Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

devmanविदेशमा रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएन) को चर्चा जहिले पनि उत्तिकै छ । नयाँ नेतृत्व छनोटका लागि निर्वाचन हुने सम्भावना पनि बढेको छ । तर, एनआरएनको भूमिका के छ ? कस्तो हुनुपर्छ ? अहिलेको अवस्था के छ ? भन्ने विषयमा एनआरएनका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक  देवमान हीराचनसँगको  कुराकानी ।

एनआरएनको दोहोरो नागरिकताको कुरा कहाँ पुगेको ?
म एनआरएनको अध्यक्ष हुने बेलामा नै ६ पटक नेपालका नेताहरूसंग छलफल गरेको थिएँ । २७ वटा पार्टीले एनआरएनलाई दोहोरो नागरिकता दिने विषयमा सहमति जनाइसकेका थिए । दोहोरो नागरिकता पाउने विषय पनि नजिक नै थियो । वास्तवमा काम हुँदै गर्दा नयाँ कार्यसमिति आयो । नयाँ कार्यसमिति आएपछि फेरि एनआरएनलाई दोहोरो नागरिकता नदिने भन्ने कुरा चल्न थालेको छ । अर्को कुरा अस्ट्रेलियामा बस्ने एक नेपालीले एनआरएनलाई दोहोरो नागरिकता नदिने भनेर मुद्दा परेको छ । मुद्दा चलिरहेकै भएकाले दोहोरो नागरिकता पाउने विषय कठिन बन्दै गएको छ । दोहोरो नागरिकताको सवालको टुंगो लाग्न निकै समय लाग्न सक्छ । एनआरएनले दोहोरो नागरिकता पाउनका लागि भइरहेको प्रयास प्रर्याप्त छैन । अझै धेरै प्रयास गर्नु पर्छ । एक दुई दिनमात्रै प्रयास गरेजस्तो गरेर दोहोरो नागरिकताको सवाल टुंगिदैन ।
दोहोरो नागरिकता दिन नेपालका राजनीतिक दलहरू नै तयार छैनन् हामी स्वीकार गर्दैनौ भनिरहेको अवस्थामा दोहोरो नागरिकता सम्भव होला ?
खासमा दोहोरो नागरिकता दिने विषय त्यत्ति सजिलो छैन । सार्क देश बाहिर बस्नेहरूलाई मात्रै एनआरएन भन्ने गरिएको छ । एनआरएनलाई दोहोरो नागरिकता दिएको खण्डमा भारतमा बस्ने नेपालीहरूले पनि दोहोरो नागरिकताका लागि दाबी गर्न सक्छन् त्यस्तो अवस्थामा के गर्ने भन्ने प्रश्न नेपाल सरकार र यहाँका राजनीतिक दलहरूले छलफलमा राखेका थिए । भारतमा मात्रै झन्डै दश लाख नेपाली बस्छन् । कति चेलीको त बिहे नै भारतमा भएको अवस्था छ । उनीहरूले नि दाबी गर्न सक्छन् यसले राजनीतिक क्षेत्रलाई प्रभावित गर्न सक्छ भन्ने कुरा जोडदार रूपमा उठेको विषय हो । दोस्रो यस्तै दोहोरो नागरिकता लिएर अमेरिका वा अन्य देशमा चुनाव लड्न अनि हारेपछि फेरि नेपालमा आएर चुनाव लड्ने हो कि भन्ने प्रश्न पनि उठेको थियो, उठ्दै आएको पनि छ । वास्तवमा हामीले एनआरएनले त्यो भन्न खोजेका होइनौँ । हामीले जन्मको आधारमा पाएको नागरिकता हो । त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने हो । त्यो नागरिकता खोसिनु भएन भन्ने माग हो ।  राजनीतिक पार्टीहरूलाई पनि बुझाउन मेहनत गर्नु पर्छ । त्यति सजिलो छैन । बाहिर बसेर नागरिकता देऊ भन्दैमा नागरिकता पाइने अवस्था छैन ।
अर्को कुरा विदेशमा बसोबास गर्नेले पनि नेपालमा हुने संविधानसभाको चुनावमा पनि भाग लिन पाउनु पर्ने भनिरहेका छन् नि ?
खासमा भन्ने हो भने दुई किसिमको एनआरएन छन् । एउटा नेपाली मूलका नेपाली र अर्को नेपाली मुलको विदेशी नागरिकता । नेपाली मुलका विदेशी नगरिकताले अहिले तरुन्तै चुनावमा भाग लिन पाउँदैनन् त्यो सम्भव पनि छैन । तर, नेपाली मुलका नेपालीले त चुनावमा भाग लिन भोट हाल्न पाउनु पर्छ । त्यसमा विवाद गर्नु हुँदैन । तर, नेपाली मुलको नेपालीले जसले विदेशी नागरिकता लिएका छन् तिनीहरूका लागि भने सम्भव छैन । त्यसैका लागि दोहोरो नागरिकतालाई निरन्तरता दिनु पर्दछ भन्ने कुरा हो । त्यसका लागि अलि बढी मिहेनत गर्नु पर्दछ ।
एनआरएनभित्र पनि राजनीतिसँग नजिक भएका व्यक्ति आउन थाले भागवन्डा हुन थाल्यो भन्ने गुनासो त्यही भएर एनआरएनमा विवाद देखिएको भनिन्छ नि ?
१०–१२ वटा देशमा रहेका एनआरएनए शाखामा विवाद छ । त्यो यही भ्रातृ संगठनको प्रतिनिधित्व गर्दै चुनाव जितेकै कारणले विवाद भएको हो । एनआरएनको चुनावमा लड्दा नै भ्रातृ संगठनको प्रतिनिधित्व गर्दै लड्ने परम्परा बसेको छ । यसले एनआरएनलाई क्षति पुर्याउँछ ।

वर्तमान नेतृत्वको कमजोरीका कारण यस्तो अवस्था सिर्जना भएको हो भनिन्छ नि ?
हो, एनआरएनएकै नेतृत्वको कमजोरीले गर्दा यस्ता खालका विवाद सिर्जना हुन थालेको छ । अहिलेको नेतृत्वले त्यसलाई सम्हालेर अगाडि बढ्न सकेन भने आउने नेतृत्वलाई झन् गाह्रो हुन्छ । यसअघि मैले तथा अरूले नेतृत्व सम्हाल्दा यस्ता खालका विवाद आएका थिएनन्, त्यो प्रष्ट छ । अहिले एनआरएनए संस्थालाई केहीले व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने थलो बनाएका छन्  । त्यसैले गर्दा पनि एनआरएनए विवादित हुँदै आएको छ ।
एनआरएनए संस्थापक हिसाबले अघि बढ्न सकेन भन्ने आरोप पनि छ । त्यही कारणले दोहोरो नागरिकताको माग सुनुवाई हुन नसकेको हो ?
एनआरएनए संस्थापक हिसाबले अघि बढ्नु पर्छ । एउटा कोही व्यक्तिको निजी स्वार्थमा संस्थालाई अघि बढाउनु हुँदैन । मैले ४२ वटा काम अघि बढाएको थिएँ । केही काम भइसकेका पनि थिए केही प्रोसेसमै थिए । जस्तो म नेतृत्वमा हुँदा एनआरएनको परिचय पत्र, एनआरनए दार्ताको कुरा अघि बढाएका थियौँ, दोहोरो नागरिकताको कुरा पनि निकै अघि बढेको थियो । अहिल यी कुराहरू किन अघि बढेनन् भन्ने प्रश्न उठेको छ । विदेशमै रहेर एनआरएन दर्ता गरिदिनु पर्यो  र दोहोरो नागरिकता दिनु पर्यो भन्दैमा कसले  दिन्छ र ? त्यका लागि नेपालमै आएर मिहेनत गर्नुपर्छ । नेपालका राजनीतिक दल तथा सरकारलाई बुझाउन सक्नुपर्छ । अहिले धेरै प्रयास गर्नु पर्छ अनि मात्रै एनआरएन दर्ता तथा दोहोरो नागरिकताका पाउन सक्छौँ । तर मेरो नेतृत्वमा हामीले अघि बढाएका विषयलाई अहिलेको नेतृत्वले किन  अघि बढाएन वा संस्था दर्ता तथा दोहोरो नागरिकताको सवाललाई किन प्रभावकारी रूपमा अघि बढेको छैन अहिले ? भन्ने कुरा अहिलेकै नेतृत्वलाई सोध्नुपर्छ  ।
एनआरएनए दर्ताचाहि किन हुन नसकेको हो ?
कुरा के हो भने एनआरएन भनेको सार्क देशभन्दा बाहिर बसेकाहरू हुन् । हाम्रो विधानअनुसार सार्कभन्दा बाहिर १ सय ८३ देशमा बसेकाहरूलाई चाहिँ एनआरएन भन्ने गर्छौँ । नेपाल सरकारको कानुनअनुसार चाहिँ दुई वर्ष विदेश बसेको छ भने त्यसलाई एनआरएन भन्ने गरिएको छ । त्यसमा बाझिएको छ, कुरो । तर त्यसलाई पनि मिलाउन नसक्ने कुरा केही पनि होइन । नेपाल सरकारले नेपालीहरूकै संस्था दर्ता गराउन सक्दैनौँ भन्नुलाई हामीले गम्भीरतापूर्वक सोच्नुपर्छ ।
अहिले अपेक्षाअनुसार काम नभएको भन्ने कुरा उठेको नि ?
म प्रष्ट रूपमा भन्छु । जसरी म एनआरएनको अध्यक्ष भएर काम गरेँ । मैले काम गर्दा अहिले कार्यसमितिमा रहेका र अन्य केही साथीहरूले सहयोग गरेका थिएनन् । त्यसैगरी वर्तमान नेतृत्वले पनि त्यही समस्याको सामना गर्नु परिरहेको छ । त्यति बेला म नेतृत्वमै छँदा एनआरएनए दर्ता र दोहोरो नागरिकताको कुरा टुंगिन्थ्यो । केही साथीहरूले संस्था दर्ता र दोहोरो नागरिकताकै विषयमा मलाई सहयोग गरेनन् । सहयोग गरेको भए त्यत्ति बेला नै संस्था दर्ता र दोहोरो नगरिकताको सवाल टुंगिसक्थ्यो । संस्था दर्ताको ८० प्रतिशत काम त भइ पनि सकेको थियो । मैले संस्था दर्ता गरेरै छोड्छु भनेको थिए तर साथीहरूकै असहयोगकै कारण त्यो सफल भएन ।
अबको नयाँ नेतृत्व कस्तो आउनुपर्छ ?
एनआरएनए गैरआवासीय नेपालीको विशुद्ध संस्था हो । यसमा राजनीति गर्नु हुँदैन । गैरआवासीय नेपालीका समस्या समाधान र नेपालको विकासमा सहयोग गर्ने उद्देश्य एनआरएनएको हो ।
त्यसैल अबको नेतृत्व कुनै पनि राजनीतिक दलको रंग लागेको मान्छे आउनु हुँदैन । शुद्ध गैरआवासीय नेपालीले नेतृत्व पाउनु पर्छ । एनआरएनबारे आफ्नो भिजन प्रष्ट पार्नेलाई सबैले सहयोग गर्नुपर्छ त्यसलाई नै आगामी नेतृत्व दिनु पर्दछ ।
पछिल्लो समय एनआरएनए नेपालीहरूका समस्या समाधानभन्दा पनि व्यक्तिगत स्वार्थका लागि बढी तल्लीन भएको भन्ने आरोप पनि छ नि ?
केही हदसम्म सत्य नै हो । पछिल्लो समय एनआरएनए पूरै संस्था र गैरआवासीय नेपालीहरूका समस्याभन्दा बढी एउटा व्यक्तिगत स्वार्थ वा लगानीमा तल्लीन भएको छ । नेपालमा लगानी गर्नु आफैँमा राम्रो काम हो । तर, एनआरएनलाई नै यस्तो भ्रम परेको छ कि एनआरएनएले एउटा इन्भेस्टमेन्ट गर्ने छुट्टै संस्था बन्यो भन्ने । यो भ्रमलाई चिर्नु जरुरी छ । इन्भेस्टमेन्ट कम्पनी नै भएको भए त अरू कुनै नाम दिएको भए नि हुन्थ्यो नि त । नेपालमा लगानी गर्नु र नेपालको आर्थिक विकासमा सहयोग गर्नु एनआरएनको कर्तव्य नै हो तर एनआरएनकै साथीहरूमाथि परेको भ्रम चिर्नुपर्छ । नेपालमा लगानी सँगसँगै गैरआवासीयहरूका सवाललाई अलि बढी उठान गर्नुपर्छ । यदि त्यसो गरिएन भने संस्थाको आयु धेरै लामो छैन ।
अहिले एनआरएनको आकार कस्तो ?
हामीले संसारका ५६ वटा देशमा एनआरएनको संस्था छ भन्छौँ । वास्तवमा ४० वटा संस्था मात्रै छन् । बाँकी २५ वटा कहाँ छन् त्यो मलाई पनि थाहा छैन । मैले भन्दै आएको कुरा के हो भने क्वान्टिटी होइन क्वालिटी बढाउनुपर्छ भन्ने हो । एउटै अभियानका लागि एकताबद्ध हुनुपर्यो एउटा अभियानको छातामुनी बसेर एउटै आवाज हुनुपर्यो, फरक फरक आवाज हुनु भएन भन्ने हो । अहिले विदेशमा भ्रातृ संगठन खोल्ने अनि एनआरएन पनि हुने अनि त्यसलाई प्रतिनिधित्व गर्दै एनआरएनएको नेतृत्वमा आउने प्रयास भइरहेकको छ । पार्टीको विचार तथा झन्डा बोकेर आए संस्थाको आयु त्यत्ति लामो हुँदैन ।
एनआरएनएको अध्यक्षमा काम गर्न सक्ने क्षमता भएको मान्छेभन्दा पनि जो सँ बढी पैसा , जो पैसावाल , त्यो मात्रै नेतृत्वमा उँ भनिन्छ नि ?
यो बिलकुल गलत हो । मैले पनि महसुसचाहिँ गरेको हुँ । एनआरएन भनेको धनीको संस्था हो भनिन्छ । म जाँदा  पनि भन्ने गरिन्थ्यो अहिले पनि भनिन्छ । म अध्यक्ष हुँदा पनि त्यस्तै आरोप लगाइएको थियो । यदि कोही बुद्धिमान मान्छे एनआरएनलाई हाँक्छु भनेर आउँछ भने बरु एनआरएनएको कोष खडा गरेर विभिन्न देशमा जाने व्यवस्था मिलाउनुपर्छ भन्ने कुरा मैले उठाएको हो । तर त्यो हुन सकेन । अहिले धनीकै संस्था भनेर भनिराखिएको छ । त्यस्तो चाहिँ होइन ।
कस्तो नेतृत्व ल्याउन भूमिका खेल्नुहुन्छ अर्थात् कस्तो व्यक्तिलाई सहयोग गर्नुहुन्छ ?
अहिले अध्यक्षका आकांक्षीहरू धेरै छन् । मैले उहाँहरूको भनाइ, घोषणापत्र हेरिरहेको छु । संस्थापक किसिमले चल्ने संस्थापक अध्यक्ष हुनु पर्छभन्ने हो । एक दुई जनाले संस्था चलाउनु हुँदैन । सबैलाई समेटेर लान सक्ने क्षमता भएको व्यक्तिलाई मेरो सहयोग रहन्छ ।
संस्थालाई व्यापारीकरण गर्नेलाई सहयोग रहँदैन । त्यस्तालाई नेतृत्वमा आउन दिनु हुँदैन । एनआरएनए भन्ने संस्था हाम्रो हो हामी सबै मिलेर संस्थालाई अघि बढाउनु पर्छ भन्ने मान्यतालाई स्वीकार गर्नेलाई अवश्य सहयोग रहन्छ ।***

तपाईको प्रतिक्रिया