काठमाडौँ – व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका ३१ दलले निर्वाचनमा भाग लिन चाहने नयाँ राजनीतिक दलको मात्र दर्ता गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।
आयोगले संवैधानिक प्रावधानका बारेमा राजनीतिक दलसँग छलफल गर्न आज डाकेको बैठकमा सहभागी दलले निर्वाचनमा भाग लिइसकेका दललाई ‘अद्यावधिक’ मात्र गराए पुग्ने सुझाव दिए । नेकपा (एमाले)का केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले राजनीतिक दलसम्बन्धी संविधानको व्यवस्थाका बारेमा आयोगले बैठकमा जानकारी गराएको जानकारी दिनुभयो । उहाँले आयोगसमक्ष यसअघिका निर्वाचनमा भाग लिइसकेका दललाई ‘अद्यावधिक’ र निर्वाचनमा भाग लिन चाहनेलाई मात्र दर्ताको प्रावधान राख्न सुझाव दिएको बताउनुभयो ।
नेकपा (माले)का महासचिव सिपी मैनालीले संवैधानिक प्रावधानअनुसार आयोगसँग राजनीतिक दल जोडिने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत ३१ दलका शीर्षनेताको सहभागिता रहेको थियो । बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दलले दिएका सुझावका आधारमा आयोगले काम गर्ने बताउनुभएको महासचिव मैनालीले जानकारी दिनुभयो ।
आयोगले सञ्चारमाध्यमलाई आज बैठकको श्रव्य, दृश्य तथा तस्बिर लिनबाट वञ्चित गर्दै बैठक ‘अति गोप्य’ भएको जनाएको थियो । तर आयोगले बोलाएको सो बैठकमा भाग लिएका राजनीतिक दलका नेताहरुले बैठकका विषयवस्तुबारे सञ्चारकर्मीसँग खुलेर गरे । समाचार सङ्कलन गर्न त्यहाँ पुगेका सञ्चारकर्मीलाई आयोगका कर्मचारीले ‘माथिको आदेश छ, सभाकक्षमा श्रव्य, दृश्य तथा तस्बिर लिन सञ्चारकर्मीलाई प्रवेश नगराउनू’ भनेका थिए ।