Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

को हुन पासाङ  ?

काठमाडौं – एकीकृत नेकपा माओवादीका नेता नन्दकिशोर पुन ‘पासाङ’ले संविधानसभा, संविधानसभामार्फत नयां संविधान, पहिचानसहितको संघीयता, समतामूलक समृद्धिलगायतका नयां नेपाल निर्माणको नीति एमाओवादीको भएका कारण त्यसको नेतृत्व पनि एमाओवादीले नै गर्न पाए मात्रै नयां नेपाल निर्माण सम्भव हुने बताउनुभएको छ । एमाओवादीका तर्फबाट संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार समेत रहेका नेता पुनले जसको नीति हो उसैले नेतृत्व गर्न पाए मात्रै नीतिको सही कार्यान्वयन हुन सक्ने पनि बताउनुभएको हो ।

चुनावी प्रचार-प्रसारअन्तर्गत क्षेत्र नं. ४ को गोल्फुटार-मण्डिखाटार क्षेत्रमा घरदैलो अभियानका क्रममा नेता पुनले मतदाताहरुसंग उक्त आग्रह गर्नुभएको हो । नेता पुनले पहिलेको निर्वाचनमा स्पष्ट बहुमत नभएका कारण संविधान निर्माण र सरकार सञ्चालनमा समेत अवरोध सिर्जना भएकोले यसपटक फेरि त्यही स्थिति आउन नदिन एमाओवादीलाई स्पष्ट बहुमत प्रदान गर्न पनि आग्रह गर्नुभएको थियो ।

नेता पुनले भन्नुभयो- ‘पहिलेको चुनावमा भोट बांडियो, भोट बांडिदा कसैको पनि स्पष्ट बहुमत आएन’, ‘देश निर्माणको चरणमा जसको नीति हो उसैले नेतृत्व गर्ने गरी बहुमत आयो भने स्थिर सरकारमार्फ् विकास र संविधानसभामा पनि संविधान निर्माणको काम सहज रुपमा अघि बढ्छ । नीति हाम्रो भएकाले नेतृत्व पनि हाम्रै हुनु आवश्यक छ, यसपटक भोट नबांडिदिनुहोला ।’ सोमबारको घरदैलो अभियानका क्रममा नेता पुनले गोल्फुटार, मण्डिखाटारलगायतका स्थानका जनतासंग प्रत्यक्ष भेटघाट गर्नुभएको थियो ।

को हुन पासाङ ?
Pasangएउटा सुपरिचित नाम हो, नन्दकिशोर पुन उर्फ पासाङ । नेपाल मात्र होइन विश्वभरका मान्छेले सुनेका छन् पासाङ नाम विभिन्न कोणबाट । पटकपटक मृत्युको मुखबाट फर्किएर नाफाको जिन्दगी जिइरहेको पासाङ समग्रमा जनयुद्धको प्रतीक हो । शोषित-पीडित नेपाली जनतालाई मुक्ति दिलाउने युद्धको फौजी कमाण्डरहरुमध्ये अग्रभागको कमाण्डर हो । जनयुद्धभर यो नाम चर्चामा रहिरहृयो । कुनै समय यस्तो पनि थियो माओवादी अध्यक्ष पछि चर्चामा आउने नाम नै पासाङ थियो ।

अहिले फेरि सर्बाधिक चर्चामा छ यो नाम । बुलेटको लडाईं जितिसकेको यो नामले त्यसबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न व्यालेट मोर्चाको अग्रभागमा छ । यथास्थितिवादी र पश्चगामी विचारका हिमायतिहरुसँग संविधानसभा निर्वाचनका लागि काठमाडौंबाटै प्रधिस्पर्धा गर्ने आँटका साथ मैदानमा छ । र, विजयको यात्रामा छ । उहां काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेसका गगन थापा र एमालेका निर्मल कुइकेललाई भारी मतअन्तरले हराउने तरखरमा हुनुहुन्छ । किनकी पासाङको अर्को नाम ‘कहिल्यै हार्न नजान्ने’ हो ।

जन्म र परिवार
नन्दकिशोर पुन ‘पासाङ’ले परिचित उहाँको वास्तविक नाम भने नन्दबहादुर पुन हो । पासाङ भने जनयुद्धले जन्माएको नाम हो । जनयुद्धको तयारी र सुरुआतको चरणमा लिफङबाट परिचित उहाँ पछि पासाङ बन्नुभएको हो । राङसी-९, रोल्पामा २०२२ कार्तिक ७ गते बुवा रामेश्वर र आमा मनसरा पुनको कोखबाट जन्मनु भएका उहाँ पाँच भाइमध्ये माइलो हो । उहाँका तीन दिदी-बहिनी हुनुहुन्छ । किसान परिवारका रामेश्वरलाई छोराहरु पढाउन निकै मुस्किल थियो । एकातिर धेरै सन्तान अर्कोतिर गाउँका ठालुहरुले सम्पत्ति खोसिदिनु । त्यसका बाबजुद पनि सबै छोराहरुलाई अध्ययन गराउनुभयो । प्यूठान अड्डाबाट सम्पत्ति पनि फिर्ता लिनुभयो ।

पासाङका जेठा दाजु इन्जिनियर, साइलो भाई उच्च माविको प्राचार्य, काइलो भाई शिक्षण पेशा छाडेर खेती किसानीमा हुनुहुन्छ । कान्छो भाई कमल भने अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुँदा राज्यले मारिदियो । पाँचै भाई छोरालाई रामेश्वरले त्यसबेला नै आइएभन्दा माथिको अध्ययन गराउनुभयो ।

शिक्षा दिक्षा
पासाङ आठ वर्षको हुँदा स्कूल भर्ना हुनुभयो । स्थानीय प्राविबाट तीन कक्षा उत्तिर्ण गरेपछि तत्कालीन निमावि राङसीमा भर्ना हुनुभयो र त्यहींबाट २०३७ सालमा ७ कक्षा उत्तिर्ण गर्नुभयो । माध्यामिक तहको अध्ययन पुरा गर्न सदरमुकाम लिबाङस्थित बालकल्याण माविमा भर्ना हुनुभयो । तर त्यहाँ उहाँलाई अवरोध भयो । प्रहरीले वारेण्ट जारी गर्‍यो । स्कूल प्रशासनको स्कूल वा राजनीति छाड्नुपर्ने चेतावनीपछि २०३९ सालमा ९ कक्षा पढ्न थबाङ पुग्नुभयो । त्यहींबाट २०४२ मा एसएलसी उत्तिर्ण गर्नुभयो । २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएर आइएसम्मको अध्ययन पुरा गर्नुभयो । शान्तिप्रक्रियापछि अध्ययनलाई पुनः निरन्तरता दिंदै राजनीतिशास्त्रमा स्नातकोत्तर सकाउँदै हुनुहुन्छ । त्यसबाहेक थुप्रै सैन्य शिक्षा हाँसिल गर्नुभएको छ ।

प्रारम्भिक विद्यार्थी राजनीति
२०३७ सालमा निमावि राङ्सीमा कक्षा ७ मा पढ्दा उहाँ अनेरास्ववियू छैठौंको इकाई अध्यक्ष हुनुभयो । त्यहींबाट दोस्रो जिल्ला सम्मेलनको प्रतिनिधि भएर जानुभयो । प्रहरीले अवरोध गरेपछि दिनभर ओडारमा लुकेर फ़र्कनुभयो । लिबाङमा पढ्दा शिक्षक कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुन थप प्रेरित गर्‍यो । महराको सरल स्वभाव र पढाउने शैलीले उहाँलाई आकर्षित गर्‍यो । संगठन बनाउन र कम्युनिष्ट आन्दोलनबारे अध्ययन गर्न पनि महराले प्रेरित गर्नुभयो ।

२०३९ सालमा अनेरास्ववियुको प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलन बुटवलमा भयो । लिबाङमा ८ मा पढ्दै गर्दा रोल्पा जिल्लाबाट प्रतिनिधि भएर पासाङ जानुभयो । सम्मेलनबाट लिलामणी पोखरेल अध्यक्ष भएको र खुसीराम पाख्रिनले गाएको गीत अहिले पनि सम्झना छ उहाँलाई । खुसीराम पाख्रिनको ‘अर्काको भारी बोकेर हामी उकाली ओराली, कहिले त खोला कहिले त भन्ज्याङ डाँडाको चौतारी’ पासाङ सम्झनुहुन्छ । सम्मेलनबाट फर्केपछि प्रशासनले वारेण्ट गर्‍यो । त्यसपछि ८ कक्षा उत्तिर्ण  गरी थप अध्ययनका लागि पासाङ २०३९ सालमा थबाङ जानुभयो । त्यहाँ पनि प्रहरीले पक्रेर तीन रात हिरासतमा राख्यो । २०४५ मा दाङमा क्याम्पस भर्ना भएर उहाँ मशाल समूहको अध्यक्ष हुनुभयो ।

शिक्षक पासाङ
एसलसी उत्तिर्ण पछि पासाङले पार्टीको कामको साथसाथै शिक्षण पेशा पनि अंगाल्नुभयो । २०४३ सालदेखि ९ वर्षसम्म पहिले आफूले पढेको निमावि राङसीमा अध्यापन गर्नुभयो, उहाँ जाँदा जुन मावि बनिसकेको थियो । अहिले उमावि बनेको छ । पूर्वमन्त्री जयपुरी घर्ती, नेकपा  माओवादीकी नेतृ तारा घर्तीलगायतलाई उहाँले पढाउनुभएको थियो । पूर्णकालिन भइसक्दा पनि अध्यापनको काम जारी राख्नुभयो । उहाँ स्थायी शिक्षक हुनुहुन्थ्यो ।

खेलाडी पासाङ
उहाँमा खेलकुदमा धेरै रुचि छ । विभिन्न खेलमा रुची भए पनि भलिबल उहाँको प्राथमिकतामा पर्छ । मावि लिबाङमा पढ्दै गर्दा उहाँले नेपालगञ्ज गएर भलिबलको क्षेत्रीय खेल खेल्नुभएको थियो । पछि उहाँ खेलकुद शिक्षक पनि हुनुभयो ।

वर्ग संघर्षमा पासाङ
बाल्यकालदेखि नै फौजी स्वभावका पासाङले वर्गसंघर्षमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । जुन संघर्षा जनयुद्धको आधार निर्माण थियो । दर्जनौं विपक्षीलाई लठ्ठीले एकसाथ प्रहार गर्नसक्ने उहाँको कला रोल्पामा अहिले पनि तारिफ हुन्छ, जुन कला उहाँको बुवाले सिकाउनु भएको हो । माओवादी पार्टी बन्दै तत्कालिन एकताकेन्द्रले २०४८ पछि वाइसिएललाई लडाकु दस्ता बनाएर वर्गसंघर्ष चलायो । त्यसबखत पासाङ वाइसिएलको रोल्पा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा थुप्रै फटाहाहरुलाई कारबाही भएको थियो ।

जनयुद्ध अगाडि नै टाउकाको मूल्य र गोली
प्रशासनले पासाङको टाउकाको मूल्य जनयुद्ध अगाडि नै तोक्यो, मूल्य थियो ३५ हजार । जहाँ भेट्यो त्यहीं मार्न भनेर प्रशासनले प्रहरी परिचालन गर्‍यो । माओवादीको पहिलो रोल्पा जिल्ला सदस्य भएपछि बढी टार्गेट गर्‍यो प्रशासनले । २०५१ को स्थानीय चुनावका बेलामा फक्रेर १५ दिन हिरासतमा राख्यो । मध्यावधी चुनावमा राज्य उहाँलाई मार्ने योजनामा लाग्यो । २०५१ मंसिर ९ गते गाउँको स्थानीय मेलामा (इरिबाङको चप्का) मा प्रहरीले पक्राउ गर्न खोज्यो, लठ्ठी चलाउन माहिर पासाङले प्रहरीलाई लठ्ठीले ढालेर भाग्दै गर्दा गोली चलायो । उहाँको पाखुरामा लाग्यो । तर बाँच्न सफल हुनुभयो । त्यसपछि प्रहरीले मेलामै लोकबहादुर घर्ती र मनबहादुर पुनको हत्या गर्‍यो ।

राजनीतिमा पासाङ
२०४६ सालमा पार्टी  सदस्य हुनुभएका पासाङ एकता महाधिवशेनबाट बनेको एकताकेन्द्रको सदस्य तथा युवक संगठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ सालदेखि पूर्ण कालिन भएर भूमिगत राजनीति सुरु गर्नुभयो । एकताकेन्द्र बनिसकेपछि भएको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन हुनुभयो । कृष्णबहादुर महरा सेक्रेटरी, सन्तोष बुढा, करुण, प्रताप र पासाङ रहनुभएको ५ सदस्यीय जिल्ला समिति बन्यो । जनयुद्धको तयारी गर्दा वाइसिएलको जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक हुनुभएका पासाङ होलेरी आक्रमण गर्दा उत्तरपश्चिम र दक्षिण कमाण्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमाण्डर हुनुभयो । होलेरी आक्रमणको कमाण्डर वर्षमान पुन ‘अनन्त’ हुनुहुन्थ्यो ।

पासाङ जिल्ला सदस्य, क्षेत्रीय व्यूरो सदस्य हुँदै माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र भारतको गोवामा बसेको बैठकबाट पोलिटव्यूरो सदस्य हुनुभयो । अहिले पार्टी अध्यक्ष र अरु सबै सदस्य हुने प्रणालीअनुसार उहाँ एकीकृत नेकपा माओवादी)को केन्द्रीय सदस्य हुनुहुन्छ । युवा व्यूरो इन्चार्ज, पूर्व पिएलए संघको संयोजकलगायतका राजनीतिक जिम्मेवारी उहाँमा छ ।

सफल कमाण्डर पासाङ
२०५२ मा जनयुद्धको थालनी भएको घोषणा गर्न गरिएको चारमध्ये होलेरी आक्रमणमा पासाङ सह-कमाण्डर हुनुहुन्थ्यो । रोल्पामा तीनवटा लडाकु दल थिए, ती सबैलाई मिलाएर माओवादीले स्वयमसेवक दल बनायो र त्यही दलले आक्रमण गर्‍यो । माओवादीले फौजी संरचनाको विकास गर्दै गयो, सबै संरचनाको कमाण्डर पासाङ बन्दै जानुभयो । माओवादीले विभिन्न दलहरुलाई स्क्वायडमा रुपान्तरण गर्‍यो, तीनवटा स्क्वायडको कमाण्ड उहाँले नै गर्नुभयो । २०५५ मा टास्कफोर्स बनायो, कमाण्डर पासाङ हुनुभयो । २०५६ मा प्लाटुनहरुलाई समेटेर कम्पनी बन्यो, त्यसको कमाण्डर उहाँ नै हुनुभयो । त्यसपछि सैन्य संरचनाहरु बढ्दै जाँदा बटालियन कमिसार, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर, डिभिजन कमाण्डर, डेपुटी कमाण्डर र जनसेना प्रमुख बन्नुभयो । माओवादीले निर्माण गरेको सदस्यदेखि सेना प्रमुखको जिम्मेवारी उहाँले पुरा गर्नुभयो ।

प्रमुख सैन्य कारवाहीहरु
पासाङ आफ्नो नेतृत्वमा आक्रमण गर्ने हो भने सबै योजना आफै बनाउनुहुन्थ्यो । परिपक्व तयारी गर्ने र हिम्मतका साथ लडाईंको नेतृत्व गर्ने कुशल नेतृत्व शैलीको अझै धेरैले प्रशंशा गर्छन् । उहाँको नेतृत्वमा भएको कुनै पनि लडाईं माओवादीले हारेन । त्यसैले पनि भनिन्छ,- पासाङ हार्न जानेको छैन । होलेरी आक्रमणमा सह-कमाण्डरबाट सुरु भएको लडाईं त्यसपछि भने प्रमुख कमाण्डर भएर लड्नुभयो । पश्चिम नेपालमा माओवादीले गरेको ठूलठूला लडाईं सबै उहाँकै नेतृत्वमा भएका छन्, जुन लडाईं माओवादीले अनिवार्य जितेको छ । प्रहरीमाथि भएको होलेरी -दोस्रो, झिम्पे, जेल्बाङ, लुहाम, महत, र्घर्तिगाउँ, तकसेरा, पाँचकटिया, रुकुमकोट उहाँकै नेतृत्वमा भएका हुन् ।

पहिलो सदरमुकाम कब्जा डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कब्जा कर्णालीको जुम्ला पासाङकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मंगलसेन, अर्घखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी कब्जा उहाँकै नेतृत्वमा भएका हुन् । रोल्पाको गाम, लिस्नेमा तत्कालीन शाही सेनालाई पराजित गर्दा पासाङ नै कमाण्डर हुनुहन्थ्यो । दुइपटक असफल भएको रुकुमको खारा आक्रमणको कमाण्ड उहाँले गर्नुभएको होइन ।

शान्ति-प्रक्रियाको नायक
शान्ति-प्रक्रिया टुंगिनुमा पनि पासाङको संयमताले धेरै काम गर्‍यो । दलहरुले जतिसुकै सहमति वा सम्झौता गरेको भए पनि पासाङले नचाहेको भए शान्ति-प्रक्रिया नटुंगिन सक्थ्यो । शान्ति-प्रक्रिया जारी रहँदाभर उहाँले जनसेनालाई संयमताकासाथ जिम्मेवार बनाएर राख्नुभयो । सातवटै डिभिजनका कमाण्डरले उहाँलाई साथ दिए । त्यसमा उहाँमा भएको सैन्य नेतृत्व कलाले काम गर्‍यो ।

राष्ट्रभक्त नेता पासाङ
पासाङ राष्ट्रियताप्रति बढी सम्वेदनशील हुनुहुन्छ । नेपालमा जे छ त्यसैमा विश्वास गर्ने, साधारण नेपालीले जे उपभोग गर्छन्, त्यही उपभोग गर्ने उहाँको बानी छ । अठार महिना अगाडि दुवै मृगौला काम नगर्ने अवस्थामा पुग्दासमेत सरकार र पार्टीले विदेशमा लगेर उपचार गर्न थालेको प्रयासलाई उहाँले अस्वीकार गर्नुभयो । उहाँ नेपालमै उपचार गर्ने, मर्नुपरे नेपालमै मर्ने तर विदेशमा गएर उपचार नगर्ने अस्पतालको आइसियू कक्षबाटै घोषणा गर्नुभयो, जतिबेला डाक्टरले अवस्था ‘क्रिटिकल’ भएको र दुवै मृगौला ८० प्रतिशत काम नगर्ने अवस्थामा पुगिसकेको बताएका थिए । मृगौला नाटकीय रुपमा ‘रिकभर’ हुनु उहाँमा भएको आँटले काम गरेको बताउँछन् डाक्टरहरु । नेपालका अस्पताल र नेपालका डाक्टरहरुप्रति आफ्नो पूर्ण विश्वास भएको उहाँले बताउनुभएको थियो । त्यसपछि उहाँलाई राष्ट्रभक्तको रुपमा लिइन्छ ।

दक्ष प्राविधिज्ञ
पासाङ सैनिक कमाण्डर तथा राजनीतिज्ञ मात्र नभएर दक्ष प्राविधिज्ञ पनि हुनुहुन्छ । जनयुद्धको चरणमा उहाँले ट्वेलबर, थ्री-नट-थ्री राइफल, एसमजीजस्ता हतियार बनाउनुभयो । थ्री-नट-थ्री राइफल उहाँले आफ्नै गाउँ छेउको एउटा आरणमा महिनौं लगाएर बनाउनुभएको थियो । पछि जनसेनाले जनसैन्य प्रतिष्ठान बनायो, अलग्गै प्राविधिक विभाग बनायो, त्यो विभागले हतियारहरुको आविस्कार पनि गर्दै गयो ।

साहित्यकार
उहाँको साहित्यमा पनि विशेष रुची छ । उहाँले थुप्रै फुटकर गीत तथा कविताहरु लेख्नुभएको छ । केही गीतहरु संगीतबद्ध हुन बाँकी छन् । वर्गसंघर्षको चरणमा उहाँले लेख्नुभएको ‘जनताहरु जाग्दैछन् जाग्दैछन्’ गीत चर्चित थियो । युद्ध उत्कर्षमा चढ्दै गर्दा उहाँले लेखेको ‘हामी राता मान्छे’, ‘हुरीका सन्तान हौं हामी..’ गीत निकै चर्चित रहे । शान्ति-प्रक्रियापछि उहाँले लेख्नुभएको पुस्तक ‘इतिहासको रक्तिम पाइला’ नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित भएको छ ।

बहुआयामिक प्रतिभाका धनी पासाङ अहिले सबैबाट रुचाइएका व्यक्तित्व हुनुहुन्छ । सबैभन्दा बढी काठमाडौंको क्षेत्र नं. ४ का मतदाताले रुचाएका छन् । मतदाताहरु पासाङको अरुसँग तुलना हुन नसक्ने बताउँछन् । पासाङ आफैमा परिवर्तनको एजेण्डा बोक्ने, त्यसका लागि भएको जनयुद्ध र जनआन्दोलनको नेतृत्व गर्ने एक यस्तो होनहार योद्धाको नाम हो जसले जीवनका आफ्ना सबै उर्जाशील समय देश र जनताका पक्षमा लगाएका छन् ।***

तपाईको प्रतिक्रिया