मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024
thiefमोरङ– दुर्घटना गराएर प्रहरी कार्यालय परिसरमा राखिएका सवारीसाधनबाट इन्धन,सजावटका सामाग्री र पाटपुर्जाहरु प्रहरीले नै चोरी गर्ने गरेको खुल्न आएको छ ।
घुसघोरी र दलालीमा प्रहरीको नाम जोडिनु नौलो नभएपनि हाकाहाकी चोरीमा पनि प्रहरीकै संलग्नता देखिनुले मुलुकको सुरक्षायन्त्र कतिसम्म गिर्दैछ भन्ने बुझ्न कठिन छैन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायब निरीक्षक (सई)ले आफैले सुरक्षा दिएको बसबाट डिजेल चोरी गरेको खुलासा भएको हो ।
डिजेलका साथै सई चोलेन्द्र अधिकारीले बस भित्रको भित्ते घडी पनि चोरी गरेको खुल्न आएको छ । बुधबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख १२३४ नम्बरको न्यू साई ट्राभल्सले मोरङको दुलारीस्थित बासबारीमा मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुलारीकै दुई जना घाइते बनेका छन् । घाइतेलाई उपचारार्थ बिराटनगरस्थित न्यूरो अस्पताल लगिएको र उपचार खर्चका लागि बिहिवार पीडित पक्ष र बस धनीबीच इप्रका बेलबारीमा छलफल भएको थियो । छलफल सकिए लगत्तै आफ्नो गाडीको स्थिति नियाल्ने क्रममा बस धनी पथरी—१ का जहानसिंह राई चकित बने ,जब ‘फुल ट्याङकी’ डिजेल रातारात गायब भइसकेको उनले थाहा पाए । राईका अनुसार १ सय ४० लिटर तेल हालेको बस झण्डै ५० किलोमिटर गुड्दैमा ‘ट्याङकी’ रित्तियो । हुनपनि दमकबाट दुलारीसम्म पुगेको बस त्यहाँबाट बेलबारी आइपुग्दा कसरी ‘ट्याङकी रित्तियो ? उनले चित्त बुझाउने कुरै भएन् । अझ प्रहरीकै छत्रछाँयामा रहेको बसबाट डिजेल गायब हुनु सामान्य घटना पनि होइन । डिजेल चोरी भएकै पुष्टि भयो । यसबारे सोधखोज गर्दा इप्रका बेलबारी निमित्त प्रमुख समेत रहेका सई अधिकारीले उल्टै गाडी धनीलाई थर्काउन पछि परेनन् । छलफलमा सहभागी नबिन पौडेलले भन्नुभयो—‘ जब बस भित्रको भित्ते घडी पनि इप्रकाको कार्यकक्षमा सजाइएको फेला प¥यो त्यसपछि सईले डिलेज चोरेको कुरालाई अस्वीकार गर्नै सकेनन् ।’ अन्ततः अधिकारीले घुमाउरो पाराले आफ्नो कर्तुत स्वीकार गरे । गस्ती भेनमा तेल सकिएको र राती पेट्रोल पम्प पनि बन्ध भएकोले आफ्ना केटा (प्रहरी जवान) हरुले खाँचै परेर बसबाट डिजेल निकालेको भन्दै उनले खुलेआम चोरी गरेको घटनालाई सामान्यीकरण गरेका थिए ।
तर, ‘गस्ति भेनका लागि तेल निकालिएको’ सई अधिकारीको भनाईप्रति इप्रका बेलबारीका तल्ला तहका प्रहरीहरु भने असन्तुष्ट रहेको बुझिएको छ ।
एक प्रहरी जवानले भने — ‘ आफ्नो कर्तुत ढाकछोप गर्न सई साबले दोष जति अरुको घानमा पनि हाले, तेल जति सबै उनैले गायब पारेका हुन् ।’ यसैबीच तेल चोरिएको घटना सार्वजनिक भएपछि बिहिवार इप्रका बेलबारी परिसरमा भेला भएका स्थानियवासी र राजनीतिक दलको रोहबरमा चोरीएको परिमाण बराबरको डिजल फिर्ता गर्ने सईले बचनबद्धता गरेको बसधनी राईले बताउनुभयो ।
तपाईको प्रतिक्रिया