काठमाडौँ –पूर्वराष्ट्रपति डा. रामवरण यादवको घरभाडा राष्ट्रपति कार्यालयले भुक्तानी गर्ने भएको छ । भाडा लिन आउन घरधनीलाई शुक्रवार खबर गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले बताउनुभयो ।
राष्ट्रपति कार्यालयले घरधनी रविभक्त विष्टलाई कर कट्टा गरी कात्तिकदेखि असारसम्मको घरभाडा १२ लाख ३९ हजार चार सय रुपैयाँ भुक्तानी दिन लागेको हो । ‘चेक तयार भइसकेको छ, घरधनीलाई भाडा लिन बोलाएका छौँ,’ सहायक प्रवक्ता आचार्यले भन्नुभयो, ‘सायद आइतबार आउनुहुन्छ होला ।’पूर्वराष्ट्रपति डा. यादव ललितपुर बागडोलका रविभक्त विष्टको घरमा भाडामा बस्दै आउनुभएको छ ।
मन्त्रिपरिषद्को २६ चैतको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पूर्वराष्ट्रपति यादवले प्रयोग गर्दै आएको निवासको भाडा, विद्युत् तथा खानेपानी महसुल भुक्तानी राष्ट्रपति कार्यलयले मिलाउने निर्णय गरेको थियो । रकम अर्थ मन्त्रालयले राष्ट्रपति कार्यालयलाई निकासा दिने निर्णय मन्त्रिपरिषद्को थियो । भाडा नपाएकाले डा. यादवलाई घरबाट हटाइदिन आदेशको माग गर्दै विष्टले ललितपुर जिल्ला अदालतमा मुद्दा समेत हाल्नुभएको थियो ।
घरभाडा भुक्तानीमा विवाद भएको समाचार सार्वजनिक भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई टेलिफोन समेत गर्नुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । भण्डारीले डा. यादवसँग घरभाडा विवादलगायतका विषयमा जानकारी लिएको राष्ट्रपति कार्यालय स्रोतले बतायो ।
राष्ट्रपति भण्डारीले शुक्रवार दिउँसो कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलसहितको टोली पूर्वराष्ट्रपति डा. यादवको निवासमा पठाउनुभएको थियो । स्थलगत निरीक्षणपछि उनीहरूले अवस्थाबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।