काठमाडौँ- एकीकृत नेकपा (माओवादी)को स्थायी समितिको बैठकले पार्टीको असन्तुष्ट पक्षलाई पार्टी एकतामा आउन आग्रह गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले पार्टी उपाध्यक्ष मोहन वैद्य पक्षलाई पार्टी एकतामा आउन र भेलाबाट पार्टी एकताको प्रस्ताव पारित गर्नसमेत आग्रह गरेको छ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरागर्दै पार्टी प्रवक्ता दीनानाथ शर्माले उपाध्यक्ष मोहन वैद्य पक्षलाई पार्टी एकतामा आउन आग्रह गरिएको बताए।
यसैगरी बैठकमा प्रधानमन्त्रीले आजदेखि गर्न लागेको ब्राजिल भ्रमण र सरकारले हिजोको मन्त्रिपरिषद्को बैठकले पारित गरी राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको दुईवटा अध्यादेशको विषयमा समेत छलफल भएको प्रवक्ता शर्माले जानकारी दिए।
यसैगरी पार्टीले यही असार १५ देखि १७ गतेसम्म बोलाएको सातौँ विस्तारित बैठकलाई सफल पार्नका लागि पार्टीको सबै तह र तप्का लागिपर्ने निर्णयसमेत गरेको छ।