काठमाडौँ – स्पेन र इंग्ल्यान्डलाई पाखा लगाउँदै ईटाली र आईसल्याण्ड युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा ईटालीले स्पेनलाई २–० ले हरायो ।
खेलमा ईटालीलाई विजयी गराउन जर्जियो केलिनी र ग्रेजियानो पेलाले एक–एक गोल गरे । गएराति नै भएको अर्को खेलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै आईसल्याण्ड पनि क्वाटरफाईनलमा प्रवेश गरेको छ । खेलको चौथो मिनेटमै पाएको पेनाल्टीलाई गोलमा बदल्दै वायन रुनीले इङ्ल्यान्डलाई दिलाएपनि यसको लगत्तै आईसल्याण्डका रग्नार सिगुर्डसन र कोल्बिन सिग्थोर्सनले एक–एक गोल गर्दै आईसल्याण्डलाई खेलमा फर्काए ।
यो जितसँगै पहिलो पटक युरोकप फुटबल खेलिरहेको आईसल्याण्ड प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । यी खेलसँगै खेलसँगै युरोकप फुटबलको क्वाटरफाईनल समीकरण पुरा भएको छ । बिहीबार रातीबाट हुने क्वाटरफाईनलको पहिलो खेलमा पोर्चुगल र पोल्याण्ड भिड्नेछन् ।
यसैगरी शुक्रवार राति वेल्सले बेल्जियमसँग खेल्ने छ भने शनिवार जर्मनी र ईटाली तथा आइतबार आयोजक फ्रान्स र आईसल्याण्डबीच खेल हुनेछ ।