प्रदीप ज्ञवाली
सचिव, नेकपा एमाले
एमाले सचिव प्रदीप ज्ञवाली प्रधानमन्त्री केपी शर्मा ओलीका अति निकट नेता हुनुहुन्छ । नयाँ संविधान निर्माण भएलगत्तै ओलीको विशेष दूत बनेर भारतमा उच्चस्तरीय भेटघाट गर्न जानुभएका ज्ञवाली त्यसयता गठबन्धन निर्माणदेखि सत्तासमीकरण मिलाउनेसम्ममा केन्द्रित हुनुहुन्छ । प्रस्तुत छ ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश–
ओलीको प्रधानमन्त्रीत्व स्वभाविक हो, या जबरजस्त ?
एकदमै स्वभाविक हो । पछिल्लो विषयलाई हेर्ने हो भने संसदमा दोस्रो ठूलो शक्तिशाली पार्टीको नेता भएका नाताले स्वभाविक दाबी रहन गयो । अर्कोतिर संविधान निर्माणमा दृढ अडान, नेपालमा हिंसाको अन्त्य र दिगो शान्तिको स्थापनाको निम्ति अविचलित अडानमा रहिरहनु भयो । उहाँको अथक प्रयत्नबाट आज नेपालले एउटा नयाँ गोरेटो लिन सकेको छ । उहाँ बिहान एउटा कुरा, दिउँसो अर्को कुरा र राति अर्को कुरा गर्ने नेता होइन, आफ्ना अडानहरुमा दृढतापूर्वक उभिने, के भन्दा लोकप्रिय होईन्छ, ताली खाइन्छ भनेर होइन देश र जनताको लागि के भन्दा उपयुक्त हुन्छ भनेर जाने दृढ निश्चयी नेताको रुपमा पनि उहाँ चिनिनु हुन्छ । सारमा भन्दा केपी ओली दृढ, भिजिनरी र संकल्प सहितको नेताको रुपमा हामीले उहाँलाई चिन्न सक्छौं ।
तर ओली चुनौतिपूर्ण घडीमा प्रधानमन्त्री हुनुहुन्छ । चुनौति सामना गर्न कसरी सक्षम हुनुहोला ?
निश्चयनै चुनौतिहरु गम्भीर छन् । पहिलो कुरा हामीले भर्खरै ऐतिहासिक सफलता हासिल गरेका छौ संविधान जारी गर्ने कुरामा । तर संविधान प्रति अहिले पनि तराई मधेसका केही ठाँउहरुमा केही समुुदायहरुका असन्तुष्टिहरु छन् । यद्यपी आइतबार यही संविधानभित्रको प्रधानमन्त्री निर्वाचन प्रक्रियामा आउनु भएपछि अब संविधान सबैको साझा दस्तावेज भयो भन्ने कुरामा द्विविधा रहेन । फेरि पनि केही असन्तुष्टिहरु, केही गुनासाहरु छन् । त्यसलाई चिरेर संविधानलाई सर्वस्वीकार्य दस्तावेज बनाउने वा संविधानको प्रभावकारी कार्यान्वयन गर्ने चुनौति पहिलो हो । दोस्रो गएको बैशाखको विनासकारी भूकम्पले दिएका घाउहरु, पीडाहरु बाँकी छन । सर्वाधिक ठूलो चुनौति भुकम्प पछिको पुनर्निर्माण हो । संविधान जारी भएसँगै मित्रराष्ट्र भारतसँग कतिपय मामिलामा असमझदारी देखिएको छ, सीमामा अघोषित नाकाबन्दीको स्थिति छ, पेट्रोलियम सहितका अत्यावश्यक बस्तुको सहज आपूर्तिमा ब्यवधान खडा गरिएको छ । यी सबै कुराहरुलाई चिर्दै दुई देशवीचको सम्बन्धलाई नयाँ उचाईमा उठाउने र सम्बन्धलाई सहज बनाउने कुरा चुनौति छ । सँगै विकास, समृद्धि र राष्ट्रिय एकताको चुनौति पनि छ । एकप्रकारले भन्ने हो भने ओलीसँग चुनौतिका पहाड नै छन् । तर, त्यसलाई उहाँले विस्तारै सम्याउनुहुनेछ ।
मधेस आन्दोलनको कसरी सुरक्षित अवतरण गराउनु हुन्छ त ?
केपी ओलीले संसदलाई सम्बोधन गर्ने क्रममा, मेरो बारेमा रहेका भ्रमहरुलाई, मेरा बारेमा रहेका आग्रहरुलाई ब्यवहारबाटै चिर्छु भन्नुभएको छ । त्यो नभन्दै उहाँको पक्षमा मधेसी मोर्चाको साना ठूला दलको समर्थन पनि प्राप्त भएको अवस्था छ । फोरम लोकतान्त्रिक पार्टी, मधेस समता पार्टी सहितको समर्थन उहाँले पाउनु भएको छ । अन्य दलहरु पनि केही दिनमै सहमतिमा आउने कुरामा कुनै द्विविधा छैन । समय लाग्छ । तर, मधेसी दलहरु वार्ताबाटै मूलधारको राजनीतिमा फर्कनुहुन्छ ।
केपी ओली मधेस विरोधी नेता, मधेसको एजेण्डा मन नपराउने नेता भएकोले उहाँले संविधान संशोधनमा पहल गर्नु हुन्न भन्ने आशंका पनि छ नि ?
त्यो एकदमै गलत र पूर्वाग्रही टिप्पणी हो । संसदमा बोल्दै उहाँ आफैले पनि त्यो कुराको खण्डन गरिसक्नु भएको छ । जो मान्छेको सिंगो जिन्दगी चाँही जनताको समान अधिकार, हक प्राप्तिको निम्ति, लोकतन्त्र प्राप्तिको निम्ति वितेको छ । त्यो ब्यक्तिको विषयमा यो खालको बुझाई झनै गलत हुन्छ ।
त्यसो भए अब संविधान संशोधन हुन्छ ?
हुन्छ, अवश्य हुन्छ । आवश्यकता अनुसार संविधान संशोधन हुन्छ । जनताका जायज कुराहरुको सुनुुवाई हुन्छ । त्यस आधारमा हामी अगाडि बढ्छौ ।
मधेसी मोर्चाले उठाएजस्तो झापादेखि कञ्चनपुरसम्मको सीमांकनको कुरा मिल्छ ?
वार्ता भनेपछि सबैका सबै कुराहरु त्यही रुपमा पुरा हुन्छन भन्ने हुँदैन । उचित, जायज र सम्भव हुने मागहरुको पूर्ति संविधान संशोधनमार्फत गरिन्छ । यो संविधानलाई सबैको स्वीकार्य दस्तावेजको रुपमा स्थापित गर्न प्रयत्न गरिन्छ ।
त्यसो भए सीमामा देखिएको भारतीय अवरोध तत्काल हट्छ ?
म आशावादी छु, त्यो हट्छ र त्यो हट्नु पर्छ किनकी यस्ता खालका गतिविधिहरु दुबै देशको हितमा छैनन् । यसले दुबै देशहरुलाई हित गर्दैन ।
भारतले भ्रमणको निम्तो दिइसक्यो अब प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण छिट्टै हुन्न ?
अहिले भारतको यात्राको विषयमा हामीले केही पनि सोचेका छैनोँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निम्ता दिनु उहाँको सौहार्दता हो । त्यसको लागि हामी धन्यवाद दिन्छौं । अहिले कुनै विदेश भ्रमणभन्दा पनि देश भित्रको समस्या समाधान चाँही हाम्रो प्राथमिकतामा छ ।