काठमाडौं – पन्ध्र दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा उहाँका समर्थकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दिएको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीले लाठी प्रहार गरी प्रदर्शनकारीलाई हटाएको छ भने १० जना प्रदर्शनकारीलाई पक्रेको छ । प्रहरीले लाठी र बुटले हान्दा केही घाइतेसमेत भएका छन् । पक्राउ पर्नेमा डाक्टर सागर पोखरेल, बद्री अर्याल, विषद दाहाल, मिर्दा सिद्दिकी, बिक्रम ओली, पदम जोशी, पुकार बम लागयतका छन् ।
केसीको समर्थनमा डाक्टर, नर्स, विद्यार्थी तथा सर्वसाधरणले पागल लेखेका फेटा टाउकोमा बाँधेर शिक्षण अस्पताल महाराजगञ्जबाट जुलुशसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा धर्ना दिन पुगेका थिए ।
मेडिकल शिक्षामा हस्तक्षेप गरेको भन्दै केसीले अख्तियारका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग पनि राख्नु भएको छ । प्रर्दशनकारीले सांसदको घडीमा लोकमानको ब्याट्री, माफियाको मन्त्र लोकमानको तन्त्र, धेरै कुरा प्रष्ट छन्, अख्तियारमा नै भ्रष्ट छनलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।