बुटवल – नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओली नेतृत्वको सरकारले नेपाललाई भारत वेष्ठितबाट मुक्त पारेर भूपरिवेष्ठित बनाएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले भारतसंग मात्र निर्भर रहेको नेपालको पारवहन सम्झौतालाई चीनसँग जोडेर नेपाल भारतवेष्ठित राष्ट्र होइन भन्ने प्रमाणित गरेकोे बताउनुभयो ।
नेता भट्टराईले केपी ओली सरकारले गरेको चीनसँगको पारवहन सम्झौताले दक्षिणतर्फ ढल्किएको परराष्ट्र सम्बन्धलाई उत्तर र दक्षिणतर्फ सन्तुलित गर्न सफल भएको दाबी गर्नुभयो । भट्टराईले केपी ओली नेतृत्वको सरकारले गरेका लोकप्रिय कामहरूबाट तर्सिएर नेपाली कांग्रेस र माओवादी केन्द्र सरकार गिराउने खेलमा लागेको आरोप लगाउनुभयो ।
मधेस आन्दोलनको क्रममा मारिएका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरी कार्यान्वयन गर्ने काम समेत अघिल्लो सरकारले गरेको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले सस्तो लोकप्रियताको लागि त्यो निर्णय आफूले गरेको प्रचार गरिरहेको बताउनुभयो ।