काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाले धर्म निरेपक्ष र संघीयताको विषयमा जनमत संग्रह गर्नु पर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा राणाले धर्म निरपेक्षताको विषयमा नेपाली जनताले आफ्नो भावना ब्यक्त गर्न अहिलेसम्म नपाएको भन्दै जनमत संग्रहमार्फत सो विषयमा निर्णय गर्नु पर्ने धारणा राखे ।
साक्षात्कारमा उनले संविधान निर्माणको बाधक राज्यको पुर्नसंरचना नै भएको ठोकुवा गर्दै प्रान्तको संख्या र नामाकारणको आधारको विषयमा जनमत संग्रह गरेर विवाद टुङग्याउनु पर्ने बताए ।
उनले भने–प्रान्तलाई लिएर जनमत संग्रहमा जानै पर्छ । १० वा १४ कति प्रदेश बनाउने हो सो कुराको फैसला जनताले नै गर्छन ।
लडाकु परिचालन गरेर निर्वाचन आफ्नो पक्षमा पारेर सत्ताकब्जा गर्ने रणनीति अनुसार माओवादी सरकारले निर्वाचन घोषणा गरेको दावी गर्दै प्रधानमन्त्रीले अब आफै पद नछाडे राष्ट्रपतिले अग्रसरता लिएर हटाउनु पर्ने बताए ।
संविधानसभा, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको भु्रण हत्या गर्ने प्रधानमन्त्रीलाई पदमा बसिरहने हैसियत नभएको भन्दै सर्वदलिय भेलामै राष्ट्रपतिले कामचलाउ सरकारलाइ धेरै नलम्ब्याउ, मैले केही गर्नु पर्छ भनेर सोधेकोले पनि अब राष्ट्रपतिले प्रधानमन्त्री हटाउने विश्वास ब्यक्त गरे ।
दलिय सहमतिमा सरकार बन्ने अवस्था नभए न्यायाधिस वा अन्य स्वतन्त्र ब्यक्तित्वको नेतृत्वमा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने भन्दै राणाले मुलुकले धेरै द्धन्द्ध झेल्न नसक्ने भएकोले अब पनि द्धन्द्ध भए मुलुक असफल हुने चेतावनी दिए ।