Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024
gagan thapaपछिल्लो पुस्ताका आइकन गगन थापाले निर्वाचनको परिणाममार्फत पनि आफ्नो लोकपि्रयता पुष्टि गरे। उनले काठमाडौं-४ मा उम्मेदवारी दिएका सबै दल एवं स्वतन्त्र उम्मेदवारले पाएको कुल मतभन्दा बढी मत प्राप्त गरे। त्यति मात्र होइन, उनले निकटतम प्रतिद्वन्द्वीले पाएको भन्दा १३ हजारभन्दा बढी मत ल्याए। अघिल्लो पटक समानुपातिक उम्मेदवार भएर संविधानसभा प्रवेश गरेका गगनले संविधानसभाका विभिन्न समितिमा रहेर काम गरेका थिए भने यसपटक आफ्नो दल नेपाली कांग्रेसको चुनावी घोषणापत्र लेख्न एवं नीति निर्माण गर्न महत्वपूर्ण योगदान दिएका थिए। आकर्षक भाषण गर्ने र आफूले बोलेको कुरा नफेर्ने थोरै नेतामध्ये गगन थापालाई प्रमुखताका साथ लिइन्छ। उनीप्रति आशावादी हुनेहरूले उनको आत्मविश्वासलाई बढी मन पराएको पाइन्छ। युवाहरूमा राजनीतिप्रति अरुचि जागिरहेका बेला गगनलाई भोट दिनेहरूको लर्कोमा युवा नै बढी हुनुले पनि उनको लोकपि्रयता आँकलन गर्न सकिन्छ। निर्वाचनअघि नै उनका भाषण एवं उनका अभियानहरू युटुबका साथै अन्य सामाजिक सञ्जालमा लोकपि्रय भएका थिए। निर्वाचनपछि उनलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने युवा अभियान पनि सुरु भएको छ। यस्ता अभियानबाट बेखबर गगन भने आफूलाई मत दिने नागरिकको घर-घर पुगेर धन्यवाद ज्ञापन गरिरहेका छन्। यही चर्चा र व्यस्तताका बीच साप्ताहिकले थापासँग लामो कुराकानी गर्न चाहेको थियो। अत्यन्त व्यस्त भए पनि उनले साप्ताहिकका लागि दुई घन्टा समय छुट्याए। यसपटक उनले युवाहरूको राजनैतिक वितृष्णाका बीच पनि निर्वाचनमा सक्रिय सहभागी हुनुको कारण मात्र खोलेनन्, आफ्ना भावी योजनाका विषयमा पनि खुलेर कुरा गरे।
सामान्यतः युवा पुस्ता राजनीतिलाई राम्रो मान्दैन। यति हुँदाहुँदै पनि हामीले देख्यौं, तपाईंलाई मत दिन भर्खर क्याम्पस पढ्न थालेका युवाहरू पनि लाइनमा थिए। यसको कारण के होला ?
सामान्यतः उम्मेदवारहरू घरदैलोमा मत माग्न जाँदा अभिभावकलाई खोज्छन्, घरका युवामाथि खासै ध्यान दिँदैनन्। मैले बुझेको छु, मेरो राजनीति मजस्तै युवामा केन्दि्रत हुनुपर्छ। यो बाटोमा म हृदयदेखि नै लागेको पनि छु। मैले अभिभावकहरूसँग त मत मागें नै, त्यो घरका सन्तानसँग पनि अन्तर्क्रिया गरे। आमा-बुवा जुनसुकै दलको भए पनि युवाहरूसँगको अन्तर्क्रियामा उनीहरूका प्रश्नको सामाना गरें र चित्त बुझाउने प्रयास गरंे। त्यसैले फरक दलमा विश्वास राख्ने घरका युवाहरूले पनि मलाई मत दिए।
युवा मतदाताका प्रश्न के रहेछन् ?
नेपाली जनताले हामीसँग मलाई भात खान देऊ, मलाई अहिल्यै जागिर लगाइदेऊ वा मेरो जीवन सम्पन्न बनाइदेऊ भनेका छैनन्। अझ युवाहरूले त त्यसो भनेकै छैनन्। म आफैं जागिर खान सक्छु, आफैं कमाउन सक्छु। केवल मलाई वातावरण देऊ भनेका छन्। उनीहरूले ठूलो माग गरेकै छैनन्। केवल शान्ति, संविधान र काम गर्ने वातावरण मागेका छन्। उनीहरूको प्रश्न यसैमा केन्दि्रत छ।
आफ्नो क्षेत्रबाट तपाईंले बहुमत पाउनुभएको छ, यति धेरै मत केका लागि दिए होलान् ?
गगनले केही गरिहाल्छ कि भनेर दिएको मत हो। यसलाई म ‘आशा’ को मत भन्छु। गगन भयंकर मान्छे हो, यसले सबैथोक गर्छ भनेर दिएको मत होइन। मैले ‘विश्वास’ को मत पाएको भन्ने लाग्दैन। म यो ‘आशा’को मतलाई ‘विश्वास’को मतमा रूपान्तर गर्न चाहन्छु।
‘आशा’ को मत भन्नाले ? 
मैले राजनीतिमा केही राम्रो गर्न खोजिरहेको छु भन्ने कुरा मलाई मत दिनेहरूले बुझ्नुभएको छ। यसैलाई मैले ‘आशा’ को मत मानेको छु।
अनि ‘विश्वास’ को मत कहिले प्राप्त हुन्छ त ?
जब मैले बोलेका कुरा पुरा गर्छु वा उहाँहरूको अपेक्षामा खरो उत्रन सक्छु। त्यो बेला विश्वासको मत प्राप्त हुन्छ। उहाँहरूको नजरमा खरो उत्रन मैले लामो यात्रा तय गर्नुछ।
प्राप्त भएका मत नेपाली कांग्रेसले पाएको हो कि गगनको व्यक्तित्वले पाएको हो ?
मेरो व्यक्तित्वले केही तलमाथि पार्‍यो होला। मुख्य कुरा नेपाली कांग्रेसको सिद्धान्तले पाएको मत हो। देशभरि नै यसअघि जुन मतलाई जनताले माथि ल्याएका थिए, त्यो मतले शान्ति र संविधान दिन सक्दैन र समाजलाई व्यवस्थित बनाउन सक्दैन भन्ने लागेर मतददाताले आफ्नो मतमा केही परिवर्तन गरेका छन्।
 
यसअघि संविधानसभामा धेरै युवा सभासद् थिए, यसपटकको निर्वाचनले तपाईं जस्ता केही युवाबाहेक पुराना नेतालाई रुचाएको देखियो, यसको कारण के होला ?
अघिल्लो पटकको निर्वाचनमा सुन्दा ठूला परिवर्तनझैं लाग्ने कुराहरू, तात्तातो भाषण, हुँकार, उत्तेजना, आवेग आदिको बोलवाला थियो। बाहुबल हुनेहरूले नै देशमा सकारात्मक परिवर्तन ल्याउँछन् कि भन्ने लाग्थ्यो। यस्तै कुरा गर्ने दलका युवाहरू सबैको आकर्षणका केन्द्र थिए, त्यसैले त्यस्ता युवा धेरै देखिए। यसपटक मतदाताले को कस्तो हो त्यो छुट्याए भन्ने लाग्छ।
तपाईंबाट जनताले आशा गरेर जुन मत दिएका छन्, केही दिनभित्रै त्यसको मूल्यांकन सुरु हुन्छ। कसरी काम सुरु गर्नुहुन्छ ?
मुख्यतः म संविधानका लागि मेरो दलबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न चाहन्छु। हिजो संविधानसभामा मैले निकै गर्न खोजें तर मेरो एकल प्रयास त्यति राम्रासँग कार्यान्वयन भएन। किनभने हिजो नेपाली कांग्रेसको अवस्था कमजोर थियो। त्योभन्दा पनि बढी शीर्ष नेताहरूको अधीनमा धेरै कुरा थिए। आज केही सहज छ र मेरो अनुभव पनि निकै बढेको छ। म सबैलाई मिलाएर संविधान निर्माणका महत्त्वपूर्ण काम गर्न सक्छु भन्ने विश्वास छ। मैले यसपटक नेपाली कांग्रेसको प्रारम्भिक घोषणापत्र तयार पारेको थिएँ, त्यसलाई कार्यान्वयन गर्नुपर्ने दायित्व पनि छ। म सबैलाई मिलाएर अघि बढ्न सक्छु भन्ने विश्वास छ।
तपाईंको दलले भर्खरका युवालाई नेतृत्वदायी भूमिका देलान् भन्ने विश्वास छ ?
म परीक्षा दिन तयार छु र उत्तीर्ण हुन सक्छु। परीक्षा भवनमै बस्न दिन्नँ भनेर पक्कै भन्नुहुन्न होला।
तपाईंलाई सरकारमा लाने कुरा पनि चलिरहेको छ, के भन्नुहुन्छ ?
मैले सबै विषयको तयारी गरेको छु। म जुनसुकै परीक्षा दिन तयार छु। म कुनै पनि भूमिका राम्रोसँग निर्वाह गर्न सक्छु। यो मतदाताहरूको आशालाई विश्वासमा बदल्ने अवसर पनि हो। यति हुँदाहुँदै पनि यसपटक संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ।
गगनलाई चाँडै सरकारमा वा नेतृत्वदायी भूमिकामा पुर्‍याउँदा ऊ अलोकपि्रय हुन्छ भनेर चिन्ता गर्नेहरू पनि छन्, के भन्नुहुन्छ ?
त्यो म मप्रतिको माया हो। म भूमिका निर्वाह गर्न सक्छु र त्यसमा राम्रो अंक ल्याउन सक्छु भन्ने लाग्छ, किनभने मैले राजनीति समाजसेवाका लागि गरेको हो। यो मेरो गरिखाने ठाउँ होइन, सेवा गर्ने अवसर हो।
तपाईंको गरिखाने पेसाचाहिँ के हो ?
गरिखाने पेसा धेरै हुन सक्छन्। यद्यपि धेरै रोजगार सिर्जना हुने भएकाले मैले कृषिलाई पेसा बनाएको छु। नेपाली खसीको उत्पादन बढी होस् भन्ने अभिप्रायले मैले मासु बिक्री केन्द्र खोलें। भारतबाट ठूलो मात्रामा माछा आउने भएकाले चितवनमा माछा उत्पादन र काठमाडौंमा बिक्री केन्द्र खोलेका छौं। हालै हामीले कृषि व्यवसायीलाई सहकारीमार्फत अघि बढाइरहेका छौं। कृषिलाई केन्द्रमा राखेर व्यवसाय गर्दा यसले पर्याप्त रोजगारी सिर्जना गर्ने देखेर यसमा हात हालेका हौं।
कतिपयले गगनको यो देखाउने पेसा मात्र हो भन्छन्, किन होला ?
राम्रा कुराभित्र पनि केही कमजोरी देखाउन सकिन्छ कि भनेर खोज्नु विपक्षीहरूको धर्म हो। चार जना मिलेर खोलेको यो व्यवसायमा मेरो २५ प्रतिशत सेयर छ। २५ प्रतिशत लगानी हुनु कसरी देखाउने कुरा हुन सक्छ ?
यही पेसा किन छान्नुभयो ?
नेपालीहरू विदेशमा १८ घण्टा काम गरेर नेपालमा पैसा पठाइरहेका छन्। यदि कृषिमा नाफा छ भन्ने विश्वास मात्र हुने हो भने यहाँ लगानी गर्नेहरू पनि प्रशस्त छन् र विदेशमा १८ घण्टा खट्नेले आफ्नै देशमा त्यति खट्न सक्छन्। यही सन्देश दिन पनि मैले यो पेसा रोजेको हो।
तपाईंको परिवार छ। उक्लँदै गरेको राजनीति छ। विपरीत कृषि पेसा छ, कसरी समय मिलाउनुहुन्छ ?
सकेसम्म मिलाइरहेको छु, तर व्यवस्थापन गर्न गाह्रो भैरहेको छ।
गगन थापा सबैतर्फबाट आदर्श हो ? के गगनका कमजोरी नै छैनन् ?
धेरै कमजोरी हुन सक्छन्। केही त म आफैंले पनि पहिल्याएको छु।
ती कमजोरी के-के हुन् ?
सबै कामका लागि समय व्यवस्थापन गर्न नसक्नु मेरो मुख्य कमजोरी हो। काम गर्ने धेरै योजना छ र त्यसलाई सहयोग गर्न चाहनेहरू पनि धेरै छन्, तर मैले सबैतिर समय व्यवस्थापन गर्न नसक्दा ती काम प्रभावकारी हुन सकेका छैनन्। अर्को कुरा, म आफू धेरै काम गर्छु तर अरूलाई सँगै लिएर हिँड्न सकिरहेको छैन।
आफूभन्दा ठूलालाई विश्वासमा लिन नसक्नु मेरो अर्को कमजोरी हो। मेरै पार्टीमा म काम गर्न सक्छु भन्ने सबैलाई थाहा छ, तर उहाँहरूलाई आफ्नो प्रभावमा पार्न नसक्नु वा मेरो काममा उहाँहरूलाई अघि बढाउन नसक्नु मेरो कमजोरी हो।
आगामी १० वर्षमा गगन राष्ट्रिय नेताका रूपमा उदाउँदै छ भन्ने धारणा छ, कस्तो लाग्छ ?
यो मप्रतिको सद्भाव हो। मैले काम गर्नुपर्छ र मेरा यस्ता कमजोरी हटाउनु्पर्छ। बाँकी कुरा भविष्यले निर्धारण गर्नेछ।
तपाईको प्रतिक्रिया