- अजय फुयाल
काठमाडौं- नेपाली खेलकुदमा ठूलो हिस्सा ओगटेको विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले फागुन १४ देखि सुदूरपश्चिममा हुने छैटौं राष्ट्रिय खेलकुदमा सहभागिता नजनाउने भएको छ। राखेप सदस्यसचिव युवराज लामाले राष्ट्रिय खेलकुद नखेले सेनाले अन्तर्राष्ट्रिय स्पर्धामा पनि देशको प्रतिनिधित्व गर्न नपाउने बताएका छन्।
फागुनमै हुने पहिलो दक्षिण एसियाली आर्मी स्पोर्टस मिट आयोजनाको कारण देखाउँदै सेनाले राष्ट्रिय खेलकुदबाट हात झिकेको हो। माओवादी सेनाको पिएलए टोली सहभागी भएका कारण सेनाले तीन वर्षअघि काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदमा पनि विभिन्न खेलमा सहभागिता जनाएन। त्यतिखेर उद्घाटन भइसकेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अचानक पिएलए टोलीलाई सहभागी गराएपछि सेनाले उनीहरूले खेलेका खेलबाट सहभागिता फिर्ता लिएको थियो। यसपालि पनि माओवादी सेनाको टोलीलाई राखेपले विभागीय टोलीको हैसियत दिएपछि सेनाको सहभागिता नहुने लख काटिएको थियो।
सेनाका प्रवक्ता रमिन्द्र क्षेत्री भने त्यसलाई अस्वीकार गर्दै भन्छन्, ‘निकट भविष्यमा नेपाली सेनाले दक्षिण एसियाली आर्मी स्पोर्टस मिट आयोजना गर्न लागेको छ। त्यही प्रतियोगिताका लागि सम्पूर्ण खेलाडी पूर्वाभ्यासमा जुटेको हुनाले सेनाले छैटौं राष्ट्रिय खेलकुदमा भाग लिन नसक्ने भएको हो।’ उनले छैटौं राष्ट्रियमा सेनाले कुनै पनि खेलमा भाग नलिने बताए।
फागुनमा हुने पहिलो दक्षिण एसियाली आर्मी स्पोर्टस मिटलाई सेनाले लगनखेलको राजदल गणमा सुविधासम्पन्न रंगशालाका साथै स्तरीय कभर्डहल निर्माण गरिरहेको छ। राजदल गणको रंगशालामा एथलेटिक्सका लागि सिन्थेटिक ट्रयाक फिट गर्ने काम सम्पन्न भइसकेको सेनाका खेलाडीले जानकारी गराए। सेनाको फुटबल टोली भारतीय सेनाको टोलीसँग मैत्री खेल्न नयाँ दिल्ली गएको छ।
आर्मी स्पोर्टस मिट राष्ट्रिय खेलकुद सकिएपछि फागुनको अन्तमा सुरु हुने अपेक्षा गरिएको छ। राष्ट्रिय खेलकुद फागुन २१ मा सम्पन्न भइसक्ने छ। तथापि दक्षिण एसियाली आर्मी खेलकुदको मिति र सहभागी देशबारे अझै पक्का भइनसकेको सेनाको स्रोतले जनाएको छ। स्रोतका अनुसार सहभागी देश र अन्तिम मिति तय गर्ने विषयमा गृहकार्य भइरहेको छ।
राखेप सदस्यसचिव युवराज लामाले सेनाले नखेल्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। धरानमा क्षेत्रीय छनोटको उद्घाटन गरेर काठमाडौं झर्नेबित्तिकै नागरिकको प्रश्नमा लामाको जवाफ थियो, ‘थाहा भएन, हामीलाई सेनाको तर्फबाट अझैसम्म लिखित आएको छैन। त्यसैले सेनाले नखेल्ने कुरा आधिकारिक होइनजस्तो लाग्छ।’
दक्षिण एसियाली आर्मी स्पोर्टस मिटलाई राष्ट्रिय खेलकुदले कुनै असर नगर्ने बताउँदै उनले भने, ‘उहाँहरूसँग हाम्रो कुरा भएअनुसार आर्मी खेलकुद फागुन २६ बाट हो। राष्ट्रिय खेलकुदलाई आर्मीले आफ्नो तयारीका रूपमा पनि लिन सक्छ। अझैसम्म सेनाले नखेल्ने भनेर कुनै आधिकारिक पत्र नलेखेकाले सबैको सहभागिता हुनेमा म विश्वस्त छु।’
उनले राष्ट्रिय खेलकुद देशका सबै खेलप्रतिभाको साझा महोत्सव भएकाले सबैले सहभागिता जनाउनुपर्ने बताए। ‘यो पाँचै विकास क्षेत्र र पाँच विभागको साझा महोत्सव हो। यसमा कसैले नखेल्ने निर्णय गर्न सक्छ, तर त्यसो भएमा त्यो राष्ट्रिय खेलकुदका लागि दुर्भाग्यजनक हुनेछ,’ सदस्यसचिवले भने, ‘राखेपले देशमा रहेका सबै विभाग र सबै क्षेत्रको प्रतिभालाई राष्ट्रियमा खेलाउने हो। हामी राजनीतिक निर्णय गर्ने निकाय होइन। हामी क्षमतावान खेलाडीलाई ठाउँ दिनमात्र चाहन्छौं, राजनीतिमा ‘इन्भल्भ’ हुने हाम्रो इच्छा होइन।’
सेनाको त्रिभुवन आर्मी क्लब, पुलिसको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब गरी तीनमात्र विभागीय टोली रहेकोमा पाँचौँ राष्ट्रिय खेलकुदमा राखेपले माओवादीलाई चौथो विभागीय टोलीका रूपमा मान्यता दिएको थियो। यसपालिदेखि राखेपले विश्वविद्यालयको टोलीलाई पनि विभागकै हैसियत दिएको छ।
१८ खेलमा भाग लिने तयारी
राखेपले राष्ट्रियका लागि विभिन्न १८ खेलमा सेनाले २ सय ५९ खेलाडी सहभागी गराउने पक्का गरिसकेको बताएको छ।
छैटौं राष्ट्रिय खेलकुद सचिवालयका प्रमुख कमल खनालले जानकारी गराएअनुसार सेनाले एथलेटिक्स, फुटबल, भलिबल, ह्यान्डबल, जुडो, कबड्डी, कराते, बक्सिड, ब्याडमिन्टन, बास्केटबल, भारोत्तोलन, तेक्वान्दो, उसु, आइटिएफ तेक्वान्दो, लनटेनिस, सुटिङ, पौडी र हकीमा गरी २ सय २ पुरुष र ५७ महिला खेलाडी सहभागिता हुने पक्का गरेको थियो।
सेनाले आर्मी खेलकुदलाई असर नपरोस् भनेर राखेपसँग समयमै छलफल गरेको र त्यहीअनुसार राष्ट्रिय खेलकुदको तयारी गरिएको खनालले बताए। ‘सेनाले सुरुमै आर्मी खेलकुदलाई असर नपर्ने गरी खेलतालिका बनाउन हामीलाई अनुरोध गरेको थियो। हामीले पनि त्यहीअनुरुप आर्मी खेलकुदमा हुने फुटबल, भलिबल, मार्सल आर्टसका तेक्वान्दो, एथलेटिक्सलगायतका खेल चाँडै सकिने गरी खेलतालिका बनाएका थियौँ,’ खनालले भने, ‘राखेप सबै विभाग र क्षेत्रले पूर्व निर्णयअनुसारकै सहभागिता जनाउने अपेक्षामा पूरा तयार छ। हामीले विभागीय टोलीका लागि पनि बजेट छुट्टयाइसकेका छौँ।’
सेनाका खेलाडीले साग खेल्न नपाउने !
राखेप सदस्यसचिव लामाले राष्ट्रिय खेलकुद नखेले सेनाले अन्तर्राष्ट्रिय स्पर्धामा पनि देशको प्रतिनिधित्व गर्न नपाउने बताएका छन्।
‘यो राष्ट्रिय खेलकुदलाई हामीले १२औं सागको छनोट प्रतियोगिताका रूपमा निर्णय गरेका छौं। त्यसैले यहाँ कसैले खेलेन भने उसले सागमा पनि खेल्न नपाउने स्वयम्सिद्ध तथ्य हो,’ लामाले भने, ‘यहाँ नखेल्नेलाई अन्य खेल्न नदिने कुरा म लेखेर दिन तयार छु। राष्ट्रियमा नखेल्नेले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्छु भन्नु अरु खेलाडीमाथि अत्याचार गर्नु नै हो।’
उनले देशभरबाट साग खेल्ने लक्ष्यसाथ राष्ट्रियमा सहभागी भएकाबाट छनोट हुनेलाई साग खेलाउनु सरकारको दायित्व भएको बताए। ‘छनोट प्रतियोगितामा जसले सफलता पाउँछ, प्रतियोगिता उसैले खेल्ने हो,’ उनले भने।