सरगमलाई झनक्क रिस उठ्छ । विनाकारण प्रश्न सोधिरहँदा चिन्नु न जान्नु ढुंगाले हान्नु भन्या यही हो । यो मोरोलाई के को चासो मैले जोसँग कुरा गरेपनि ? व्यर्थै अल्मल्याइदिन्छ । मनमनै गाली गर्छिन् त्यो बटुवालाई । केही भन्नुभो ? बटुवाले फेरि सोध्छ । केही होइन । सरगम जवाफ दिन्छिन् । अनि के भने त उनीहरुले ? तपाईले मेरो प्रश्नको जवाफ नै दिनु भएन नि । बटुवाले फेरि कोट्याउँछ ।
अब सरगमको रिसले सीमा नाघ्छ । तैपनि सम्हालिँदै जवाफ दिन्छिन् – यी चट्टानै चट्टान भएका पहरालाई कसैले हेर्दैनन्, सबैको नजर परोस् भनेर तपाई हामी जस्तै थुप्रै बटुवालाई लोभ्याउन फुलेका होलान् । साँच्चै ? बटुवा आश्चर्य भावमा बोल्यो – मैले त उनीहरु बोलेको सुनिनँ नि । फेरि सोध्नुस् न, म पनि सुन्छु ? अब भने सरगमलाई आफू पागल भनेको त आफूभन्दा पागल उक्त बटुवा छ जस्तै लाग्यो ।
उनीहरु बोलेको सुनिँदैन, अनुभूत गरिन्छ । उनीहरु बतास भएर बोल्छन् । सुसेली भएर खेल्छन्, अनि छायाँसँग शीतलता छर्छन्, जसलाई हामीले प्रत्यक्ष अनुभूत गरिरहेका छौ । सरगम अलि भावुक भएर भन्छिन् । तपाई प्रकृतिप्रेमी हुनुहुँदो रहेछ । बटुवाले पुनः भन्यो । हामी नै प्रकृतिका उपज हौं । प्रकृतिबाट नै हरेक प्राण सजीव भएको कुरा त तपाईलाई पनि थाहै होला । फेरि प्रकृतिसँग प्रेम नहुने त कुनै कुरा रहेन ।
त्यसैले प्रकृतिको भाषा बुझ्नुहुन्छ तपाई । बटुवाले केही बुझेजस्तै गर्यो । के तपाई बुझ्नु हुन्न र ? सरगमले सोध्छिन् । अहँ बुझेको भए त्यस्तो टुप्पामा होइन मैले टिप्न सक्ने ठाउँमा आएर फुल्नु ती गुराँसहरु ताकि एक अँगालो फूल टिपेर मेरी प्रियसीलाई लगाउन पाउँ भन्ने थिएँ । बटुवाको कुरा सुनेर सरगम निकै आक्रोशित हुँदै भन्छे – त्यसोभए तपाई कहिल्यै पनि उनीहरुलाई बुझ्नसक्नु हुन्न । किन ? बटुवाले पनि पड्किँदै सोध्यो । यस्ता गिद्धे आँखा र निर्दयी मनले कोमल फूल र त्यसका पत्र पत्रहरुलाई कहिल्यै बुझ्न सक्दैन । फूलको भाषा बुझ्न फूललाई माया गर्नुपर्छ । फुल्न दिनुपर्छ फल्न दिनुपर्छ । उनीहरुको कलिलो यौवनमा आँखा गाड्ने र चुँड्ने धृष्टता त्याग्नुपर्छ । उनीहरु फुल्नु भनेको उनीहरुको यौवन फुल्नु हो । यौवनमा प्रकृतिका हरेक जीवात्माभित्र अनगिन्ती रहरहरु हुन्छन् । ती रहरअनुसार जिउन पाउनु उनीहरुको अधिकारको कुरा हो । जसलाई तहसनहस पार्न प्रकृतिले मान्छे बनाएको होइन । ***