बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024
BIJAYA-300x199भद्रपुर- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले संविधान सभाको निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार कुन व्यक्ति र कुन पार्टीले गर्ने विवादका कारण मुलुक जटिल मोडमा फसेको बताएका छन्। उनले सहमतिबाट निकास दिनुपर्नेमा दुर्भाग्यबस मुलुक राजनीतिक द्वन्द्व र मुठभेडतर्फ उन्मुख भइरहेकोमा चिन्ता व्यक्त गरे।
झापाको भद्रपुरमा आज पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले प्रतिपक्ष सडक आन्दोलनमा उत्रेको र सत्ता गठबन्धनले पनि जनजागरणको माध्यमबाट जनताको माझमा जनसभाहरु गरी को कति जिम्मेवार छ भन्ने सम्बन्धमा सुसूचित गराउन लागिएको प्रसङ्ग उल्लेख गर्दै तर, सुरुकै दिनमा दैलेखमा एकीकृत (माओवादी) र प्रतिपक्षबीच जुन द्वन्द्व उत्पन्न भयो त्यो राम्रो सङ्केत नभएको बताए।
संविधान सभाको निर्वाचनै निकासको उत्तम विकल्प रहेको भन्दै उपप्रधानमन्त्री गच्छदारले फागुनको पहिलो सातासम्म राजनीतिक सहमति हुन नसकेमा जेठमा निर्वाचन सम्भव नहुने उल्लेख गरे।
मुख्य तीनवटै राजनीतिक पार्टीले सरकारको नेतृत्व गरिसकेको अवस्थामा अब मधेसी मोर्चालाई सरकारको नेतृत्व दिनुपर्ने सम्बन्धमा राष्ट्रपतिसमक्ष चार दलका शीर्ष नेताहरुको भेटघाटमा आफूले उक्त धारणा राखेको जानकारी उनले गराए।
एमाओवादीको राष्ट्रिय अधिवेशनपछि मुलुकमा राष्ट्रिय सहमतिको सरकार गठन हुने उल्लेख गर्दै उनले दल वा स्वतन्त्र व्यक्तिको नेतृत्वमा पनि सरकार गठन हुनसक्ने सम्भावना औंल्याए।
उनी आज विर्तामोडमा तमू ह्यूल छोज धी गुरुङ राष्ट्रिय परिषद्को उद्घाटन गर्न आएका हुन्।
तपाईको प्रतिक्रिया