काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी अग्रगामी विकासमुखी देशभक्त नायक भएको बताउनुभएको छ ।
मदन भण्डारी मेमोरियल कलेजको १५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्व जननेता भण्डारी सामाजिक न्यायको चिन्तन राख्ने देशभक्त नायक भएको बताउनुभएको हो ।
ओलीले भन्नुभयो, ‘मदन भण्डारी बहुआयामिक व्यक्तित्व, वैज्ञानिक र व्यावहारिक, फराकिलो चिन्तन भएको नेता हो, देशको विकासको चिन्ता गर्ने देशभक्त नेता हो ।’ शिक्षा नीति र प्रणालीमा रहेका कमजोरीले नयाँपिँढीको क्षमतालाई उजागर गर्नेगरी वातावरण दिन नसकेको भन्दै उहाँले त्यस्तो खालको शिक्षा नीति ल्याउनेतर्फ सरकार अघि बढिरहेको उल्लेख गर्नुभयो ।
नयाँपिँढीलाई आफ्नो विषयअनुसार क्षमता उजागर गर्ने वातावरणको सिर्जना गर्न सके धेरै राम्रा प्रतिभाहरु उजागर हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।