सपरिवार बेलायतमा बस्दै आएका बेलायती सेनाका अवकाश प्राप्त लाहुरे हुन् रगप्रसाद पुर्जा । अवकाश प्राप्त बेलायती सेना अर्थात गोर्खाज र उनका परिवारका लागि बेलायती नागरिकसरहको सेवा सुविधा दिलाउन भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) ले चालेको लामो र साहसिक लडाईमा होमिएका एक बफादार सिपाही पनि हुन् उनी । ब्रिटिस सेनाबाट अवकाश प्राप्त लाहुरेहरुको हकअधिकारका लागि सन् १९९० मा गेसो स्थापना भएको हो । १७ बर्षे बेलायती सेनाबाट अवकाशपश्चात उनी पनि गेसोमा आबद्ध भई आफुलगायत आफुजस्ता हजारौ भूतपूर्वहरुको हकहितका लागि चालिएको अभियानमा सक्रिय भूमिका निर्बाह गर्दै आएका छन् । गेसोका अध्यक्ष पदम गुरुङको नेतृत्वमा गोर्खाहरुको मागलाई बेलायतका उच्च निकायहरुसम्म पुर्याई पुरा गराउनमा उनको पनि उत्तिकै मिहिनेत र सहकार्य रहेको छ । जसका कारण आज हजारौ गोर्खाहरु परिवारसहित निर्बाधरुपले बेलायतमा बसोबास गर्न र आकर्षक बृद्धाभत्तासहित जीवनको उत्तरार्धका दिनहरु आरामसंग बिताउन पाईरहेका छन् । गेसोको पहलमा यसका सँस्थापक अध्यक्ष पदम गुरुङ, चन्द्र गुरुङ र रगप्रसाद पुर्जाजस्ता निस्वार्थी र साहसी योद्धाहरुका कारण आज गोर्खाहरुको अधिकाँश मागलाई बेलायती सरकारले सम्बोधन गर्न बाध्य भएको छ । यद्यपि गेसोको आन्दोलन अझै पुरा नभएको उनी बताउँछन् ।
को हुन् त रगप्रसाद पुर्जा ?
धवलागिरी अञ्चलको एउटा लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दी जिल्लाको अर्मन गाबिसको छिस्बाङमा जन्मेका उनी कलिलो उमेरमै अर्थात सन् १९८५ को फेब्रुअरीमा ब्रिटिस सेनामा भर्ती भएका थिए । लाहुरेको छोरा लाहुरेनै हुनुपर्ने पुरानो मान्यतालाई पछ्याउँदै उनी पनि आफ़्ना पितामाता र परिवारको ईच्छाअनुसार जुंगाको रेखी पनि बस्दानबस्दै भर्ती भएका थिए । माद्यामिक तहको शिक्षा लिदै गर्दाको समयमा स्कुलेझोला एकातिर मिल्काएर उनको जीवनले नयाँ मोड लियो र उनी होमिए कडा फौजी शासन भएको बेलायती सैनिक जीवनमा । ती दिनहरु सम्झदैं उनी भन्छन् – आफ़्नो स्वरोजगारका लागि लाहुरेजीवन त रोजियो, संसार बिर्सेर ज्यानको बाजी थापेर राईफलको इशारामा कैयौं वर्ष बिताईयो, तर जीवनमा पढ्ने धोका सँधैको लागि अधुरो रह्यो यो पींडाले सँधैभरि एकनाशले चिमोटीरहन्छ ।
उनी थप्छन् – म जस्ता थुप्रै युवा शक्ती पराईका लागि जीवनभर समर्पित भए, त्यति मात्रै हैन त्यत्रा ६० हजार नेपाल आमाका होनहार छोराहरुले ज्यान गुमाउनुपर्यो । यो सबै लाहुरे प्रथाले गर्दा भएको हो । यसले हाम्रो देशलाई पनि धेरै पछाडि धकेलेको छ ।
गेसो बारे उनी के भन्छन् ?
अवकाश प्राप्त बेलायी सेनाहरुको संस्था गेसोले लिएको पहलकदमी र यसका मुद्धाबारे उनी भन्छन् – गेसोसंग फरक मत राख्ने केहि भूपुहरु पनि हुनुहुन्छ तर बिस्तारै उहाँहरु पनि गेसोको नीति तथा कार्यक्रम मन पराएर सम्माहित हुन आउनुहुन्छ भन्ने कुरामा हामी ढुक्क छौं । त्यसैले म त भन्छु – कुनै पनि कुरा चुस्तदुरुस्त, बलियो र परिपक्व हुनका लागि बिरोध गर्नेहरु पनि आवश्यक पर्दछ । गेसोले उठाउँदै आएको मुद्धाहरुमा समान पेन्सनको अधिकार, क्षतिपूर्ति, सबै भूपु र भूपुका छोराछोरी युके जान पाउने र बालबच्चाहरुका लागि शिक्षादिक्षाको ब्यवस्था गरिनुपर्ने लगायतका रहेका छन् । यसका लागि हामी अझै निरन्तर लागिरहेका छौं । उसो त गेसोले गर्दा नेपालको जनशक्ती र पूँजी विदेश पलायन भएको आरोप लगाउनेहरु पनि नभएका होइनन् त्यसबारेमा पुर्जाको धारणा यस्तो छ – प्रगतिभन्दा बिकृति मात्रै देख्नेहरुले त्यसो भन्नु स्वभाविकै हो त्यसो भन्दैमा गेसोले चालेका सबै कदम सहि हो म पनि भन्दिन किनभने त्यही अमृत कसैका लागि बिष बन्न पनि सक्छ तर बिष बनेपछिको दोष भने गेसोको हैन ।
गेसोको आन्दोलनबाट बेलायत सरकारले आप्रवासी माग पुरा गरेपछि युकेमा गएका भूपुहरुको यदाकदा सुनिने विचल्लीका घटना बारे उनी भन्छन् – यदाकदा त्यस्तो पनि होलान तर त्यत्रा २० हजार भूपूहरु गएका छन् ति भूपूका शाखा सन्तान समेत गरेर ५० देखि ६० हजार पुगेहोलान् ति सबै भूपूहरुले पेन्सन र वृद्धभत्ता मासिक रु एक लाख ५० हजारको हाराहारीमा पाईरहेका छन् । त्यति पाएर पनि कोठाभाडा, यातायात, स्वास्थ्य र शिक्षा निःशुल्क छ, खर्च हुने भनेको त खाना मात्रै हो । तथापि गेसोको बारेमा बेलाबेलामा उठ्ने गरेका टिकाटिप्पणी बारे उनी भन्छन् – बिरोधनै गर्नु छ भने बुझेर मात्रै बिरोध गरुन् भन्ने चाहान्छु म । खाँटी कुरा हामी सबैले बुझनु जरुरी यो छ की हामी जस्ता युवा शक्तिलाई रोजगार दिने नाममा ब्रिटिस सरकारले हाम्रो गरिवी र पछौटेपनको फाईदा उठाउँदै प्रत्यक्ष वा अप्रत्यक्षरुपमा मुलुकलाई चरम शोषण गरेको छ । गेसोको आन्दोलन कुनै सीमित परिधि र कसैका स्वार्थका लागि हैन सिंगो राष्ट्र र ३ करोड नेपालीका लागि हो । त्यसैले त मैले भन्ने गर्छु ‘गेसोसंग जोडेर मलाइ गाली गर्नु नै छ भने म जिउँदो हुंदै गर ।’
गेसोलाई माओवादी समर्थक हो भन्ने अर्को संगीन आरोप पनि छ, कतिपयले यो माओवादीको निर्देशनमा चलेको छ भनेर पनि भन्ने गर्छन तर यसको ठाडै इन्कार गर्दै उनी भन्छन् – ‘हैन यो सरासर झुटो हो, गेसो नेपालको कुनै पनि राजनैतिक दलको निकट वा टाढा छैन । गेसोले मुलुकका सबै दलहरुसंग समान र मैत्रिपूर्ण सम्बन्ध राख्दै आएको छ । कुनै मुद्धाहरु माओवादीसंग मेल खाएहोलान् तर त्यो संयोग मात्र हो ।
अबको एक बर्षभित्रमा सालिमे डाँडामा गोर्खा स्मारक
गेसोको आन्दोलन भनेको आफ़्नो मुद्धाको किनारा लागेपछि समाप्त हुने भन्ने हुँदैन यो निरन्तर चलिरहने पक्रिया हो रगप्रसाद अगाडि भन्छन् – गेसोको सक्रियतामा स्याङ्जाको सालिमे डांडामा गोर्खा स्मारक तथा संग्रहालय बन्दैछ । जहाँ पहिलो र दोस्रो बिश्वयुद्धमा अमूल्य जीवन गुमाएका ६० हजार भन्दा धेरै पुर्खाहरुको सम्मान र स्मरणमा स्मारक खडा गरिदै छ । जहां स्मारक मात्रै हैन भ्यू-टावर र संग्रहालय पनि बन्दै छ । संग्रहालयमा तीन करोड स्वभिमानी नेपाली जनता र १९ जातीय भावनालाई आत्मसाथ गर्दै १९ जातजातिकै सँस्कृति झल्काउने घरहरु संग्रहालयको रुपमा बनाईने छ । सालिमे डाँडामा ३ सय रोपनी जग्गामा बन्दै गरेको सो स्मारक राष्ट्रिय सम्पदाको रुपमा खडा हुने छ भने फेवातालदेखि सालिमे डांडासम्म छुकछुके रेलको पनि व्यवस्था गरिने अर्को योजना पनि रहेको छ । सन् २०१२ डिसेम्बर ५ मा नेपालका वरिष्ठ हांस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले शिलान्यास गर्नुभएको उक्त स्मारक अबको एक बर्षभित्रमा उदघाटन गर्ने योजना छ ।
अन्तमा मेरा भावनाहरु समुद्रपारि डट कम मार्फत आम नेपालीमाझ पुर्याउने अवसर दिनुभएकोमा हार्दिक धन्यबाद ब्यक्त गर्न चाहान्छु । ***