आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – साइतामा जापानी ल्याङ्वेज स्कुल ओमियामा अध्ययनरत २७ जना नेपाली विद्यार्थीहरुको समुह ‘साइतामा स्टुडेण्ट ग्रुप’ ले भूकम्प पीडित तथा प्रभावितहरुका लागि संकलित राहत रकम नेपाल पत्रकार महासंघ जापानलाई हस्तान्तरण गरेको छ । महासंघको जापान शाखाको राहत संकलन अभियानमा ऐक्यबद्धता जनाउँदै सो समुहले आज एक कार्यक्रमकाबीच ५ लाख ५ सय येन हस्तान्तरण गरेको हो ।

ओमियास्थित लुम्बिनी रेष्टुरेन्टमा आयोजित एक भेटघाट कार्यक्रमका बीच सो समुहका तर्फबाट सानुराजा महर्जनले महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । विद्यार्थीहरुले नेपालमा आइलागेको विपत्तिमा सघाउन आफ़्नो ठाउँबाट गरिएको सानो पहलबाट संकलन भएको राहत रकम महासंघमार्फत पठाउन पाएकोमा वास्तविक पीडितसम्म पुग्नेमा बिश्वस्त रहेको बताएका थिए ।

सो अवसरमा महासंघ जापान शाखाका अध्यक्ष मल्लले नेपाल सरकारसंगको समन्वयमा भूकम्प पीडित तथा प्रभावितहरुको उद्वार तथा राहत कार्यमा जुटिरहेको नेपाल पत्रकार महासंघ केन्द्रको अभियानमा ऐक्यबद्धता जनाउँदै बैदेशिक शाखाहरुले राहत रकम संकलन गरी पठाउने गरेको जानकारी गराउँदै सोहीअनुसार जापान शाखाले पनि संकलित राहत रकम जुटाई केन्द्रमा पठाउन लागेको बताउनुभयो । उहाँले उक्त अभियानमा सहकार्यका लागि सदाशयता देखाएकोमा विद्यार्थी समुहलाई धन्यवाद ज्ञापन गर्दै विनाशकारी महाभूकम्पपछि मुलुकमा आइपरेको बिपत्तिमा सघाउन जापानको नेपाली समुदायले हरसंभवका प्रयासहरु जारी राखेको पनि जानकारी गराउनुभएको थियो ।

यसैगरी नेपाल जापान डट कमका सम्पादक आनन्द कोइरालाले जन्मभूमिमा आइपरेको महाबिपत्तिमा सघाउन सबै नेपालीहरु आ-आफ़्नो ठाउँबाट लागिपरेको र सोहीअनुसार साइतामाका नेपाली विद्यार्थीहरुले देखाएको सक्रियता पनि सह्रानीय रहेको बताउनुभयो ।

महाभूकम्पमा परी ज्यान गुमाउने हजारौं ज्ञात अज्ञात दिवंगत आत्माहरुको चिरशान्तिको र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै १ मिनेट मौनधारणसहित दीप प्रज्वलनबाट कार्यक्रम सुरु भएको थियो । ***
3 2 1

तपाईको प्रतिक्रिया