आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
टोकियो- युद्धग्रस्त राष्ट्रका रुपमा रहेको अफगानिस्तानलाई सहयोग गर्ने दाता राष्ट्रहरुको सम्मेलन जापानको राजधानी टोक्योमा आइतबार सुरु भएको छ ।
अफगानिस्तानको सुरक्षा र विकासको विषयलाई लिएर सो देशलाई सहयोग गरिरहेका दाता राष्ट्रहरुको उक्त सम्मेलनमा आगामी दिनमा अफगानिस्तानलाई उपलब्ध गराउने सहयोगका बारेमा प्रतिबद्धता आउने जनाइएको छ ।
सो सम्मेलनमा सहभागिताका लागि अफगानिस्तानका राष्ट्रपति हमिद कारजायी हिजो नै जापान पुगिसक्नुभएको अफगानिस्तानका सञ्चारमाध्यमहरुले जनाएका छन्  । त्यसैगरी अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टन, संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुन तथा विश्वका अन्य राष्ट्रका प्रतिनिधिहरु पनि आज बिहानसम्ममा जापानको राजधानी टोक्यो पुगिसक्नुभएको छ ।
अफगानिस्तानका राष्ट्रपति कारजायीसँगै टोक्यो पुगेका अफगानिस्तानका उच्च सरकारी अधिकारीहरुले अफगानिस्तानको सहयोगका लागि आवश्यक एजेन्डा प्रस्तुत गर्ने बताइएको छ ।
प्राप्त समाचारअनुासर सो सम्मेलनमा विश्वका विभिन्न दाता राष्ट्रहरुले अफगानिस्तानलाई विकास सहायतास्वरुप करिब १६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने बारेमा प्रतिबद्धता व्यक्त गर्ने भएको बताइएको छ ।
सो सम्मेलनमा विश्वका विभिन्न ७० राष्ट्रका उच्च सरकारी अधिकारी एवम् प्रतिनिधिहरुको पनि सहभागिता रहेको जापानको विदेश मन्त्रालयले जनाएको छ । जापानले सो सम्मेलनको सहअध्यक्षता गरिरहेको बताइएको छ ।
सो सम्मेलनमा पुग्नुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले अफगानिस्तानका लागि सुरक्षाका क्षेत्रमा प्रगति भइरहेको भए पनि त्यसबाट अफगान नागरिकले फाइदा लिनसक्ने अवस्था भने बन्न नसकेको बताउनुभयो ।
अफगानिस्तानमा हाल सुरक्षाका क्षेत्रमा मात्र लगानी भइरहेको भन्दै तरपनि मानवअधिकार, सुशासन, रोजगारी तथा सामाजिक विकासका क्षेत्रमा भने लगानी कम भएको अवस्थाको चित्रण गर्नुभयो ।
यी क्षेत्रमा आगामी दिनमा लगानी बढाउनुपर्नेमा दाताराष्ट्रहरुसँग पनि उहाँले आग्रह गर्नुभयो । अफगानिस्तानको सुरक्षा व्यवस्थाको चिन्ता विश्वका सबै राष्ट्रमा हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
ती विश्वका दाताहरुले आगामी सन् २०१५ देखि २०२४ सम्मको दशकमा हुने अफगानिस्तानको दीगो विकासका लागि सहयोग उपलब्ध गराइने बारेमा प्रतिबद्धता व्यक्त गर्ने भएको बताइएको छ ।
सो दशकलाई अमेरिकासहित नेटो सैनिक समूहमा संलग्न रहेका विश्वका अन्य देशहरुले अफगानिस्तानको रुपान्तरणको दशकका रुपमा लिएका छन् ।
आगामी सन् २०१४ सम्ममा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भइसक्ने भएकाले त्यहाँको सुरक्षा र विकासका लागि विश्व समुदायले सहयोग गर्ने योजना बनाएका हुन् ।
जापानी विदेश मन्त्री कोनिचिरो गेम्बाले उक्त दाता राष्ट्रहरुको सम्मेलनले अफगानिस्तानका लागि सन् २०१६ सम्मका लागि आवश्यक करिब १६ अर्ब अमेरिकी डलरसम्मको सहयोगको प्रतिबद्धता गर्ने जानकारी दिनुभयो ।
अफगानिस्तानले सुरक्षा र विकासका लागि हरेक वर्ष कम्तीमा पनि चार अर्ब अमेरिकी डलर सहयोग आवश्यक परेको जनाउँदै आएकोले आगामी सन् २०१६ सम्मका लागि सो सहयोगको प्रतिवद्धता दाता राष्ट्रहरुबाट आउने पनि उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया