म
नयाँ इतिहास बनेपछि
धूवाँको कम्मल ओढेर
अभियुक्तको बन्द कोठामै
आश्वासनको अक्सिजनमा
रात गुजार्न बाध्य भएको छु ।
कालो प्रतिबिम्ब सम्झेर
धमिलो तुवाँलोभित्र
खिया लागेको दिन
समय अतीत बन्दै छ,
म बिर्संदै छु ।
वषौर्ंअघिको स्मृतिलाई
नभोग्दा असत्य लाग्ने,
भोग्दा तुहाउन खोज्ने
नसा-नसामा रगत हैन
पानी जमाएर राखेको छु ।
दन्त्यकथा जस्तो लाग्ने
मेरो रुँगाइ, भोगाइ
पटक-पटक मस्तिष्कज्वरो जस्तो
दोहोरिँदै घोरिँदै
काला भित्तामा चित्र हेरिरहेको छु ।
– चौलाखर्क-३, सोलुखुम्बू