आज मार्च ८, बिभिन्न कार्यक्रमको आयोजना गरेर बिश्वभर अन्तरराष्ट्रिय महिला दिवस मनाईदैं छ । महिला साक्षरता, महिला हकहित, महिला अधिकार, महिलाको समुन्नत जीवन, महिला स्वास्थ्य जस्ता अन्नगिन्ति महिलासँग सम्बन्धित आधारभुत तत्वहरुको खुलेरै चर्चा गरिन्छ आजको दिनमा । आजकै दिनका लागि भनेर बिभिन्न संस्थाहरुले आफ्नो कामको प्रकृति हेरिकन सुहाउदो नारा बनाएका छन । संयुक्त राष्ट्रसंघले “ग्रामीण महिलालाई ससक्त बनाऔं, गरीबी र भोकमरीको अन्त्य गरौं” भन्ने नारा सार्बजनिक गरेको छ । त्यस्तै बिभिन्न अन्य देशमा बिभिन्न संस्थाहरुले आफ्नै खाले नारा बनाएर आजको दिन मनाउंदै छन ।
यसरी अन्तरराष्ट्रिय महिला दिवस मनाईरहंदा, छोरा नपाएको बहानामा पतिबाटै तिरस्कृत बिमला (नाम काल्पनिक) दाईजो नल्याएको बहानामा घरमा अपहेलित कमला, अन्तरजातिय बिहे गरेको बहानामा गाउंबाटै निकालिएकी शर्मिला, कार्यक्षेत्रमा आफ्नै हाकिमबाट शोषित भएकी रमिला, आफ्नै दाइबाट बेचिएकी सरिता र अन्य यस्तै पींडाहरु भोगिरहेका महिलाहरुलाई एकपटक सोध्ने हो कि के हो महिला दिवस भनेर ?
यहाँ उल्लेख गरेका केहि नाम र चरित्र काल्पनिक हुन तर यसले त्यो बहुसंख्यक घटनाहरुलाई ई प्रतिनिधित्व गरेको छ भन्ने मलाई लागेको छ । महिलाहरु आफ्नै मान्छेहरुबाट घरेलु हिंसामा परिरहेका हुन्छन अनि बाहिर निस्केर केहि भन्न बोल्न नसक्ने हुन्छन्, यस्तो बातावरण छ हाम्रो वरिपरी । बहुसंख्यक महिलाहरु, बिशेषगरी ग्रामिण भेगका महिलाहरु यस्तो क्रियाकलापबाट धेरै प्रभाबित छन । बैदेशिक रोजगारिका लागि भनेर जसोतसो बिदेश पुगेकाहरु पनि अल्पज्ञानकै कारणबाट बिभिन्न शोषणमा पर्दै आएको सत्य पनि हाम्रै सामु छ ।
देश बिकासमा महिलाको सहभागिताको लागि भनेर बिभिन्न तहका समाज सेवा तथा समाज सुधारक क्षेत्रमा महिलाको आवज उजागर गर्न र सम्पूर्ण महिलाको प्रतिनिधित्व गर्न महिला आरक्षणको ब्यबस्था गरिएको छ । सो कदमलाई प्रशंसा गर्नुपर्दछ, तर आरक्षणको बदलामा ज्ञान र सीप बांड्ने हो भने, महिलालाई तिमी पनि सक्षम छौ भनेर बिश्वास दिलाउने हो भने, कर्म क्षेत्रमा सहयोग गर्ने हो भने महिला आफै अघि बढेर देखाउने थिए कि ?
बिश्व अर्थतन्त्र र बैदेशिक ममिलाको क्षेत्रमा महिला समाजले न केवल शिक्षा स्वास्थ्यमा उल्लेख्य प्रगति गरेको छ, साथै महिलाहरु नेतृत्व तहमा पुगेर बिश्व मानचित्रमा समेत आफ्नो नाम लेखिसकेका छन । तसर्थ अरुको देखासिखी गरेरै भए पनि महिलालाई आत्मबिश्वासी बनाउनुपर्ने आजको आवश्यकता महसुश हुन्छ । पुरुषभन्दा महिला धेरै साक्षर भएका देशका उदाहरण पनि हाम्रा सामु छन । तर सर्बप्रथम आफ्नो घर कसैले हेरेको छैन । हक अधिकार्, शिक्षा स्वास्थ्यमा महिलालाई आफ्नै घरबाट सर्बप्रथम सहयोग मिलेमा त्यो दिन धेरै टाढा छैन कि यस्ता लेखहरुमा उदाहरण काल्पनिक नामहरु खोज्नु परोस ।
महिलाहरुलाई परेको अप्ठ्यारो र सो अप्ठ्यारो फेरि नपर्नको लागि सल्लाह सुझाब र सहयोग तथा पुनर्स्थापनाका लागि बिभिन्न संस्थाहरुले गरिरहेको काम तारिफयोग्य छ । माइती नेपाल, पौरखी, UNWOMEN जस्ता संस्थाहरुले हरदम सहयोगी भूमिका खेलिरहेका छन । साथै देशको आँगिक प्रतिनिधि महिला बालबालिका तथा समाज कल्यण मन्त्रालयले प्रमुख भूमिका निर्बाह गरेको छ । बिगतको तुलनामा महिलाको सन्दर्भमा धेरै परिवर्तन देखिएको भएता पनि केहि उदाहारणले झसंग झसंग पारिरहेका हुन्छन । ति सबैको निर्मुलता, महिला समुन्नत जीवन्, शिक्षित र स्वास्थ्य महिलाद्वारा प्रतिनिधित्व गरिएको समाजको परिकल्पना लेखहरुमा मात्र नभै बास्तबिक जीवनमा देख्न मन लागेको छ । आफुले आफ्नै घर र छिमेकबाट यो कुरा पुरयाउछु, र सबैलाई सोही आग्रह पनि गर्दछु, आशा पनि राख्दछु । अर्को पटकको लेखमा घरेलु हिंसा यतिले कम भयो, बेचबिखन शुन्यमा झरयो, शिक्षित महिलादरले फड्को मारयो भन्न पाइयोस् भन्ने अपेक्षा पनि राख्दछु । अन्तरराष्ट्रिय (श्रमिक) महिला दिवसको उपलक्ष्यमा सम्पूर्ण महिलामा समर्पित यसै लेख मार्फ़त सम्पूर्ण महिलाहरुमा आजको दिनको हार्दिक शुभकामना ।
(लेखिका आचार्य नेपाल-जापान डट कममा आबध्द पत्रकार हुन)