काठमाडौँ- माओवादीको १० बर्षे सशस्त्र युद्धमा लागेकै कारण सयौँ कार्यकर्ता अझै बिचल्लीमा परेका छन् । कैयौँ घरवारविहीन छन् त कैयौँले परिवार गुमाएका छन् । तर, तिनै कार्यकर्ताको रगत पसिनाले सरकारमा पुग्नासाथ माओवादीभित्रै शक्ति र पहुँच भएका नेताहरूबीच पति-पत्नी पालो लगाएर मन्त्री बनाउने होड नै सुरु भएको छ ।
संविधानसभा निर्वाचनताकाबाटै सरकारी सेवा सुविधा र हैसियतका निम्ति सुरु भएको यस्तो होड झन्-झन् तीव्र बनेको छ । संविधानसभा निर्वाचनमा पहुँच भएका माओवादी नेताले पति भए पत्नी र पत्नी भए पतीले एक-अर्कालाई टिकट दिलाएका थिए भने समानुपातिक कोटामा राख्न पनि यस्तै होड भएको थियो ।
संविधानसभामा पनि अहिले माओवादीका झन्डै आधा दर्जन जोडी पति-पत्नी सभासद् छन् भने पारिवारिक नाताका सभासद् त कति छन् कति ! हुँदा-हुँदा लाज नै पचाएर पनि पति-पत्नी आलोपालो मन्त्री बन्न थालेका छन् ।
संविधानसभा निर्वाचनपछि माओवादी नेतृत्वमा बनेको सरकारमा डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी दुवैजना मन्त्री थिए । भट्टराई उपप्रधान तथा अर्थमन्त्री थिए भने यमी भौतिक योजना तथा निर्माणमन्त्री थिइन् ।
एउटै क्वार्टर प्रयोग गर्दा हुने भए पनि दुईटा सरकारी क्वार्टर लिएको विषयमा त्यसबेला पार्टीभित्रैबाट भट्टराईको आलोचना भएको थियो । उपाध्यक्ष भट्टराई र पोलिटब्युरो सदस्य यमी दुवै मन्त्री हुनुलाई धेरै अस्वाभाविक ठानिएको थिएन ।
तर, पछिल्लो समयमा माओवादीभित्र देखा परेको अन्तरसङ्घर्षले पति-पत्नी नै पालो लगाएर मन्त्री बनाउनुपर्ने बाध्यतालाई निकै तल्लो तहसम्म झारेको छ ।’ तीन गुटमा विभाजित पार्टीभित्र गुटको साख बचाउन र पहुँच राख्ने नेताको साथ कायम राख्न पनि त्यस्तो गर्नुपरेको बताइन्छ ।
यो परम्पराको थालनी अध्यक्ष पुष्पकमल दाहालबाटै भएको बताइन्छ । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल नेतृत्वका सरकारका बेला दाहाल र भट्टराईबीचको टकराव उत्कर्षमा पुगेको थियो । दाहालले भट्टराईलाई खुसी पार्न भट्टराईपत्नी यमीलाई १३ दिने मन्त्री बनाए । त्यति मात्र होइन, त्यही सरकारका बेला आफ्ना दुई हस्ती वर्षमान पुनलाई रिझाउन उनकी श्रीमतीलाई मन्त्री बनाए ।
पार्टीभित्रको विवाद मत्थर पार्नकै लागि तत्कालीन गृहमन्त्री पुनलाई राजीनामा गराएपछि उनकी पत्नी ओनसरी घर्तीलाई युवा तथा खेलकुद मन्त्री बनाइएको थियो । पुनलाई रिझाउन घर्तीलाई मन्त्री बनाएकोमा पार्टी पङ्क्तिबाटै दाहालको आलोचना भएको थियो । तर, अहिले फेरि दाहालले त्यो परम्परा कायम राखेका छन् ।
खनाल सरकारमा उनले आफ्ना स्वकीय सचिव शक्ति बस्नेतलाई स्वास्थ्यमन्त्री बनाएका थिए । फेरि उनैलाई दोहोर्याउन दाहालले प्रयत्न गरेको स्रोतले बतायो । तर, १३ दिने मन्त्रीबाहेकका अरूलाई दोहोर्याउने कुरामा प्रधानमन्त्रीले अनिच्छा देखाएपछि हिजोको विस्तारमा बस्नेतकी पत्नी सत्या पहाडीलाई मन्त्री बनाइएको स्रोतको दाबी छ ।
उनी अहिले शान्ति तथा पुनःनिर्माण मन्त्री भएकी छन् । त्यति मात्र होइन, वाईसीएल इन्चार्ज गणेशमान पुनलाई रिझाउन अध्यक्ष दाहालले उनकी पत्नी कमला रोक्कालाई युवा तथा खेलकुद मन्त्री बनाइदिएका छन् ।