मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं– कुन पक्षको नेता अगाडि बोल्ने भन्ने सानो विवादले एकाएक रणमैदान भएको माओवादी विस्तारित बैठक एक रातपछि नै क्रान्तिकारी भएर जाग्यो ।
अब माओवादी भिडेरै सकिने भयो भनेर लख काट्ने नेता कार्यकर्तामात्र होइन स्वयं देशभित्र र बाहिरबाट आएका पाँच सय प्रतिनिधि त्यतिबेला दंग भए जबकी अध्यक्ष प्रचण्डको घोषणा आयो । ‘बाहिर फेस गर्न पनि गाह्रो पर्ला कि भन्ने अवस्थामा हामीमा एकाएक तरंग ल्याइयो,’ मोरङका राज्य समिति सदस्य लक्ष्मी पौडेलले भने, ‘प्रचण्डको घोषणा आउन्जेल तालीमात्रै बजाएर बस्यौं हामी ।’
२ साउनमा भृकुटीमण्डपमा भएको उदघाटन सत्रमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्रीसमेत रहेका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गुटबन्दी अन्त्य गर्ने घोषणा गरे । भर्खरै पार्टी फुटेको पीडा बोकेका कार्यकर्तामा गुटबन्दी अन्त्य गर्ने घोषणाले जागरण ल्यायो तर दुई दिन पनि टिकेन ।
सँधै राजधानीका अधिकांशको महोत्सव र उत्सवस्थल भृकुटीमण्डपमा भएको विस्तारित बैठकमा दोस्रो दिन पूर्व लडाकुहरुले अवरोध गरे । लडाकु बस्दै आएको शिविरमा भएको अनियमितता छानबिन गर्न माग गर्दै प्रदर्शनमात्र गरेनन्, चन्दा उठाएरै शीर्ष नेतृत्वको अघिल्तिर राखिदिए ।
तेस्रो दिन लडाकुको माग मिलाए पनि भोलिपल्ट अर्को समस्या आयो । प्रचण्ड पक्षका कार्यकर्ता अगाडि बोल्ने कि बाबुराम पक्षका भन्ने सानो विवादले पार्टीको नाकै काटिनेगरी मारामार भयो । धन्न प्रचण्डको बुद्धिमत्तापूर्ण निर्णयले रणमैदान बनेको थिएन ।
पारिवारिक तनावले झन् जेलिएका प्रचण्डले विस्तारित बैठक सकिने दिन यस्ता घोषणा गरिदिएकी कार्यकर्ता एकाएक जोसिन पुगे । ‘अध्यक्ष कमरेडको घोषणाले पार्टी बाँचेको रहेछ भन्नेजस्तो भयो,’ राज्य समिति सदस्य कौशल साह भन्छन्, ‘उहाँका एकपछि अर्को निर्णय यति दीर्घकालीन महत्व राख्ने छन् कि कार्यान्वयन भए हामीलाई तलसम्म अहिले फेस गरेका समस्या एकाएक हल हुनेछन् ।’
के घोषणा गरे प्रचण्डले ?
–    लाजिम्पाटस्थित महंगो घरमा नबस्ने ।
–    भएभरको सम्पत्ति पार्टीका नाममा जम्मा गर्ने ।
–    सुविधासम्पन्न गाडी फिर्ता दिने, सरकारले दिएको गाडीमात्रै प्रयोग गर्ने ।
–    आफ्नो सचिवालय बाबुरामसँग पठाउने र बाबुरामको लिने ।
–    गाउँकालाई सहर र सहरका नेतृत्वकर्तालाई गाउँ पठाउने ।
–    पार्टीको महाधिवेशन गर्ने, अहिलेका सवै कमिटी भंग गर्ने ।
प्रचण्डका यी चामत्कारिक निर्णयले माओवादीका देशभरका पाँच हजार कार्यकर्ता फेरि पुरानै जोसमा फर्कंदैछन् । तर यी घोषणा कार्यान्वयन गरेको चाँही हेर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया