शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
दीपक दाहाल
काठमाडौं- घरमा खान छाडेर वा अनेक बहाना बनाउँदै रेष्टुरेन्ट धाउनेहरू क्यान्सरका शिकार बन्दै गएका छन्। लामो समयदेखि क्यान्सर उपचारमा संलग्न चिकित्सकहरूको अनुभवमा पछिल्लो दिनमा पेटका क्यान्सरका बिरामीको कारण खोजी गर्दा यस्तो देखिएको हो।
पेटको क्यान्सरका बढ्दो बिरामीमध्ये सबैजसो रेष्टुरेन्ट संस्कृतिमा बढी अभ्यस्तहरू पाइएका छन्। ‘नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सरका बिरामी भेटिन्थे’, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ डा. सुदीप श्रेष्ठले भने- पछिल्ला दिनमा पेटका क्यान्सर रोगी बढ्दैछन्, जसको कारण खोज्दै जाँदा स्वादको पछि दौडिने रेष्टुरेन्ट संस्कृति भेटिएको छ।
 
विश्व स्वास्थ्य संगठनका अनुसार १३ प्रतिशत नेपालीलाई क्यान्सरको समस्या छ। केही वर्षअघि भरतपुर क्यान्सर अस्पतालले गरेको एक अध्ययनले तीमध्ये झण्डै ६ प्रतिशतलाई पेटको क्यान्सरको समस्या थियो। अहिले कम्तिमा पनि १० प्रतिशतमा पेटको क्यान्सर भएको चिकित्सक बताउँछन्। ‘मकहाँ नै आउने बिरामीमा पनि धेरै पेट क्यान्सरका हुन थाले’- डा. श्रेष्ठले भने। नेपालमा हालसम्म पुरूषमा फोक्सो र महिलामा स्तनको क्यान्सर बढी थियो।
डा. श्रेष्ठको अनुभवमा शहरीलगायत् ग्रामीण क्षेत्रमा समेत स्वादका लागि रेष्टुरेन्ट जाने प्रवृति बढ्दै गएको छ। ‘केही वर्षअघिसम्म पनि होटलमा खाने भन्ने कमै सुनिन्थ्यो, अहिले जेका लागि पनि होटल एवं रेष्टुरेन्ट धाउने चलन छ’, नेशनल क्यान्सर अस्पतालका विशेषज्ञ डा. मदनकुमार पियाले भने- स्वादको पछि लाग्दा अत्याधिक नून, मसला र मदिरा एवं मांसुजन्य पदार्थको सेवन पनि बढ्दैछ।
जंक फुडमा प्रयोग गरिने प्रिजरभेटिभ, स्वादका लागि प्रयोग गरिने केमिकल पाउडर, मसला, तेल, गाडेका अचार, सुकाइएका/कुहाइएका मासुका परिकार क्यान्सरको कारण बन्दैछ। डा. पियाका अनुसार यस्ता खाद्यान्नले शरीरमा साना साना कोषिका असामान्य वृद्धि गराउँछ, जुन क्यान्सर कारण बन्छ।
डा. पियाले स्वादकै पछि लाग्दा धूमपान र सूर्तीजन्य पदार्थको प्रयोग पनि बढ्दै गएको र त्यसले गर्दा मुख र घाँटीको क्यान्सरका बिरामी पनि बढ्दै गएको बताए। ‘पानपराग, गुट्खा र खैनी-सूर्तीको प्रयोगले मुखको क्यान्सर पनि बढ्दैछ’- पिया भन्छन्।
शहरी क्षेत्रमा पानीका कारण पेटमा दोहोरिइरहने इन्फेक्सनले पनि पेटको क्यान्सर बढाउँदै लगेको भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ डा. सुदीप श्रेष्ठले बताए। चिकित्सकहरूका अनुसार शरीरलाई चाहिनेभन्दा बढी पोषक तत्व भएपछि पेटमा समस्या बढ्दै जान्छ र यसले क्यान्सरको रूप लिन्छ।
अस्वस्थकर खानेहरूको खाने बानी पनि अनियमित हुने भएकाले त्यसले ग्याष्टिक निम्त्याउँछ। यसले अल्सर हुदै क्यान्सरको रूप लिने गरेको चिकित्सकहरूको भनाई छ। नेपालमा फोक्सोपछि पेट, आमासय, मुख, पाठेघरको मुख, प्रोस्टेट, स्तनको क्यान्सर बढी हुन्छ। त्यसमा पनि महिलामा स्तन र पाठेघरको क्यान्सर बढी छ भने पुरूषमा फोक्सो, पोष्ट्रेट र पेटको क्यान्सर सबैभन्दा बढी छ।
अनुसन्धानअनुसार नेपालमा वर्षेनि ५० हजार क्यान्सरका नयाँ बिरामी थपिन्छन्। तर रोग लागेका धेरै बिरामी उपचारका लागि आउने नसकेकोे चिकित्सकको भनाई छ। उनीहरुका अनुसार यस्ता बिरामीमध्ये करिब ४ हजार ५ सयमात्र अस्पताल आइपुग्छन्। नेपालका भरतपुर, त्रिवि शिक्षण अस्पताल, कान्ति, वीर, पाटन, प्रसूति र भक्तपुर अस्पतालमा क्यान्सर उपचार हुन्छ। चिकित्सकका अनुसार ३३ प्रतिशत क्यान्सरबाट बच्न सकिन्छ, ३३ प्रतिशत क्यान्सरलाई निको पार्न सकिन्छ भने ३३ प्रतिशत क्यान्सरलाई जीवन लम्ब्याउन मात्र सकिन्छ। चिकित्सकका अनुसार दिशामा रगत देखिनु, दिशा गर्ने बानीमा परिवर्तन आउनु, भोक नलाग्नु, अपच हुनु आदि पेट क्यान्सरका लक्षण हुन।
क्यान्सरको कारण
विभिन्न अनुसन्धानले ९० प्रतिशत क्यान्सरको प्रमुख कारण धूमपान, सूर्ती, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव देखाएका छन्। १० प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक वा वंशाणुगत कारणले हुन्छ। यसका साथै विकिरण, व्यावसायिक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, शारीरिक दुर्वलतालाई पनि क्यान्सरको कारणका रूपमा लिइएको छ।
रोकथामका उपाय
– जीवनशैली परिवर्तन, खानपान र शारिरीक व्यायाम
– मद्यपान नगर्ने
– स्वच्छ वातावरण
– जंकफुड नखाने
– पोलेको मासु, सुकुटी, सेकुवा नखाने
– चिल्लो तथा बोसो कम खाने
– ताजा सागसब्जी र फलफूल खाने
– बासी वा ढुसी लागेको खाना नखाने
– धेरै नून नखाने
– धूमपान त्याग्ने
तपाईको प्रतिक्रिया