शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

बैतडी  – सुदूरपश्चिममा शनिबार काग तिहार मनाईंदैछ । कात्तिकमा पर्ने तिहारमा कागको पूजा गर्ने प्रचलन रहिआएको भएपनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने अलिक फरक ढंगले काग तिहार मनाईन्छ ।

स्थानीय भाषामा “नरहरी” भनिने यस चाड माघे संक्रान्तिका दिन मनाइन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे सक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठापरिकारहरु खुवाउने चलन छ ।

हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ । यो खानेकुरा शनिबार बिहानै नुहाई धुवाई गरी ‘का कौवा, का का मेरो रोटी खा’, ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने चलन छ ।

धर्मशास्त्र अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म–मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने–लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनविश्वास छ । आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन छ ।

तपाईको प्रतिक्रिया