काठमाडौं- एउटा ठूलो हललाई चारैतिरबाट कालो कपडाले छेकेर अन्धकार पारिएको छ। कुनाकाप्चाका छिद्रहरूबाट छिरेका उज्यालोधरी छेक्न कामदारहरू व्यस्त छन्।
बिहीबार उद्घाटन भई शुक्रबार सर्वसाधारणको निम्ति खुला हुने यो हल नाटक देखाउने रंगमञ्च होइन। यो रेस्टुरेन्ट हो, जहाँ दृष्टिविहीन वेटरहरूले सेवा दिन्छन् र खाउन्जेल ग्राहकले समेत केही देख्ने छैनन्।
इजरेली दूतावासको सहयोगमा नेपालमै पहिलोपटक यस्तो नौलो रेस्टुरेन्ट सञ्चालनमा आउन लागेको हो। ‘विश्वका धेरै मुलुकमा दृष्टिविहीन रेस्टुरेन्ट सफल भएका छन्,’ दूतावासका काउन्सिलर तथा यो योजनाका स्वयंसेवक नित्जान अर्नी भन्छन्, ‘हामीले इजरेलमा गरेको अनुभवका आधारमा नेपालमा पनि सुरु गर्न लागेका हौं।’
नारायणहिटीको पूर्वी ढोकासँगै रहेको रेस्टुरेन्ट ‘इमागो देइ’मा मंगलबार पुग्दा नित्जान आफ्नै धुनमा थिए। रेस्टुरेन्टको मध्यमा रहेको हललाई कालो कपडाले अन्धकार पार्दै ‘दृष्टिविहीन कक्षु बनाउन जुटेका कामदारहरूलाई उनी भनिरहेका थिए, ‘उज्यालो पूरै निषेध नगरेसम्म आँखा देख्नेहरूलाई दृष्टिविहीन बनाउन सकिन्न।’
छ महिनाअघि स्वयंसेवकका रूपमा नेपाल आएका नित्जान बितेको दुई महिनादेखि दूतावासका जागिरे छन्। उनको काम काउन्सिलर शाखामा आउने विशेष समस्याहरूको संयोजन गर्नु हो। ‘केही दिनयता भने म दूतावासकै यो परिकल्पना साकार पार्न खटिएको छु,’ उनी भनिरहेका थिए, ुपाँच वर्षदेखि इजरेलमा चल्दै आएको यस्तै रेस्टुरेन्ट देखेको अनुभवका आधारमा मैले यो जिम्मेवारी पाएको हुँ।’
दूतावासले यो वर्षलाई विशेष आवश्यकताका व्यक्तिहरूमा समर्पित गर्दै ुपिपुल विथ स्पेसल निडु नामक अभियान चलाएको छ। त्यसै क्रममा दृष्टिविहीनहरूका निम्ति यो अवधारणा अघि बढाइएको उनले बताए। रेस्टुरेन्ट सञ्चालन गर्न पाँचजना वेटर छनोट गरिसकिएको छ। दृष्टिविहीनहरूकै संस्था ‘नेपाल एसोसिएसन अफ द ब्लाइन्ड’ (नाब) को सहयोगमा वेटर छानिएका हुन्। आवेदकमध्ये सिक्न र जान्न खोज्ने प्रवृत्तिका व्यक्तिलाई प्राथमिकता दिएर छनोट गरिएको नित्जान बताउँछन्।
‘तथ्यांकअनुसार नेपालमा दुई लाख जनसंख्याले आँखा देख्दैनन्,’ नित्जान भन्छन्, ‘आफू पनि देख्नेहरूजत्तिकै सक्षम रहेको प्रमाणित गर्ने यी पहिलो पाँचजनाले सबैका निम्ति सम्भावनाको ढोका खोल्नेछन्।’
केही साताअघि मात्र छनोटमा परेका पाँचैजना वेटरलाई तालिम दिने काम सकिएको छ। ‘उनीहरू सबैलाई ल्याएर रेस्टुरेन्टका प्रत्येक कुना अनुभूत गर्न लगायौं,’ नित्जान भन्छन्, ‘आँखा नदेखे पनि झनै राम्ररी महसुस गर्न सक्ने उनीहरूको विशेषता यस्तो कुरामा उपयोगी हुन्छ।’
तालिमका क्रममा उनीहरूलाई रेस्टुरेन्टका प्रत्येक परिकारको स्वाद पनि चखाइएको थियो। ‘दृष्टिविहीन वेटर तयार पार्न अरूभन्दा अलिक बढी समय त लाग्छ नै,’ नित्जान भन्छन्, ‘हामीले गुणस्तरीय सेवा दिनसक्ने जनशक्ति तयार पारेका छौं।’
इमागो देइ रेस्टुरेन्टको दृष्टिविहीन कक्ष दैनिक बेलुकी ६ बजेदेखि दुई घन्टा चल्नेछ। ‘डाइनिङ इन द डार्क’ नाम दिइएको यो कक्षमा प्रवेश गर्नेबित्तिकै ग्राहकले केही देख्ने छैन। त्यसपछि सुरु हुनेछ- स्वाद, आवाज र स्पर्शको यात्रा।
नेपालको निम्ति यो एउटा नयाँ सामाजिक अनुभूति हुनेछ। ‘दृष्टिविहीनको सेवा लिन उनीहरूकै अवस्था अनुभव गराउन खोज्दा ग्राहकलाई केही अप्ठेरो लाग्न पनि सक्छ,’ नित्जान भन्छन्, ‘हामीले चाहेकै त्यही अवस्था तयार होस् भन्ने हो।’
यसरी प्रवेश गर्ने ग्राहकले पक्कै पनि कुनै मेनु प्राप्त गर्ने छैनन्। केवल आवाजबाट उनीहरूले परिकारबारे जानकारी पाउनेछन् र आवाजबाटै अर्डर गर्नुपर्नेछ। अन्धकारमा ल्याइपुर्याइने खानेकुराहरू वेटरको सहयोगले खान सकिनेछ।
ुहामीकहाँ सधैंजसो पाक्दै आएका परिकार नै दृष्टिविहीन कक्षका ग्राहकलाई पनि पेस गरिनेछ,ु इमागो देइ रेस्टुरेन्टकी सञ्चालिका रेचल मेन्डी भन्छिन्, ‘तत्काललाई वेटरहरूको बन्दोबस्त र उनीहरूको पारिश्रमिक इजरेली दूतावासले नै गर्नेछ।’ यो योजना सुन्दै रमाइलो लागेकाले दूतावाससँग सहकार्य गर्न मञ्जुर भएको रेचलले सुनाइन्।
यी वेटरहरूले रेस्टुरेन्टका अन्य वेटरजत्तिकै पारिश्रमिक पाउने नित्जान सुनाउँछन्। ‘हामी प्रत्येक कुरामा उनीहरूलाई आँखा देख्नेहरूको समकक्षमा राख्न चाहन्छौं,’ उनले भने, ुत्यसबाहेक उनीहरूले दिएको सेवाको लाभ थुप्रै दृष्टिविहीनले पनि उठाउने छन्।’
नित्जानका अनुसार रेस्टुरेन्टमा प्रवेश गर्ने प्रत्येक ग्राहकले तोकिएको निश्चित रकम अर्थात् एक हजार रुपैयाँ बुझाउनुपर्नेछ। उनीहरूलाई त्यो बजेटभित्रै आउने थुप्रै खानेकुराको छनोट प्रस्तुत गरिने छ। यसरी ग्राहकले बुझाएको हजार रुपैयाँबाट १० प्रतिशत दृष्टिविहीनहरूको संस्था ुनाबुलाई सहयोगार्थ जानेछ।
‘दूतावासमार्फत् आए पनि दृष्टिविहीन वेटरहरूलाई हामीले आफ्नै समूहको सदस्य बनाउने छौं,’ रेस्टुरेन्टका प्रवन्धक विजय लामा भन्छन्, ‘उनीहरूको तालिममा सघाउने छौं।’
यसरी तयार पारिएको रेस्टुरेन्टमा मंगलबार बेलुकी पहिलो चरणको सेवा इजरेली दूतावासकै कर्मचारीलाई दिइएको थियो। ‘दृष्टिविहीनहरूबाट पनि उत्तिकै सक्षमतापूर्वक दिने सेवा ग्रहण गर्ने मात्र होइन,’ कुराकानी सकिएर बिदा माग्दै गरेका नित्जान भनिरहेका थिए, ‘एक घन्टाको निम्ति मात्रै भए पनि ग्राहकले अन्धोपनसमेत महसुस गरून् भन्ने हाम्रो मुख्य ध्येय हो।’ यसले एउटा बेग्लै अनुभूतिमा पुर्याएर ग्राहकलाई रमाइलो पार्ने नित्जानको दाबी छ।