पर्छ भन्न थालेपछि सीटीईभीटीको कार्यालय अगाडि नै समान्य झगडा नै भएको स्रोतले बताएको छ ।

क्याम्पस खारेजको प्रयास गर्दा जागिर धरापमा
यस्तै सीटीईभीटीले बदमासी गर्ने क्याम्पसलाई खोरेज नै गर्ने सम्मको तयारी गरिरहेका बेला राजनीतिक दलका उच्च नेताबाट जागिर नै जाने सम्मको दबाब आएपछि तीन बर्षको लागि मात्रै क्याम्पसलाई निलम्बनमा राख्ने निर्णय गरिएको स्रोतले बताएको छ । तर स्रोतले यो दावी गरेपनि सीटीईभीटीले भने घटना अध्ययन प्रतिवेदन अनुसार नै आवश्यक कारबाही गरिएको जनाएको छ । क्याम्पसमा शेयर धनी रहेका व्यक्तिहरु उच्च राजनीतक नेतृत्वका व्यक्तिसँग नजिक भएका कारण त्यो दबाब आएको हुन सक्ने जानकारले तर्क गरेका छन् ।

तपाईको प्रतिक्रिया