भक्तपुर – कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशंकर नायकले सरकारले तोकिएकै समयमा तीन वटै तहको निर्वाचन गर्ने तयारी गरेको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा उहाँले २०७४ माघभित्र तीन वटै तहको निर्वाचन नभए देशमा संवैधानिक सकंट आउने भएकाले निर्वाचन गर्न सरकार तयार छ भन्नुभयो । स्थानीय तहको निर्वाचन अतिआवश्यकता रहेको र यसमा कसैको अवरोध नभएको जनाउँदै मन्त्री नायकले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन गर्ने र त्यसलगत्तै अन्य दुई निर्वाचन गर्न सकिने बताउनुभयो ।
निर्वाचनका लागि राजनीतिक दलबीच सहमति र सहकार्य हुनुपर्ने उहाँको भनाइ थियो । मधेसका माग केही व्यक्तिको मात्र नभएर पूरा मधेसको भएको जिकिर गर्दै मन्त्री नायकले नयाँ सत्ताको गठबन्धन अगावै मधेसी मोर्चासँग गरिएको तीनबुँदे सहमतिको कार्यान्वयन गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
संविधान संशोधन गरी मधेसको माग सम्बोधन भएसँगै निर्वाचनको वातावरण बन्ने हुने उहाँको भनाइ थियो ।