बिहिबार, जेठ ३१, २०८१
Thursday, June 13, 2024

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएपछि राजनीतिकमा नयाँ तरंग पैदा भइरहेको छ । नेकपा एसका अध्यक्ष माधव नेपाल र उपेन्द्र यादवले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गरेकाले पार्टी विभाजन गर्न परेको विद्रोह गरेको सांसदहरूको तर्क छ । तर, त्यो कुरा स्वीकार्न उपेन्द्र यादव तयार छैनन् । सरकार ढाल्ने सूचना पाएपछि जसपा नेपाल विभाजनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले भूमिका खेलेको बताइन्छ । यसै सन्दर्भमा जसपा विभाजनको कारण, अबको परिस्थितलगायतको विषयमा केन्द्रित रहेर जसपाका केन्द्रीय अध्यक्ष अशोक राईसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

अचानक जसपा नेपाल फुटाएर नयाँ पार्टी खोल्ने निर्णयमा कसरी पुग्नुभयो ?
जसपा नेपालभित्र असन्तुष्टि पहिलेदेखि नै थियो । अहिले विस्फोट मात्रै भएको हो । नेतृत्वको एकात्मक र एकलौटी शैली सहन नसकेपछि विभाजनतिर लाग्यौँ । उपेन्द्रजीको अराजकता, एक्लै निर्णय गर्ने प्रवृत्ति, स्वेच्छाचारिता, एकलौटी गर्न खोज्ने, अलोकतान्त्रिक विधि अपनाउने क्रियाकलापले नै हामीले अलग भएका हौँ । आफूलाई मन नपरेको व्यक्तिलाई साइट लगाउने र एकलौटी रूपमा महाधिवेशन गर्ने उहाँको मनसाय थियो । अमेरिका उड्नुअघि अशोकजीलाई कार्यवाहक अध्यक्ष दिनुअघि आफूखुसी सबै निर्णय गरिसक्नुभएको रहेछ । त्यहीबाट पार्टी विभाजनको उत्पत्ति भएको हो । महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने परिपत्रमा उल्लेखित विषयवस्तुले विस्फोट गरायो । सबै साथीहरू असन्तुष्ट हुने अवस्था भयो ।

महाधिवेशन प्रतिनिधि छनोट नै मुख्य विवाद हो ?
यो पनि हो । आफ्ना अनुकूल मान्छे राख्ने । पार्टीमा दुःख र संघर्ष गरेका मान्छेलाई पाखा लगाउने काम भयो । यो त पार्टीका लागि घात हो । कति साथीहरू रिसाउनु भयो । निर्वाचान समितिमा पनि अध्यक्षनिकट, व्यवस्थापन समिति पनि उस्तै भयो । मधेस प्रदेशमा पनि पार्टी अध्यक्षलाई हटाएर अध्यक्षनिकट मान्छे ल्याउनु भयो । हामीले यसमा पनि सल्लाह दिएका थियौँ । ‘अध्यक्षज्यू अहिले उहाँलाई नलाऊँ’ भनेर पटक-पटक भनेका थियौँ । तर हाम्रो कुरा सुनुवाइ भएन । मधेसमा रामबाबु यादव अध्यक्ष हुँदा कति संगठन विस्तार गर्नुभएको थियो । पार्टी चलायमान थियो तर उहाँले बालकिशोर यादवलाई ल्याउनु भयो । मधेसमा हाम्रो पार्टीमा आस्था राख्ने मान्छेहरू बिच्किएका छन् । त्यसपछि पनि शंकाको वातावरण भएको थियो । हामीले कति ‘कम्प्रमाइज’ गर्न खोज्यौँ, तर अन्तिममा जनताका लागि विभाजित हुनुपर्ने अवस्थामा पुग्यौँ ।तर, उहाँले तपाईँहरूको व्यक्तिगत महत्वकांक्षा र आर्थिक चलखेल गरेर पार्टी फुटाएको आरोप लगाउनुभएको छ नि !
के व्यक्तिगत स्वार्थ राख्यौँ हामीले खै ? असन्तुष्टि व्यापक थियो । तर तयारी थिएन । मिलाएर जानकै लागि अगाडि बढेका थियौँ । सबै कुराको सम्भावना सकिएपछि विकल्प नहुने रहेछ । पार्टी बनाउन कति मिहिनेत गरेका थियौँ । पेवा जस्तो बनाएपछि अलग हुने निर्णय गर्यौँ । हामीले हल्ला गरेनौँ । गर्न अनुकूल पनि भएन, यहाँहरूलाई थाहा नै छ हल्ला गरेर केही काम बन्दैन । त्यसमाथि उहाँहरूले कांग्रेससँग मिलेर अर्को गठबन्धन बनाउँदै हुनुहुन्थ्यो भने हामीले पनि सुनेका हौँ । प्रधानमन्त्री माधव नेपाल बन्ने रे त्यो कुरा हामीलाई उहाँले पार्टीमा जानकारी गराउनुभएन । तर, त्यसको आधारमा मात्रै हामीले पार्टी विभाजन गरेको होइन । उपेन्द्रजीको व्यक्तिगत स्वेच्छाचारी र हैकमवादी प्रवृत्तिले पार्टी विभाजन भएको हो ।

तर, जसपा विभाजनमा प्रधानमन्त्री प्रचण्ड र ओलीको हात छ भनिन्छ ?
ओली र प्रधानमन्त्रीले हाम्रो दल कसरी विभाजन गर्न मिल्छ ? उहाँहरूकै सरकारलाई समर्थन गरेको दल किन विभाजित गर्नुहुन्थ्यो र ! राजनीति सानो सोचले हुँदैन । सरकारलाई दिएको हामीले समर्थन कायमै राखेका छौँ । जोसुकै सरकारमा बसोस् स्थिर सरकार हाम्रो चाहना हो । उपेन्द्रजी कांग्रेससँग मिल्न जानुभयो, महिनैपिच्छे प्रदेश सरकार पनि फेरबदल गरिराख्ने हो भने त संघीयता नै जान्छ नि ! व्यवस्था नै समाप्त हुन्छ । उपेन्द्र र माधवजी लाग्नुभएको थियो भन्ने हामीले पनि मिडियामा पढेको मात्रै हो । तर, हामी त्यस्तो गर्दैनौँ । स्थिर सरकार अनि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशलाई समृद्ध बनाउने पक्षमा लाग्छौँ ।

उपेन्द्र यादवले गल्ती सच्याएर वार्ता आउनुस्, मिलेर जाऔँ भनेर आह्वान पनि गरेका छन् । त्यो सम्भावना छ ?
हामीले हजार पटक तपाईँको गल्ती सुधार्नुस् र लोकतान्त्रिक विधि विधानबाट चलाउनुस् भन्दा मान्नुभएन । औपचारिक रूपमा ७ पटक विभाजन भइसकेको पार्टी हो यो । त्यस्तो हुँदा त उहाँ सुध्रिनुभएको छैन । त्यसैले आफैँ सुध्रिनुस् भन्ने मेरो शुभकामना छ ।

तपाईँ अनुभवी राजनीतिज्ञ पनि हो, वर्तमान संसदीय अभ्यासलाई कसरी लिनुभएको छ ?
अहिले हामीले गरिरहेको संसदीय अभ्यास स्वस्थ्यकर देखिन्न । पहिलो कुरा संविधान नै संसदीय र संघीय दुई शासकीय प्रणाली तथा मिश्रित निर्वाचन प्रणाली रहने गरी बनाइयो । यो सम्मिश्रण संविधानमा छ । यी एकापसमा नमिल्ने विषय हुन् । मिश्रित वा समानुपातिक निर्वाचनमा जाने हो भने राष्ट्रपतीय प्रणाली राखौँ, होइन भने मिश्रित निर्वाचनले राजनीतिक स्थिरता दिँदैन भन्ने विषय संविधानसभाकै बखत नेतालाई धेरै अनुरोध गरिएको थियो । अहिले अपनाएको शासकीय स्वरूप राष्ट्रपतीय र संसदीय दुबै होइन । केही विशेषता संसदीय राखेर समावेशिताका निम्ति मिश्रित निर्वाचन प्रणाली राखेर आइयो । त्यसो भएर जतिसुकै पवित्र आकांक्षा भए पनि संवैधानिक व्यवस्थाले नै अस्थिरताको विकार लिएर आएको छ । हामीले मुलुकमा ठुलो राजनीतिक परिवर्तन गरी लोकतन्त्र ल्याएका छौँ, त्यसको सुदृढीकरणका अभ्यासमा छौँ, तर हाम्रा नेताका मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ्न सकेको छैन । तर मेरो भनिरहँदा ‘मेरो देश’ भन्नेचाहिँ देखिन्न । उहाँहरूमा देशप्रतिको कर्तव्य मधुरो रहेको हो कि भन्ने महसुस हुन्छ ।प्रत्येक सरकारको प्राथमिकता सुशासन प्रवद्र्धन हो तर भ्रष्टाचार किन नियन्त्रण हुन सकेन ?
भ्रष्टाचार भनेको मनोवृत्ति हो । अन्त्यन्त सम्पन्न मुलुकका नेता र नेतृत्व पनि भ्रष्टाचारमा मुछिएको देखिन्छ । यो पैसाको लेनदेन मात्रै पनि होइन, नीतिगत भ्रष्टाचार पनि धेरै छ । यो पाप र लोभसँग सम्बन्धित छ । लोभी मनोवृत्ति भएका मानिस पाप गर्न पुग्छन् । भ्रष्टाचार प्रणालीगत रूपमा संस्थागत भएको प्रतिवेदन र सेवाग्राहीले बताइरहेका छन् । तलदेखि माथिसम्म कमिसनतन्त्र मौलाउँदो छ । अर्कातर्फ प्रत्यक्ष निर्वाचन प्रणालीले पनि भ्रष्टाचारलाई बढाउने काम भइरहेको छ । निर्वाचनमा विभिन्न शक्ति, व्यक्ति र प्रवृत्तिले खर्च गरिरहेका हुन्छन् । हालको निर्वाचन प्रणालीले पार्टीलाई पैसा चाहिने अवस्था सिर्जना गरेको छ । त्यसका लागि उद्योगी, व्यापारीबाट चन्दामार्फत खर्च जुटाइन्छ । चन्दा लिने र दिने भएपछि नेताहरू दबाबमा पर्छन् । सांसदबाट मन्त्री नबनाउने, स्वच्छ छवि भएका व्यक्तिलाई लैजाने व्यवस्था हुनुपर्छ । सरकारलाई स्थायित्व दिऔँ, भ्रष्टाचारलाई स्रोतमै रोकौँ भनेर संविधानसभामा म धेरै कराएँ । अहिले अभ्यासमा रहेको शासन प्रणाली ‘कक्टेल’जस्तो भयो, निर्वाचन पनि ठिमाहा बनाइयो । मिश्रित निर्वाचन प्रणाली विकृतिपूर्ण छ । यसले लेनदेनको अवसर गराउँछ । अब पूर्ण समानुपतिक प्रणाली अवलम्बन गर्नुपर्छ ।

तर तपाईँहरु बर्सौंदेखि ‘समृद्ध नेपाल’ नारा लगाइरहँदा देश युवाविहीन हुने अवस्था छ नि ! यहाँको राजनीतिप्रति अविश्वास किन ?
बेरोजगारी समस्या र रोजगारीको अभावले पनि विदेश जाने युवा–विद्यार्थीको संख्या बढेको छ । आजको संसार विज्ञान, प्रविधि, यातायातका हिसाबले जोडिएर एउटा गाउँ र परिवारजस्तो भएपछि आवतजावत बढ्यो । अहिले जो जहाँ पनि पुग्न सक्ने अवस्था बन्यो । विकसित मुलुकमा न्यूनतम तलब–सुविधामा काम गर्ने श्रमिकको अभाव भयो । उनीहरूले हाम्रा मानिसलाई रोजगारी दिन थाले, अर्कातर्फ हाम्रो अर्थतन्त्र पनि कमजोर भयो । तुलनात्मक रूपमा विदेश गएकाहरूले बढी पैसा ल्याउन थाले । त्यो व्यक्ति गाउँमा जाँदा फुर्तीफार्ती बढ्यो, अनि अरू पनि त्यसबाट लालायित हुन पुगे । ‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने मनोवृत्ति मौलाउँदै गयो । अनि ठूलो संख्यामा युवा–विद्यार्थी विदेश दौडन थाले । त्यसलाई रोक्न मनोवैज्ञानिक रूपमा देशप्रेम भर्नुपर्छ । अवसर यहीँ सिर्जना गर्नुपर्छ, अर्थतन्त्र सुदृढ गर्नुपर्छ । राज्य व्यवस्थाभित्रको ढिलासुस्ती, भ्रष्टाचार तथा सेवाग्राहीलाई हेप्ने र दुःख दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।

एउटा व्यक्तिले संकल्प गरेमा देशको विकास सम्भव छ भन्ने छिमेकी मुलुकहरुको प्रगतिबाट प्रष्ट हुन्छ । तपाईँहरुबाट पनि त्यहि आशा गरेका जनताले कहिलेसम्म निरास बनिरहने ?
मलेसिया र सिंगापुरको जस्तो उदाहरण विद्यमान शासन प्रणालीबाट नेपालमा एउटा व्यक्तिले गर्न र दिन सक्ने अवस्था छैन । राष्ट्रपतीय प्रणालीमा जाँदा आफूअनुकूलको मन्त्रिमण्डल बनाउन सकिन्छ । त्यस प्रणालीका आधारमा मात्र एउटा सज्जन, इमान्दार व्यक्तिको छनोट भएमा मुलुक बन्ने आधार तयार हुन्छ । अहिलेको प्रणालीमा एउटा नेता जतिसुकै सज्जन भए पनि केही लाग्दैन । खुट्टा तानेर लडाइदिन्छन् । शासकीय स्वरूपमा परिवर्तन गर्नैपर्छ । स्थानीय तहलाई पार्टी बाहिर राख्नुपर्छ । स्थानीय सरकारलाई सेवाग्राहीलाई सेवा उपलब्ध गराउन र विकास निर्माणमा संलग्न गराउनुपर्छ ।

अन्त्यमा, केही भन्नुछ ?
मतदाताले पनि मुलुकलाई सही ढंगले मार्गनिर्देश गर्न सक्ने नेतृत्व रोज्नुपर्छ । जनताले खोजिरहेको विकल्प उनीहरूको चाहनाअनुसारको नपर्ने हो कि भन्ने मलाइ लागेको छ । निरास नै हुनुपर्ने अवस्था छैन । मुुलुकले चाहेको जस्तो नेता मतका माध्यमबाट जन्माउनुपर्छ । त्यो क्षमता जनतामा छ । ती नै सर्वशक्तिमान् छन् । चित्त नबुझेका नेता र पार्टीलाई फालिदिने शक्ति उनीहरूमा छ । अब आम जनताले त्यो अस्त्र प्रयोग गर्न सक्नुपर्छ ।

तपाईको प्रतिक्रिया