काठमाडौँ – युरोकप फुटबल अन्तर्गत शनिवार राती भएका खेलहरुमा पोर्चुगल, पोल्याण्ड र वेल्स विजयी हुँदै क्वारफाईनलमा प्रवेश गरेका छन् ।
क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल जारी युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश पाएको हो । फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रङ्गशालामा भएको खेलको १ सय १६औं मिनेटमा सब्सिच्युड स्ट्राइकर रिकार्डो क्वारेज्माले गोल गर्दै पोर्चुगललाई जित दिलाए । खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा गोल भएको हो ।
शनिवार नै भएको प्रि क्वाटरफाइनलको अर्को खेलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै पोल्याण्ड पहिलो पटक युरो कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । खेलको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा गएको थियो । स्वीस टिमका अरू चार खेलाडीले गोल गरेका भने पोल्याण्डका पाँचै खेलाडीले गोल गर्दै ५–४ को जित दिलाए ।
यस्तै उत्तरी आयरल्याण्डका ग्यारेथ म्याकोलीले आत्मघाती गोल गरेपछि वेल्स युरोकप २०१६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिवार नै भएको नकआउट चरणको खेलमा वेल्सले उत्तरी आयरल्याण्डलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
उत्तरी आयरल्याण्डको बलियो रक्षापंक्तिले वेल्सलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफको अन्त्यतिर उत्तरी आयरल्याण्ड सङ्कटमा पर्यो, जब भेट्रान सेन्टरब्याक म्याकोलीले आत्मघाती गोल गर्न पुगे । वेल्सका स्टार खेलाडी ग्यारेथ बेलको प्रहार रोक्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेपछि आयरल्याण्डको क्वारफाइनलमा पुग्ने सम्भावना सकियो ।