शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – विगत १७ वर्षदेखि नेपालमा रहेर समाज सेवामा क्रियाशील रहँदै आएकी जापानी नागरिक मिका ताकागी (सुन्दरी मिका) ले नेपालको परिवर्तित माद्यामिक शिक्षा प्रणालीबाट आउन सक्ने संभावित परिणाम बारे चिन्ता ब्यक्त गरेकीछिन् ।

विपन्नताका कारण समान शिक्षाको अवसरबाट वञ्चित नेपालका पिछडिएका बालबालिकाहरुका बारेमा रिसर्च गर्दै आएकी मिकाले माद्यामिक शिक्षाको फलामे ढोका मानिने एसएलसी परीक्षा प्रणाली खारेज गरी २०१६ बाट सुरु भएको एसइइ (माद्यामिक शिक्षा परीक्षा) प्रणाली लागु भएपछि विद्यार्थीहरुको नतिजा ग्रेडिङ सिष्टममा आउने हुँदा उत्कृष्ट ग्रेडमा नतिजा ल्याउन नसक्ने विद्यार्थीहरुहरुको संख्या अझ बृद्धि हुन सक्ने र उनीहरु उच्चशिक्षा हासिल गर्नबाट र रोजगारी लगायत अन्य उपयुक्त अवसरबाट वञ्चित हुनुपर्ने विकराल अवस्था आउन सक्ने बताईन् ।

गायिका सुन्दरी मिकाको नामले नेपालमा चिरपरिचित मिकाले नेपालका दुरदराजमा रहेका आर्थिक अवस्था कमजोर भएका समुदायमा शिक्षाको महत्व बारे जनचेतना जगाउन र त्यहाँका बालकालिकाहरुलाई शिक्षाको क्षेत्रमा सवल बनाउन ’तेराकोया प्रोजेक्ट’ सुरु गर्ने योजना रहेको बताईन् । आफ्नो प्रोजेक्ट मार्फत विपन्न तथा अध्ययनमा कमजोर विद्यार्थीहरुका लागि सानै तहदेखि अतिरिक्त (ट्युशन) कक्षाको ब्यवस्थापन गरी सबल बनाउन सकिने धारणा ब्यक्त गरिन् ।

शुक्रबार वासेदा युनिभर्सिटीमा भएको नेपालको शिक्षा प्रणाली र सर्बसाधारणको पहुँच बिषयक एक सेमिनारमा बोल्दै मिकाले रिसर्चको सिलसिलामा नेपालमा विभिन्न गैरसरकारी संघसंस्थाहरुले विपन्न वर्गका लागि शिक्षामा समान पहुँच दिलाउन विभिन्न ढंगले काम गरिरहेको पाईए पनि त्यो पर्याप्त नभएको बताईन् । उनले विभिन्न क्षेत्रका विद्वत जापानीहरु मिलेर एउटा शैक्षिक गैरसरकारी संस्था निर्माण गरी आफ्नो प्रोजेक्टलाई अगाडि बढाउने तैयारीमा रहेको खुलासा गरिन् ।

जीवनको सबैभन्दा ऊर्जाशील लामो समय नेपालको हित हुने कार्यका लागि खर्च गर्दै आएकी मिकाले विपन्न बालबालिकाहरुलाई शिक्षामा पहुँच दिलाउन विभिन्न माध्यमबाट योगदान गर्दै आएकी छिन् । उनले निम्न आय भएका नेपालीहरुलाई आफ्ना सन्तानको शिक्षाका लागि थोरै थोरै भए पनि आफ्नो आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्न माइक्रो फाईनान्स प्रोजेक्ट पनि सञ्चालन गर्दै आएको बताईन् ।

सेमिनारमा बोल्दै अर्का वक्ता टोकियो युनिभर्सिटीमा नेपालका दुर्गम जिल्लाहरुमा विद्यमान शिक्षामा असमान पहुँच र यसबाट पर्ने दीर्घकालिन असर बिषयमा विद्यावारिधी गर्दै गरेका दिनेश रताला जोशीले नेपालमा सरकारी, निजी र सामुदायिक गरी तीनथरिको विद्यालयहरुबाट विभेदपूर्ण शिक्षा प्रदान गरिने भएकोले सोहीअनुसारको विद्यार्थीहरु उत्पादन हुने गरेको बताए ।

महंगा र सुविधा सम्पन्न विद्यालयमा अध्ययन गरेका सम्पन्न परिवारका विद्यार्थीहरुले गुणस्तरिय शिक्षाका कारण राम्रा अवसरहरु पाउने गरेको र सरकारी विद्यालयबाट शिक्षा आर्जन गरेकाहरु विद्यार्थीहरुले सन्तोषजनक परिणाम हासिल गर्न नसक्दा राम्रा अवसरहरुबाट वञ्चित हुनुपरेको अवस्थामा सुधार आउनुपर्नेमा जोड दिए।

आवश्यक भौतिक संरचनाको अभाव, ल्याव, पुस्तकालय, कम्प्युटर शिक्षा आदिको अभाव, शिक्षकहरुमा देखिने कर्त्तब्यप्रतिको उदासिनता, राजनीतिक गतिबिधि जस्ता कारणले सरकारी विद्यालयहरुले गुणस्तरिय शिक्षा प्रदान गर्न नसकेकै कारण जनबिश्वास खस्कदैं गएको जोशीले बताए । अन्यत्र कतै अवसर नपाएपछि शिक्षक पेशा रोज्ने सँस्कार, शिक्षकहरुमा नियमित दक्षता अभिबृद्धि गर्ने ब्यवस्था नहुनु, शिक्षण संस्थाहरुमा सम्बन्धित निकायबाट नियमित र प्रभावकारी अनुगमन नगरिनु जस्ता कारणले विद्यार्थीहरुको भविष्यमाथि अन्यौलता सिर्जना गरेको जोशीले बताए । समुदायको सामुहिक लगानी वा ब्यक्ति बिशेष या संस्थाको लगानीमा खोलिएका अर्को एकथरिको सामुदायिक विद्यालयहरुले पनि नेपालमा शिक्षा दिईरहेको अवस्था रहेको बताउँदै जोशीले भने – शिक्षामा सबैको समान पहुँच र समान गुणस्तर कायम गरिनु आवश्यक छ, नत्र एउटै समुदायका फरक फरक विद्यालयले उत्पादन गरेका विद्यार्थी कोही अमेरिकाको बिश्वप्रसिद्ध विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न योग्य हुन्छन् भने कोही खाडी र मलेसियातिर जान बाध्य हुन्छन् ।’

यसैगरी चुदा युनिभर्सिटीको अन्तर्राष्ट्रिय सम्बन्ध र बहुसाँस्कृतिक समन्वय कोर्स अन्तर्गत अध्ययन भ्रमणमा सहभागी भएर आएकी साकी योकोउचीले नेपालको अनुभव सुनाएकी थिईन् । उनले नेपालको विकट गाउँबस्तीका किशोरीहरु उमेर नपुग्दै विवाह गर्ने गरेको, मागी विवाह, बेमेल बिबाह प्रथा अझै कायम रहेको, शिक्षामा छोरा र छोरीबीच विभेद हुने गरेको बताईन् । परिवारमा छोरा जन्मदा खुशी मनाउने र छोरी जन्मिदा दुखी हुने सँस्कार अझै कायम रहेको आफुले पाएको उनले बताईन् । बिशेषगरी नेपाली महिलाहरुमा शिक्षाको महत्व वारे जनचेतना जगाउनुपर्नेमा उनले जोड दिईन् ।

नेपालको माध्यामिक तहको शैक्षिक गुणस्तर र शिक्षामा विद्यार्थीहरुको असमान पहुँचका कारण उत्पादन हुने फरक फरक क्षमताका जनशक्ति र यसले पार्ने दीर्घकालिन असरका बारेमा चर्चा गरिएको सो सेमिनारमा विभिन्न युनिभर्सिटीमा अध्ययनरत नेपालको बारेमा रिसर्च गरिरहेका जापानी विद्यार्थी, युनिभर्सिटीका प्रोफेसर, लामो समयदेखि नेपालको बारेमा नजिकबाट अध्ययन गरिरहेका विभिन्न क्षेत्रका जापानी तथा केही नेपालीहरुको सहभागिता रहेको थियो ।***

तपाईको प्रतिक्रिया