आइतबार, बैशाख ०९, २०८१
Sunday, April 21, 2024

० अब देशमा लगानीको ओईरो लाग्छ

० मातृभूमिका लागि असजिलो अवस्थामा काम गर्ने भनेको रगतको नाता र माटोको माया भएकाहरुले नै हो

० हामी एनआरएनहरुले देशभित्र रहनुभएका नेपालीहरुसँग मिलेर नै समृद्ध नेपालको कल्पना गर्न सक्छौं

 – भवन भट्ट, कोषाध्यक्ष, एनआरएन आईसीसी

 

बिश्वभरि छरिएर रहेका लाखौं नेपालीहरुलाई समेट्दै आ–आफ्नो ठाउँ र हैसियतबाट मुलुक र मुलुकबासीको समृद्धिका लागि क्रियाशील रहेर सक्दो भूमिका निर्बाह गर्ने बिश्वब्यापी साझा अभियानको नाम हो एनआरएन । नयाँ नेतृत्व र नयाँ कार्यकालको लागि आर्थिक तथा सांगठानिक खाका कोर्दै एनआरएन केन्द्रको पाँचौ ग्लोबल सम्मेलन हालै राजधानी काठमाडौंमा सम्पन्न भएको छ । अघिल्लो कार्यकालमा अध्यक्ष र प्रवक्ता पाएको जापानले यसपालीको सम्मेलनबाट कोषाध्यक्ष र एशिया प्यासिफिकको सहसंयोजकको जिम्मेवारी पाएको छ । मूलतः देशको आर्थिक समृद्धिका लागि लगानी भित्र्याउने एजेण्डालाई सँधै केन्द्रमा राख्दै आएको एनआरएनले जापानका एक सफल युवा उद्यमी भवन भट्टलाई कोषाध्यक्षका रुपमा पाएको छ । एनआरएन अभियानलाई नयाँ ढंगले थप उचाईमा पुर्‍याउने र मुलुकमा लगानी भित्र्याउन भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता जाहेर गर्दै आएको नयाँ नेतृत्वको नयाँ आर्थिक नीति तथा कार्ययोजना, लगानीपूर्ण मैत्री वातावरण लगायतका लक्षित साझा कार्यक्रमहरुका सन्दर्भमा कोषाध्यक्ष श्री भट्टसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः–

१. एनआरएन आईसीसीको कोषाध्यक्षमा बिजयी हुनुभएकोमा यहाँलाई हार्दिक बधाई छ । कोषाध्यक्षका हैसियतले अब आईसीसीको आर्थिक एजेण्डाबारे बताईदिनु हुन्छ कि ?

सर्वप्रथम मलाई यस गरिमामय पदमा विजयी बनाउन सहयोग गर्नुहुने सबै एनआरएन मित्रहरुमा र खासगरी जापानवासी नेपालीहरु अनि मिडियाका साथीहरुलाई पुनः एकपटक हार्दिक धन्यवाद दिन चाहन्छु । गैरआवासीय नेपाली संघको कोषाध्यक्ष पदमा उम्मेदवारी दिँदाखेरी नै मैले आफ्ना केही एजेण्डाहरु सार्वजनिक गरिसकेको छु । जस्तै संस्थामा आर्थिक पारदर्शिता कायम राख्ने, संस्थाको आफ्नै भवन निर्माण गर्ने, संस्थाको सचिवालय सञ्चालनका लागि एउटा कोषको स्थापना गर्ने, नेपालमा एनआरएनहरुको लगानी प्रवर्धनलाई महत्व दिँदै सामूहिक लगानीमा सञ्चालन हुन सक्ने साना तथा ठूला परियोजनाहरु तयार गरी कार्यान्वयनका निम्ति वातावरण बनाउने, म्युचुअल फण्ड खडा गर्ने लगायतका कुरामा मेरो व्यक्तिगत र संस्थागत पहल हुने छ । यसबाहेक संघका विगत देखिका कार्यक्रमहरुको निरन्तरतामा पनि हामी उत्तिकै ध्यान दिनेछौं ।

२. एनआरएनमा आर्थिक पारदर्शिताको कुरा धेरै उठ्ने गरेको छ, यो के भन्न खोजिएको हो ?

एनआरएन संस्था सञ्चालनको प्रक्रिया र त्यसका पदाधिकारीहरुको खर्चका बारेमा बाहिर प्रष्ट हुन नसकेकाले बेलाबखत यस्ता कुराहरु उठ्ने गरेका हुन् कि भन्ने मलाई लाग्छ । हाम्रो संस्था गैर नाफामुलक भएकाले एनआरएनहरुकै सदस्यता शुल्क र सहयोगमा सचिवालय चलिरहेको छ । संघसँग त्यस्तो ठूलो फण्ड नै छैन । त्यसैगरी सबै कार्यक्रमहरु वा बैठकहरुमा सहभागी हुन देशविदेश जाँदा हुने सम्पूर्ण खर्च संघका पदाधिकारीदेखि साधारण सदस्यसम्मले आफैँ ब्यहोर्ने प्रचलन छ । त्यसकारण एनआरएनमा आर्थिक अनियमितता भएका कारण पारदर्शिताको कुरा उठेको नभएर भए गरेका यथार्थतालाई उचित मात्रामा सार्वजनिक गर्न नसकिएको हुन सक्छ । मेरो कार्यकालमा आर्थिक पारदर्शिता कायम गर्नेछु । आर्थिक पक्षका सबै कुराहरु जस्ताको तस्तै सम्बन्धित पक्ष सबैले हेर्न र बुझ्न सहज हुने गरी राख्ने कुरामा म प्रतिवद्ध छु ।

३. तपाईको पूर्वघोषित योजना अनुसार तपाईको कार्यकालमा एनआरएन भवन बन्नेमा कत्तिको बिश्वस्त हुनुहुन्छ ?

हो यो कुरा मेरो एजेण्डामा पनि छ । हामी देश बनाउने कुरा गरिरहेका छौं तर आफ्नै एउटा कार्यालय भवन छैन भन्दा स्वभाविक रुपमा असहज लागिरहेको छ । अब यो कुरा मेरो मात्रै नभएर हाम्रो वर्तमान कार्यसमितिको समेत एउटा प्रमुख एजेण्डा बनिसकेको छ । मेरै पहलमा हाम्रो पहिलो बैठकले भवन निर्माणका लागि कार्यसमितिका साथीहरुबाट डेढ करोड रुपैया संकलन भएको छ । अब यो अभियान निरन्तर अगाडि बढ्ने छ र यो कार्यकालभित्र समयका कारणले भवन निर्माणको काम सम्पूर्णरुपले पुरा हुन नसके पनि जग्गाको व्यवस्था, भवनका लागि आवश्यक खर्चको बन्दोबस्त र निर्माण कार्य निश्चितरुपमा अघि बढ्ने छ ।

४. स्वदेशमा एनआरएनहरुको लगानी अपेक्षाकृत भित्रिन नसकेको अवस्थामा लगानीका लागि प्रोत्साहन गर्न अबको नयाँ नीति के हुन्छ ?

विदेशमा बसोबास गरिरहेका हामी नेपालीहरुको इतिहास लामो छैन । अर्को कुरा नेपालीहरु धेरैजसो श्रमिकका रुपमा मलेसिया र खाडीका मुलुकहरुमा कार्यरत छन् । त्यसबाहेक अमेरिका, युरोप, अष्ट्रेलिया र जापान जस्ता मुलुकहरुमा पनि अध्ययन र रोजगारीका लागि जानेहरुको संख्या धेरै छ । हालैका वर्षहरुमा आएर जापान, रसिया, अष्ट्रेलिया, अमेरिका थाइल्याण्ड लगायत विभिन्न मुलुकहरुमा नेपाली व्यवसायीहरुको संख्यामा बृद्धि हुन थालेको हो । त्यसकारण एकाध बाहेक धेरै एनआरएनहरुसँग एक्लै लगानी गरेर देखिनेखालको परियोजनाहरु सञ्चालन गर्न सक्ने पूँजी छैन । हामी अझै पनि विदेशमा स्थापित हुन संघर्ष गरिरहेको अवस्था छ । तर पनि ‘एक थुकि सुकी, हजार थुकि नदी’ भन्ने हाम्रो उखान जस्तै धेरै एनआरएनहरु मिलेर थोरै थोरै पूँजी संकलन गरेर संयुक्त लगानीका योजनाहरु अघि बढाउने र लगानीका लागि प्रोत्साहन गर्ने हाम्रो सोंच छ ।

५. एनआरएनहरुको हल्ला धेरै भयो, सो अनुसार काम हुन सकेन भनिन्छ नि ?

हल्ला धेरै भएकै हो । यो कुरा म पनि स्वीकार्छु । तर हल्ला किन र कसरी भयो र त्यसअनुसार काम किन हुन सकेन भन्ने पक्ष पनि हामीले बुझ्नु जरुरी छ । मैले माथि भनेजस्तो वास्तविकता एकातिर छ भने अर्कोतिर नेपालको राजनीतिक र आर्थिक अस्थिरता अनि संयुक्त लगानीका लागि आवश्यक कानुनी व्यवस्थाका कुराहरु मिलिरहेको छैन । कोही मान्छेसँग पैसा छ र लगानी गर्न चाहन्छ भने स्वभाविकरुपमा जोखिम कम र मुनाफाको सुनिश्चितता बढी भएको ठाउँ खोज्छ । त्यसैगरी एनआरएनसँग क्षमताभन्दा बढी अपेक्षा गरिएको कारण पनि हल्ला बढी भएको देखिएको हुन सक्छ । अहिलेसम्म संस्था दर्ता समेत हुन सकेको छैन । तपाई भन्नुस कसरी काम अघि बढ्न सक्छ । शुरुका दिनमा एनआरएनका साथीहरु बढी नै उत्साहित भएर केही कुराहरु चाहिनेभन्दा बढी प्रचार भए कि भन्ने हामीलाई पनि लागिरहेको छ । तसर्थ हामी अब यी सबै कमी कमजोरीहरुलाई मूल्याङ्कन गर्दै कसरी एउटा एउटा कामलाई अघि बढाउन सकिन्छ भन्नेमा सचेत छौं । सोचेअनुसार काम हुन नसकेको भन्नेमा हामी सचेत भएकाले नै यो नयाँ कार्यसमितिले हल्लाखल्ला र प्रचार प्रसारका कामलाई कम महत्व दिएर केही गरेर देखाउने प्रण गरेको छ । हामी एनआरएनहरुका लागि अहिले सबैभन्दा ठूलो चुनौती भनेकै यही हो ।

६. नेपाल सरकारको बजेटमा एनआरएनहरुले दशैं मनाएर आए भन्ने आरोप छ, मुलुकको समृद्धिका लागि लगानी गर्ने हैसियत राख्ने एनआरएनहरुले सम्मेलन गर्न नेपाली जनताको बजेट खर्चिनु उचित हो र ?

हेर्नुस म त के भन्छु भने यो आ–आफ्नो हेर्ने दृष्टिकोणको कुरा हो । सरकारले दिएको बजेटले मात्रै यो सम्मेलन हुन सक्ने सम्भावना नै छैन । यो त सरकारसँगको सहकार्यको एउटा पाटो मात्र हो । सम्मेलनमा सरकारको पनि सहभागिता होस् भन्ने उद्देश्यले मात्रै सहयोग लिइएको हो । यो वर्ष हामी सम्मेलनका सहभागी मात्रै करिब एकहजार जना थियौं । एकहजार जनाले नेपालमा कति खर्च गरे होलान् तपाई अनुमान गर्नुस् । २५–३० लाख थप खर्च गर्न नसकेर होइन । हामी बाहिर बसेर पनि ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मासात गरेका छौं । हामी एनआरएनहरुले देशभित्र रहनुभएका नेपालीहरुसँग मिलेर नै समृद्ध नेपालको कल्पना गर्न सक्छौं । एनआरएनहरुको सेवा र सुविधाका लागि मात्र हामी संगठित भएका होइनौं । हो, हामी एनआरएनहरुले सोचेअनुसार र देशवासीले चाहना गरेअनुसार काम हुन सकेको छैन तर केही पनि भएकै छैन भन्नु र एनआरएन भनेका हल्ला मात्रै गर्नेहरु हुन् भन्नु गलत हो । त्यो हामीले पुष्टी गरेर देखाउनु पनि पर्छ । यो कार्यसमिति त्यस कुरामा पूरै सचेत छ ।

७. एनआरएनहरुको साझा लगानीमा जापानबाट सिधा नेपाल उडानका लागि लक्षित भगवान बुद्ध एयरवेज प्रोजेक्टलाई कसरी र कहिलेसम्म सम्पन्न गर्ने योजना छ ?

नेपालको विकासका लागि पर्यटन प्रवर्द्धन एउटा प्रमुख पाटो हो भन्ने कुरामा अब कुनै विवाद छैन । पर्यटन प्रवर्द्धनका लागि सोझो हवाइ मार्ग एउटा महत्वपूर्ण पक्ष हो । नेपाली राष्ट्रिय ध्वजाबाहक विमानसेवाको अवस्था राम्रो नभएको सबैलाई जानकारीमा नै रहेको छ । यसले स्वदेशी तथा विदेशी यात्रुलाई आवश्यक सेवा दिन नसकिरहेको र बार्षिकरुपमा अरवौं रकम विदेशिई रहेको छ । यस्तो अवस्थामा निकट भविष्यमा सञ्चालन हुन लागेको भगवान बुद्ध एअरवेजलाई एनआरएनको साझा लगानीको परियोजनाका रुपमा अघि बढाउने सोंच छ । यसले नेपालको पर्यटन र समग्र आर्थिक विकासमा टेवा पुग्ने मेरो विश्वास छ । अहिले यो कानूनी प्रक्रियाको चरणमा छ । अनुमति लगायतका कानूनी पक्ष टुंगिएको ६ महिनाभित्र जापानबाट नेपाल सिधा उडान शुरु गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ ।

८. हालै सम्पन्न ग्लोबल सम्मेलनका अवसरमा नयाँ नेतृत्व चयन गर्न जापान टिमको भूमिका के कस्तो रह्यो ?

एनआरएन अभियानमा जापान शुरुदेखि नै अग्रस्थानमा रहेको कुरा सबैमा विदितै छ । यसअघि अध्यक्ष नै जापानबाट चुनिनुभएबाट पनि त्यो कुराको थप पुष्टि भएकै हो । एनआरएन जापानको एकताका कारण त्यो सम्भव भएको थियो । यसपटक पनि हामीहरु सन्तुलित नेतृत्व चयनमा सचेत भएर लाग्यौं । परिणाम पनि त्यस्तै आयो । जापानबाट मात्रै ९२ जना प्रतिनिधि भएका कारण हाम्रो भूमिका स्वभाविक रुपमा महत्वपूर्ण हुने नै भयो । त्यसकारण नै यस पटक कोषाध्यक्ष र एसिया प्यासिफिकको सहसंयोजक (किरणविक्रम थापा) जापानले पाएको हो ।

९. महासचिवमा त जापानका उम्मेदवारलाई जिताउन सक्नुभएन नि ?

जापानले चाहना राख्दाराख्दै पनि महासचिवमा डा. कुमार बस्नेतज्यूलाई जिताउन सकिएन । संसारभरमा सन्तुलन मिलाउनुपर्ने भएकाले नै परिणाम त्यस्तो आएको हो भन्ने मलाई लागेको छ ।

१०. एनआरएन आईसीसीको निबर्तमान कार्यसमितिको तुलनामा नव निर्बाचित कार्यसमितिमा जापानको उपस्थिति र प्रभाव कस्तो रहने अपेक्षा गर्नुभएको छ ?

यसअघि अध्यक्ष र प्रवक्ता नै जापानबाट हुनु भएकाले वर्तमान कार्यसमितिमा निर्वाचित कोषाध्यक्ष र क्षेत्रीय सहसंयोजकसँग पदीय हिसाबमा तुलना गर्न मिल्ने कुरै भएन । तैपनि जापानले यसपटक पनि दुई वटा महत्वपूर्ण जिम्मेवारी पाएको छ । हामी हाम्रो तर्फबाट गर्नसक्ने सबै प्रयास गर्ने नै छौं र जापानको उपस्थिति र प्रभाव कम हुन दिने छैनौं । यसका निम्ति हामी जापानबाट चुनिनुभएका आइसीसी सदस्यहरु र एनआरएन जापानको पूर्ण साथ, सहयोग र सल्लाहका साथ अघि बढ्ने छौं ।

११. परिबर्तित सन्दर्भमा सिंगो एनआरएन अभियानको आर्थिक ब्यवस्थापनको जिम्मेवारी अब जापानले पाएको छ यसलाई कसरी लिनुभएको छ ?

मैले अघि नै भनिसकेको छु कि म मेरो चुनावी प्रतिवद्धताअनुसार सचिवालयलाई सक्षम र काम गर्न सजिलो बनाउन एक कोषको खडा गर्ने योजनामा छु । त्यसैगरी एनआरएन भवन निर्माणको काम अघि बढ्ने छ । यसका निम्ति कार्यसमितिमात्रै नभएर विभिन्न देशका राष्ट्रिय परिषद र सबै एनआरएन मित्रहरुको सहयोगको अपेक्षा हामीले गरेका छौं । उठेको रकम र खर्चको विवरणलाई पारदर्शी बनाउने कुरामा म पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

१२. मुलुकमा आर्थिक क्रान्तिको प्रमुख एजेण्डा बोकेको दल अहिले सरकारमा छ, एनआरएनले पनि आर्थिक समृद्धिकै एजेण्डा बोकेर एक दशकदेखि लगानीको वातावरण भएन भन्दै आईरहेको छ अबको परिस्थितिमा लगानीको वातावरण कस्तो देख्नुहुन्छ ?

अब पनि मुलुकले आर्थिक क्रान्तिलाई नै केन्द्र विन्दुमा राख्न सकेन भने हामी धेरै पछाडि पर्छौं । अहिले ढिलै भए पनि राष्ट्रको आँखा खुलेको अवस्था छ । सरकारले आगामी वर्षलाई लगानी वर्षको घोषणा गरेबाट यसको पुष्टि भएको छ । त्यसैले कुनै एउटा दलको सरकार बने पनि वा धेरै दलहरु मिलेर सरकार चलाए पनि देशलाई समृद्ध बनाउने खालको आर्थिक नीति तय गरेर काम गर्नुपर्छ । हामी त नेपाली भएका कारण जे जस्तो अवस्था भए पनि देशका लागि भनेर लगानी गरौंला तर हाम्रो मात्र लगानीले धेरै काम गर्न सकिँदैन । त्यसैले विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न सक्ने नीति नियम र विश्वासको वातावरण सिर्जना गर्न सक्नुपर्दछ । हामी एनआरएनहरु पनि लगानीका लागि वातावरण बनाउन चाहे जुनसुकै दलको सरकार भए पनि काँधमा काँध मिलाएर लागिपर्नेछौं । हामी त देशको अवस्था प्रतिकुल हुँदा पनि अनुकुल बनाउन प्रयास गर्दै लगानी भित्र्याउन प्रयत्नशील रहने छौं र आगामी दुईवर्षभित्र तथ्यले त्यो कुरा देखाउने गरी लागिपर्नेछौं । त्यसो नगरी हामी माथि लागेको काम नगर्ने हल्लामात्रै गर्ने भन्ने आरोपको खण्डन हुन सक्दैन ।

१३. एनआरएनले धेरै पहिलेदेखि उठाउदैं आएको मुद्धा सामूहिक लगानी भनेको के हो ? यसबाट सर्बसाधारण कसरी लाभान्वित हुन सक्छन् ?

हामीले भन्दैआएको सामुहिक लगानीको कुरा एकदमै सामान्य छ । प्रवासिएका नेपालीहरुको पहिलो पुस्ता आफैं विदेशमा स्थापित हुनलाई संघर्ष गरिरहेको अवस्थामा उनीहरुको एक्लो वा दुई चार जनाको लगानीले मात्रै देशले अपेक्षा गरेजस्तो लगानी भित्रिन सक्दैन । त्यसैले हामीले भनिरहेको के हो भने विभिन्न देशहरुमा छरिएर रहेका एनआरएनहरुबाट उनीहरुको लगानी गर्न सक्ने क्षमताअनुसार पैसा संकलन गर्ने र विभिन्न साना ठूला आयोजनाहरुमा लगानी गर्ने भन्ने हो । संयुक्त लगानीका लागि चाहिने कानुनी वातावरण सरकारले बनाइदिने हो भने यसरी काम गर्न सकिने सम्भावना निकै राम्रो देखिएको छ । मैले एनआरएन अभियानका क्रममा र आफ्नै व्यवसायिक भ्रमणहरुका क्रममा पनि भेटेका विभिन्न देशका एनआरएन मित्रहरु मिलेर केही काम गर्न पाए हुने भन्ने धारणा राख्नुहुन्छ । एक्लै ठूलठूला लगानी गर्ने हैसियत पनि छैन, अनि फरक ढंगका परियोजनाहरु सञ्चालन गर्ने व्यवस्थापकीय क्षमताको विकास पनि भएको छैन । यस्तो अवस्थामा हामीले सोचेको के हो भने नेपालका व्यवसायी मित्रहरु देशभित्रबाट लगानी गर्न सक्नेहरु व्यवस्थापकीय क्षमता भएकाहरु सबैलाई समेटेर काम गर्ने हो भने मात्रै मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न सक्छ । असजिलो अवस्थामा काम गर्ने भनेको रगतको नाता र माटोको माया भएकाहरुले मात्रै हो । मातृभूमिको थोरै भए पनि ऋण तिर्ने यो सुनौलो अवसर पनि हो । हामीले मेहेनत गरेर अलिकति मात्रै सकारात्मक बाटोमा देशलाई हिडाउन सक्यौं भने त लगानीको अवसर खोजेर बसेका संसारभरका लगानीकर्ताहरु आफै आइहाल्छन् । त्यसैले म यसै अवसरमा सबै एनआरएन मित्रहरुलाई के भन्न चाहन्छु भने गाउँगाउँका जिल्ला जिल्लाका क्षेत्र क्षेत्रका र सबै एनआरएनहरु मिलेर जे जति सकिन्छ लगानीका लागि तयार होऔं । देशको काँचुली फेरेर जस समेत पाउने अवसर नचुकाऔं ।

१४. सबैले प्रष्ट देख्ने र थाहा पाउने गरी अब एनआरएनले सबैभन्दा पहिले कुन क्षेत्रमा काम गरेर देखाउने योजना छ ?

अहिले हामीले जलबिद्युतको क्षेत्रमा लगानी शुरु गर्ने प्रतिवद्धता नै जनाइसकेका छौं । १०० मेघावाट सम्मको एउटा आयोजना छिट्टैै नै एनआरएनहरुको लगानीमा शुरु गर्ने हाम्रो लक्ष्य छ । प्राथमिकताका क्षेत्र त व्यवहारिकरुपमा सरकारले तय गरिदिनु पर्छ । सरकारको सहयोगी भूमिकाले नै हामीलाई थप उत्प्रेरित गर्ने हो । मलाई त के लाग्छ भने कोही पनि एनआरएनहरुले रहरले घर जग्गामा मात्रै लगानी गरिरहेका होइनन् । उनीहरुलाई लगानीका लागि अरु उपयुक्त र विश्वासिलो ठाउँ त चाहियो नि । विदेशमा यत्रो दुःख कष्टका साथ कमाएको पैसाको सही सदुपयोग गर्न त सबैलाई चाहना हुन्छ । त्यसैले सामुहिक लगानी पनि नडुब्ने ठाउँमा हुनुपर्‍यो । केही नभए पनि शुरुका दुइचारवटा ठूला परियोजनाहरु सफल हुन सके भने लगानीको त ओइरो लाग्छ जस्तो लाग्छ मलाई त । पैसा त देशभित्र पनि कम छैन नि । नभए किन यसरी जग्गाको भाउ बढ्थ्यो ? किन सडकको क्षमता भन्दा गाडीको संख्या बढी हुन्थ्यो ? शहरिया जीवनशैलीमा किन यतिधेरै परिवर्तन हुन्थ्यो होला र ! खाली पैसाको सही सदुपयोग हुन र देशमा अड्याउन सकिएको छैन ।

१५. ब्यवसायिक सफलतासँगै एनआरएन अभियानमा पनि थप सफलताको सिंढी चढ्दै हुनुहुन्छ, यसको रहष्य के हो ?

खोइ रहस्य त केही छ जस्तो लाग्दैन मलाई त । म सँधै तपाईंहरुकै बीचमा छु । खाली मेरो काम गर्ने तरिका, केही गर्नुपर्छ भन्ने भावना र आत्मविश्वासले नै मलाई तपाईले भन्नु भए जस्तो सफलताको सिंढी चढ्न सघाएको होला । मेहेनत, लगनशीलता, सकारात्मक सोचाइ र मिलनसारिता सफलताको लागि नभै नहुने कुरा हो भन्छन् । म पनि तिनै कुराहरुलाई जीवनको मार्गदर्शक सिद्धान्तका रुपमा लिने प्रयास मात्रै गरिरहेको छु । अहिलेलाई यतिमात्रै भन्नु उपयुक्त हुन्छ कि ।

१६. प्रवासमा रहेका ठूलो हिस्साका नेपालीहरु एनआरएनप्रति अझै आकर्षित हुन सकिरहेका छैनन् यसलाई अब नयाँ नेतृत्वले कसरी सम्बोधन गर्छ ?

यो एनआरएन अभियानमा जति आवश्यक छ त्यति आकर्षित भैरहेकै छन् होला जस्तो मलाई लाग्छ । नभए त यो अभियान संसारभरि फैलिएर यति ठूलो कसरी हुन सक्थ्यो र । यो अभियान अझै ठूलो भएको हेर्न चाहनुभएको तपाईको प्रश्नले नै बुझाउँछ । हामी त्यसतर्फ सदैव लागिरहने छौं । खासमा त सबै एनआरएन अभियानमा लाग्ने भन्दा पनि एनआरएन अभियानले सबैलाई समेट्न सक्नुपर्छ । सबैलाई एउटै कुराले वा अभियानले मात्रै आकर्षित गर्न सक्ने कुरा पनि भएन । उनीहरुका समस्याहरुलाई सम्बोधन गर्न सक्नुपर्छ । बाँकी त कार्यक्रमको आकर्षणले समेट्ने कुरा हो । जस्तै देश निर्माणमा योगदान दिनेगरी संयुक्त लगानीका योजनाहरु तयार भए भने त्यसमा लगानी गरेर पनि अभियानमा सहभागी हुन सकिन्छ । एनआरएनको पञ्जिकृत सदस्य हुनु र कार्यक्रममा सहभागी हुनु मात्रै सहभागिता हो भन्ने मलाई लाग्दैन । बाहिर बसेर एनआरएनको विरोध गर्नु पनि सहभागिता हुनु हो । त्यसो भएमा मात्र नेतृत्वमा बस्नेहरु सजग हुन सकिन्छ ।

१७. अन्तमा, बिदेशमा रहेका एनआरएनहरुलाई के भन्न चाहनुहुन्छ ?

थुप्रै कुरा भनिसकियो अझै धेरै भन्न बाँकी पनि छन् । तर कुरा मात्रै धेरै गरेर केही फाइदा छैन । एनआरएनको यो कार्यसमितिलाई काम गरेरै देखाउने चुनौति छ । हामी त्यसका निम्ति लागिपर्ने छौं । सम्पूर्ण एनआरएनहरुको साथ र सहयोगले नै हामीलाई हाम्रो साझा लक्ष्यमा पुग्न सघाउने भएकाले म सबैलाई एकजुट हुन र समृद्ध नेपाल निर्माणको हाम्रो साझा सपनालाई सार्थक बनाउन आजैदेखि लाग्नका लागि आह्वान गर्न चाहन्छु ।

तपाईको प्रतिक्रिया