काठमाडौं- १३ महिनाभन्दा अलि बढी दिन जेल बसेर छुटेपछि पूर्वमन्त्री चिरञ्जिवी वाग्लेको अनुहारमा घर जाने कुनै हतारो थिएन। काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन शाखाबाट वाग्लेको कैद भुक्तान सकिएपछिको छोडुवा पत्र आउँदै गर्दा उनले पत्रकारसँग आफ्नो जेल-अनुभव बाँडे। सँगै थिए, भ्रष्टाचारी ठहर भई जेल परेका पूर्वसूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता।
वाग्ले जेलमा सिरक, डस्ना, औषधि र केही पुस्तक बोकेर छिरेका थिए। आइतबार कैद काटेर निस्कँदा उनका पुस्तक बढेका थिए। जेलमा उनलाई धेरैले पुस्तक लिएर भेट्न आउँथे।
उनलाई सर्वोच्च अदालतबाट फैसला भएको भोलिपल्टै सुरक्षाकर्मीले कालोपुलस्थित घरबाट डिल्लीबजार सदरखोर जेल ल्याएका थिए। भ्रष्टाचार मुद्दामा जेल जाने वाग्ले पहिलो पूर्वमन्त्री हुन्। त्यसबेला उनले ६० दिनभित्र अदालतसमक्ष आत्मसर्मपण गरेर कैद र जरिवानामा २० प्रतिशत छुट पाउने मौका पाएका थिएनन्। पछि अदालतबाट उनले २० प्रतिशत सजाय छुट पाउने फैसला गर्यो।
‘जेलमा पढ्ने र लेख्ने काम बढी गरेँ,’ वाग्लेले भने, ‘एउटा उपन्यासको खेस्रा लेखिभ्याएँ, अब टाइप गरेर प्रकाशनमा पठाउँछु।’ राजनीतिकरसामाजिक विषयसँगै जोडिएको भए पनि जुराइसकेको उपन्यासको नाम भने उनले भन्न चाहेन्नन्। क्रिम कलरको सफा कुर्ता सुरुवालमा ठाँटिएका उनले कुनै हतारबिनै झन्डै एक घन्टा कुरा सुनाए। उनले जेलमा लेखनसँगै झन्डै पचास पुस्तक पढिभ्याएको सुनाए। ‘सधैँ उज्यालो नहुँदै प्राणायाम गर्थेँ, विपश्यना ध्यान जेलमै सिकेँ,’ उनले भने।
सँगै बसेका जेपीले थपे, ‘हाम्रा ध्यान गुरु बिरामी पर्दा दाइले नै हामीलाई सिकाउनुभयो।’
सधैं तीन बजे उठ्ने वाग्ले नित्यकर्मपछि योग, ध्यान गर्ने, रेडियोमा भजन सुन्ने र टिभीमा समाचार हेर्ने गर्थे।
१ सय ८० कैदीरबन्दी क्षमता भएको सदरखोरमा अहिले ६ सय २७ राखिएकाले बिहान शौचालयको समस्या हुन्छ, छिटै उठ्ने वाग्लेले भने त्यो व्यहोरिरहनु परेन। जेलमा टिभी हेर्न, पत्रपत्रिका पढ्न, आफन्त र वकिलसँग फोनमा कुरा गर्न पाइन्छ।
वाग्ले अहिले मदनमणि दीक्षितको उपन्यास ‘माधवी’ पढिरहेका छन्। त्यसअघि उनले खप्तड बाबाको ‘विचार विज्ञान’, लियो टोल्सटोएको ‘वार एन्ड पिस’, भगत बर्माको ‘चित्रलेखा,’ ओमशान्ति धर्म र अन्य थुप्रै आध्यात्मिक पुस्तक पढे।
जेलका सुरक्षाकर्मी र जेलरले वाग्लेलाई जहिल्यै पढिरहेको र लेखिरहेको मात्रै देखेको सुनाए। ‘उहाँ जहिले जाँदा पनि लेखिरहेको मात्रै देखिन्थ्यो,’ जेलर कृष्णबहादुर खड्काले भने। अधिकांश समय लेख्न र पढ्नमै बिताएको भएरै होला, उनलाई जेलमा खासै केही मिस गरेजस्तो लागेन। ‘कार्ल मार्क्सले भनेजस्तो जीवन चक्र हो घुमिरहन्छ, गाडीको चक्का एउटै स्थानमा रह्यो भने त कहाँ अगाडि बढ्छ र ? वाग्लेले भने, ‘मैले जेलमा केही मिस गरेको छैन, बाहिरिने बित्तिकै पनि कसैलाई भेटिहालौं भन्ने सोचेको छैन।’
जेलमा बस्दा उनको सम्झनामा बाल्यकालको कुरा धेरै आए। ‘घरमुनिको ज्यादु्र खोलामा माछा मारेको, तातो खरानीमा माछा पोलेर खाएको याद आउँछ,’ वाग्लेले सम्झे, ‘त्यो रमाइलो बेला थियो, जुन अब फर्कँदैन।’
जिल्ला अदालतबाट छ बजे छोडुवापत्र आइपुग्दा पनि उनले सपनाका कुरा सुनाउन भ्याए, ‘मैले मुलुकको परिस्थिति राम्रो हुने सपना देखेको छैन।’
अदालती भाषामा कैदीरबन्दी थपिँदा आम्दानी र छुट्दा खर्च भनिन्छ। वाग्ले एक घन्टा जेल अनुभव सुनाएर छुट्दै थिए। जेलको खर्च बढ्यो। कैदी संख्या घट्यो। उनले झिटीगुन्टासहित बाहिर निस्कन झन्डै एक घन्टा लगाए। कैदी बाहिरिँदा जेलमै रहेकाले फुलमाला, अबिरको टिका लगाएर निकाल्छन्। वाग्ले पनि निधारभरि लामो रातो टिका र खादा लगाएर निस्किए। ‘सहयोगका लागि तपाईंहरूलाई धेरै धन्यवाद,’ वाग्लेले जेलका कर्मचारीलाई भने। जेलबाट बाहिरिँदा उनलाई लिन गाडी र झन्डा बोकेर आएका केही कार्यकर्ता थिए। ‘नेपाली कांग्रेस जिन्दावाद, चिरञ्जिबी दाइ जिन्दावाद,’ उनीहरूले नारा लगाए।
वाग्लेले फैसलाको पुनरावलोकन गरेको बताए। ‘मलाई अन्याय भएको छ, अदालतमा प्राण बाँकी छ भन्ने विश्वास छ, न्याय पाउने आशो छ,’ उनले भने।
वाग्लेलाई २०६७ चैत २ गते २ करोड ३ लाख भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले डेढ वर्ष कैद सुनाएको थियो। यो सजायमा २० प्रतिशत छुट हुँदा उनले जरिवानाको ४० लाख रुपैयाँ तिर्नुपरेन भने साढे तीन महिना कैद पनि मिनाहा भयो।