मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

काठमाडौ – बडादसैँको नवौँ दिन आज शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मनाइँदैछ ।घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ ।

यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत अधिराज्यका विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र सप्तशती, पुटित पाठ गरिन्छ ।

शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन छ ।

अधिकांश ठाउँमा महाष्टमीको दिन दसैँघरमा बलि दिने र महानवमीको दिन मार हान्ने प्रचलन रहेको छ ।

पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ ।यस पर्वमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ ।

महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने प्रचलन छ ।

हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आजका दिन मात्र खोलिन्छ ।

हनुमानढोकाको दसैँघरलगायत कतिपय समुदायले महाष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ–आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाए । रासस

तपाईको प्रतिक्रिया