शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
नयाँदिल्ली – प्रमुख विपक्षी दल कांग्रेस र एमालेका झन्डै आधा दर्जन नेता छिमेकी भारत आइपुगेका छन् । उनीहरूमध्ये अधिकांशले नियमित स्वास्थ्योपचार वा आफ्नो व्यक्तिगत कामका क्रममा भारतीय राजधानी नयाँ दिल्ली आएको दाबी गरेका छन् । केहीले भने भारतीय अनुसन्धान संस्थाहरूले आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा भाग लिन नयाँ दिल्ली आएको उल्लेख गरे । यस्ता कारण बताए पनि उनीहरूले भारतीय राजनीतिक वृत्तमा आफूले चिनेका प्रभावशाली व्यक्तिहरूलाई भेटेर राजनीतिक अवस्थाबारे कुराकानी गर्न समेत भ्याएका छन् ।
एमालेका वरिष्ठ नेता केपी ओली एक महिना नकट्दै दोस्रो पटक नयाँ दिल्ली आएका हुन् । गत आइतबार यहाँ आएका ओलीले स्वास्थ्य समस्याका कारण दिल्ली र्फकनुपरेको कान्तिपुरलाई बताएका थिए । यसअघि उनी साउनको दोस्रो साता १० दिनभन्दा बढी भारतमा बसेर स्वदेश फर्किएका थिए ।
बिहीबार फर्किन लागेका ओलीले भारतीय नेताहरूसँग भेटे । सत्तारूढ कंग्रेस आईका महामन्त्रीहरू दिग्विजय सिंह र जनार्दन द्विवेदी तथा विदेश विभाग प्रमुख करण सिंहसँग उनले भेटवार्ता गरे । उनले ती भेटमा ‘नेपालको पछिल्लो अवस्थाबारे राम्रो छलफल भएको’ प्रतिक्रियाबाहेक अरू भन्न चाहेनन् । बुधबारै उनले भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी र भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका पोलिटब्युरो सदस्य सीताराम येचुरीसँग पनि भेटे ।
कंग्रेसका नेता प्रदीप गिरी पनि सातायता भारतमै छन् । प्रायः धेरै आउजाउ गर्ने गिरीका यहाँ धेरै भारतीय साथी छन् । कंग्रेसका अर्का नेता विमलेन्द्र निधि पनि सातादेखि यतै छन् । कंग्रेसनिकट प्रवासी संगठनको कार्यक्रममा मुम्बई र पुणेमा भाग लिई उनी दिल्ली आएका हुन् । दिल्लीमा पढिरहेको छोरा भेट्न निधि दिल्ली छिरेका हुन् । यो अवसरलाई उनले भारतीय नेताहरूसँग भलाकुसारी गर्ने मौकाका रूपमा पनि उपयोग गरे ।
कंग्रेस नेता रामशरण महत पनि मंगलबार नयाँ दिल्ली आएका छन् । उनले भारतीय थिंक ट्यांकहरूले गर्ने कार्यक्रममा सहभागी हुन यहाँ आएको बताए । विवेकानन्द फाउन्डेसनले  बुधबार गरेको नेपालसम्बन्धी ‘क्लोज्ड डोर’ छलफलमा उनी वक्ता थिए । नेपालसम्बन्धमा केही दिनयता उसले चलाएका शृंखलाबद्ध छलफलमा आन्तरिक भएको भन्दै सञ्चार माध्यमलाई रोक लगाइएको छ । मंगलवार संविधानविद् भीमार्जुन आचार्यलाई बोलाएको थियो । एमाले नेता प्रदीप ज्ञवाली पनि फाउन्डेसनको कार्यक्रममा सहभागी हुन बिहीबार दिल्ली आउँदै छन् । अलग-अलग डाकिएका यी नेपाली विज्ञ तथा नेताहरूलाई काठमाडौंबाट को-को दिल्ली आउँदै छन् भन्ने जानकारी समेत दिइएको थिएन । कंग्रेस नेतृ सुजाता कोइराला पनि मंगलबारै यहाँ आएकी छन् । कान्तिपुरसँग टेलिफोनमा उनले व्यक्तिगत कामका लागि आएको बताइन् । ‘धेरै समय भएको थियो यता नआएको, त्यसैले आएकी हुँ । यो मौकामा आफ्नो स्वास्थ्यजाँच पनि गराइहाल्छु,’ उनले भनिन् ।
तपाईको प्रतिक्रिया