आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – नेपाल भूकम्प पीडित राहत तथा सहयोग समिति जापानले संकलन गरेको राहत सामाग्री आज पहिलो लट नेपाल पठाईएको छ । वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडित तथा प्रभावितहरुका लागि पठाउने गरी जापानमा संकलन गरिएको लत्ताकपडा, ड्राईफुड, पाल, ब्लाङकेट लगायतका राहत सामाग्री आज नेपाल पठाईएको हो ।

लामो प्रयासपछि भूकम्प पीडितहरुको सहयोगार्थ संकलन गरिएको राहत सामाग्री आज पहिलो लट जापान एअरलाईन्स (जाल) लाई नेपाल पुर्‍याउने गरी हस्तान्तरण गरिएको समितिका सदस्य तथा स्वयमसेवक परिचालन उपसमितिका संयोजक शरदकुमार गौचनले समुद्रपारिलाई बताउनुभयो ।

६६ वटा बक्समा प्याकिङ गरिएको करिव १ टन राहत सामाग्री जापान एअर लाईन्सलाई हस्तान्तरण गरिएको हो । नेपाल पठाउन लागिएको राहत सामाग्री शरदकुमार गौचन, राजन प्रधानाङ्ग, सुदन थापा, दिपक थापा लगायतका सहयोग समितिका जिम्मेवार ब्यक्तिहरुले उक्त एअरलाईन्सलाई हस्तान्तरण गर्नुभएको हो । समितिका अनुसार उक्त राहत सामाग्रीहरु गोरखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट लगायतका भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा वितरण गरिने कार्यक्रम छ ।

राहत सामाग्रीको भण्डारण, सुरक्षा तथा प्याकिङ कार्यमा इ-फुड्स कम्पनीका स्टोर म्यानेजर किरण ओझाले सहयोग गर्दै आउनुभएको समितिले जनाएको छ । समितिका अनुसार राहत सामाग्रीको भण्डारण तथा सुरक्षामा इ-फुड्स कम्पनीले आफ़्नो स्टोर उपलब्ध गराएर सहयोग गर्दै आईरहेको छ ।

समितिले अर्को दुई टन राहत सामाग्री छिट्टै पठाउने तैयारी भईरहेको पनि जनाएको छ ।  टोकियोबाट बैंककसम्म जापान एअरलाइन्स र बैंककबाट काठमाडौंसम्म भने जालुक्स कम्पनीको सहयोगमा राहत सामाग्री नेपाल पठाइन लागेको हो । राहत सामाग्री नेपाल पठाउने सन्दर्भमा जाल र जालुक्ससंग सचिवालय समितिका सदस्यद्वय बलराम श्रेष्ठ र राजन प्रधानाङ्गले संयोजन गर्दै आउनुभएको छ ।****
japan materials3 japan materials2 japan materials1 japan materials

तपाईको प्रतिक्रिया