बिषेश सम्पादकीय
लामो समयदेखि बिस्कुन फिजाईएको एनआरएनहरुको सामुहिक लगानीको बहसले ढिलै भएपनि अहिले चर्चाको शिखर चुम्न सफल भएको छ । यद्यपि यसले गन्तब्यको यात्रा गर्न भने बाँकी नै छ । जलबिद्युत नै एनआरएनहरुका लागि पहिलो र उपयुक्त लगानीको क्षेत्र हुन सक्ने ठहर गर्दै बिभिन्न मुलुकहरुमा रहेका नेपालीहरुबीच पुगेर लगानीका लागि प्रोत्साहित गर्ने अभियानमा अहिले एनआरएन नेतृत्वपंक्ति होमिएर लागेको छ । बिदेशमा आर्जन गरेको कमाईलाई सामुहिकरुपमा लगानी गरेर मुलुकमा बिजुली बाल्ने योजना आफैमा जति सुन्दर छ, त्यतिकै अपरिहार्य पनि । बिद्यमान ऊर्जा संकटलाई न्युनिकरण गर्दै मुलुकभित्र उद्योग, धन्दा, कलकारखानाहरु बिस्तार गरी प्रशस्त मात्रामा रोजगारीका अवसरहरु सिर्जना गर्न यो अभियान कोशेढुङ्गा साबित हुन सक्ने देखिन्छ ।
यद्यपि अभियानकर्ताहरुले परियोजनाका मुल पाटो अन्तर्गत पर्ने धेरै महत्वपूर्ण कुराहरु स्पष्ट पार्नु अगावै लगानी गर्न प्रस्ताव गरिएको र अर्कोतिर नेपालीहरुमा अझै साझेदारी भावनाको यथेष्ट मात्रामा बिकास हुन नसकेको सन्दर्भमा यस महायज्ञमा साँच्चिकै के कति नेपालीहरु जिम्मेवार ढंगले प्रस्तुत हुने हुन् त्यसको अंकगणित निकाल्न भने अहिले नै चाँडो हुने छ र गाह्रो पनि । लगानीको उद्देश्य प्रतिफल हुने हुँदा स्वभाविकरुपमा लगानीकर्ताले सक्दो छिटो प्रतिफलको अपेक्षा गर्नु अस्वभाविक मान्न सकिदैंन । त्यसैले आजको उच्च प्रतिस्पर्धा एवं तिब्र गतिमा रहेको अर्थ बजारमा ब्यवसाय शुरु गरेको पहिलो दिनबाटै आय आर्जनको अपेक्षा गरिनुलाई यहाँ अन्यथा लिन मिल्दैन । त्यसैले अझै पनि जापानमा हेर्ने हो भने ठूलो सँख्याका नेपालीहरु रेष्टुरेन्ट ब्यवसायतिर ढल्केको पाईन्छ ।
जलबिद्युत जस्तो मुलुकको आधारभुत अभाव टार्न उपयोगी हुने परियोजनामा सानै भएपनि लगानी मिसाएर ठूलो प्रोजेक्टमा आफु पनि हिस्सेदार बन्ने अवसरकारुपमा यो अभियानलाई लिन सकिन्छ । यस अर्थमा भन्न सकिन्छ कि, अब एनआरएनहरुले लगानीको मीठो कुरा गरेर मिडियामा छाउने बेला गयो, बरु ठूलो पोखरीमा थोरै माछाका भुरा छोडेर बर्षौसम्म लाभांशको प्रतिक्षा गर्न सक्ने धैर्यशक्ति देखाउने बेला आएको छ । हिजो चुड्कीको भरमा अब नेपालमा लगानीको खोलो बग्छ भनेर भावनात्मक कुरा गर्ने एनआरएनहरुले आज नाक र साख दूवै एकैचोटी जोगाउने बेला आएको छ अर्थात सानै भएपनि लगानी भित्र्याएर देखाउने बेला आएको छ । बरु थोरै बोलौं, पुरा गरौं । काम गरेर प्रमाणित गरेर देखाएपछि भने स्वतस्फुर्तरुपमा लगानीको मुहान फुट्ने अपेक्षा गर्न सकिन्छ, डायस्पोराका चासो र चिन्ताका आँकुराहरुले यस्तै संकेत गर्दछन् । तर भोलिका ती दिनहरुलाई सार्थक बनाउन भने सकसै भएपनि आजका जीवा लामिछानेहरुले अझ धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ । ***