काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले योग नेपाली भूभागकै उत्पत्ति भएको बताउनुभएको छ ।
नेपाल सरकारले आज बिहान दरबारमार्गमा आयोजना गरेको अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली पुर्खा र विद्वान्ले योग सुरु गरेको उल्लेख गर्दै यो कुनै देशको सम्पत्ति नभई सबै मानवका लागि भएको बताउनुभयो । शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी नेपालमा ‘सामन्जस्य एवम् शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ पहिलो पटक भव्यतापूर्वक अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । संयुक्त राष्ट्र सङ्घले ११ डिसेम्बर २०१४ मा हरेक २१ जुनलाई दिवस मनाउने प्रस्ताव पारित गरेको थियो ।
उहाँले स्वस्थ शरीर र स्वस्थ विचारका लागि योगको अपरिहार्यता रहेको जनाउँदै संयुक्त राष्ट्र सङ्घबाट योग दिवसलाई मान्यता दिलाउन पहल गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । शिक्षामन्त्री तथा समितिका संयोजक गिरिराजमणि पोखरेलले योग नेपालको विशिष्टतम् चेतना भएको जनाउँदै यसलाई विद्यालयस्तरमा फैलाउनुपर्ने बताउनुभयो । स्वास्थ्यमन्त्री रामजनम चौधरीले केवल दिवसमा मात्र नभई नियमित योग गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि भारतीय दूतावास रणजित रायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवसका अवसरमा दिनुभएको सन्देश वाचन गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘योग म्याराथन’ मा विश्व कीर्तिमान कायम गर्ने उत्तम मोक्तानलाई रु ५१ हजार राशिसहित पुरस्कृत गर्नुभयो । मोक्तानले २०७२ पुस २ देखि ४ गतेसम्म लगातार ५० घण्टा १५ मिनेट योग गरी ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा आफ्नो कीर्तिमान कायम गर्नुभएको थियो ।
उहाँले भारतका योगराज सिपीले कायम गरेको ४० घण्टा १५ मिनटको रेकर्ड तोड्नु भएको थियो । यसैबिच ओलीले योगसम्बन्धी विभिन्न तिन पुस्तकको लोकार्पण पनि गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओली, उहाँका धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद र उच्चपदस्थ व्यक्तिहरू र योग साधकबाट एक घण्टा योग अभ्यास गरिएको थियो ।
दिवसका अवसरमा आज देशव्यापीरुपमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।