Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

Bindu उमेरले भर्खरै ३० टेकेकी यी साहसी युवती नेपाललाई बनाउन अहिले विदेशी भूमिमा आधुनिक शिक्षासँगै कैयौं सीप सिकिरहेकी छिन्। दक्षिण कोरियामा बस्ने नेपाली महिलामध्ये कलिलो उमेरमै उच्च शिक्षा हासिल गरी सम्मानित पेसा र ओहोदामा पुगेकी सम्भवतः उनी प्रथम नेपाली महिला हुन् । विवाहको १६ वर्षपछि तनहुँ मझकोटका दुर्गाबहादुर र शान्ति मल्लले बिन्दु मल्ललाई जन्म दिए । अन्ततः तनहुँबाट काठमाडौंको नयाँबानेश्वर बसाई सरेका मल्ल दम्पतीकी एकमात्र सन्तान हुन पुगिन् बिन्दु। सानैदेखि पढाइमा अब्बल बिन्दुलाई आफू दोस्रो भएको आजसम्म थाहा छैन। कक्षामा सधैं प्रथम हुने मल्ल असाध्यै छिटो बोल्ने र सिकाएका कुरा छिट्टै टिप्ने स्वभावकी थिइन्। आफ्नो क्लासमा सधैं नेतृत्व गर्ने क्लास लिडर थिइन्। नयाँ कुरा परीक्षण गरिहाल्ने उनको बानी थियो। जेभियर कलेजबाट बीएस्सी. पूरा गरेपछि उनी केही समय थप अध्ययनका लागि जापान बसिन्। पुनः नेपाल फर्किएर त्रिविबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेपछि उनी दक्षिण कोरिया हान्निइन् र त्यहाँ पनि इवहा वुमन्स युनिभर्सिटीबाट इन्जिनियरिङमा स्नातकोत्तर गरिन्। त्यसपछि उनमा अझै पढ्ने र सोही समय भित्र अन्य थुप्रै कुरा सिक्दै जाने इच्छा भयो। सोहीअनुरूप उनी योन्सेइ युनिभर्सिटी दक्षिण कोरियामा विश्वव्यापी जलवायु तथा मौसम परिवर्तन विषयमा विद्यावारिधिको अन्तिम चरणमा पुगेकी छिन्। उनी पेसाले शोधकर्ता हुन् भने सँगसँगै पारिवारिक व्यवसायको जिम्मेवारी पनि सम्हालिरहेकी छिन्। सोल नेसनल युनिभर्सिटीमा वरिष्ठ शोधकर्ताका रूपमा कार्यरत मल्ल सोनसिक (सोसाइटी अफ नेप्लिज स्टुडेन्ट इन कोरिया) को निर्वाचित प्रथम महिला अध्यक्ष हुन्। एक छोरीकी आमा बिन्दु श्रीमान् कुलेन्द्र पुनका साथ दक्षिण कोरियाको सोल सिटीमा बसोबास गर्छिन्।

विदेशको जीवन कस्तो चल्दैछ ?
रहरले होइन करले विदेशी जीवन स्वीकार गर्नु पर्दोरहेछ । हाम्रो देशमा पनि यहाँजस्तै गुणस्तरीय शिक्षा र हामीजस्ता केही गरौं भन्नेहरूका लागि अवसर भैदिएको भए सायद आफ्नै देश सम्झँदै यसरी विदेशी भूमिमा मन मारेर बसिँदैनथ्यो होला।

यत्तिको सिर्जनशीलता र क्षमता भएका मानिस आफ्नै देशमा केही नगरेर किन विदेश हान्निनुभो त ?
म यहाँ जे सिकिरहेकी छु जस्तो काम गरिरहेकी छु अन्ततः त्यो सीप नेपालकै लागि हो। यी सब चीज नेपालमा बसेको भए कहाँ सिक्न पाउनु ? नेपालमा अहिले जे कुराको अभाव छ म त्यसको पूर्ति गर्ने कला सिकिरहेकी छु। यो ज्ञान केही वर्षपछि नेपालकै लागि खर्चिनेछु।

यहाँ तपाईंको मुख्य काम के हो ?
म जुन विषयमा विद्यावारिधि गरिरहेकी छु, सोहीअनुसारको काम मिलेको छ यहाँ। मेरो टिममा जापानिज, कोरियन, चाइनिज आदि मुलुकका शोधकर्ता छन्। हामी छलफलका क्रममा अफिसभित्र सँगै भए पनि कार्यस्थल (फिल्ड) मा एक्लै जानुपर्छ। जंगलले कति कार्बन तानिरहेको छ म अहिले त्यो नाप्ने काममा व्यस्त छु।

तपाईंले फिल्डमा गर्नुपर्ने काम के हो ?
सोल सिटीबाट घन्टौं लगाएर ट्रेनमा जानुपर्छ । त्यसपछि अर्को १ घन्टा बस र थप अर्को १ घन्टा पैदल हिँडिसकेपछि मेरो शोध गन्तव्य पुगिन्छ। त्यहाँ पुगेपछि सबैभन्दा पहिले हप्ताभरको डाटा आफ्नो ल्यापटपमा डाउनलोड गर्छु। जंगलको बीच भागमा आवश्यक उपकरणसहितको करिब ५० मिटर अग्लो टावर छ। एक्लै उक्त टावरमाथि चढ्नुपर्छ। माथि चढेपछि डाटा डाउनलोड गर्नुका साथै उपकरणहरू ठीक छन्-छैनन् चेक जाँच गर्नुपर्छ। रुखले कति कार्बन तानिरहेको छ र कस्तो कार्बन फ्याँकिरहेको छ जसले मानवलाई कत्तिको असर वा प्रभाव पार्छ सबै जाँच गर्नुपर्छ।

कार्यस्थल असहज वा सहज कस्तो छ ?
त्यो आरक्षित जंगल हो। उक्त जंगलमा जो पायो त्यही भित्र पस्न पाउँदैनन्। हाम्रो युनिभर्सिटीले कोरियन फरेस्ट रिसर्च इन्स्टीच्युटसँगको सहकार्यमा उक्त जंगलभित्र काम गरिरहेको छ। घनघोर जंगलभित्र हिउँमा हिँड्दै जानुपर्छ। प्रायः सधैं एक्लै भइन्छ।

महिला भएकै कारण यस्तो काम गर्दाको तीतो अनुभव छ कि ?
महिला भएकै कारणले मात्र होइन पुरुषका लागि पनि यो चुनौतीपूर्ण काम हो । यस्तो काममा जसलाई पनि समस्या आउन सक्छ। मसँग एकपटकको डरलाग्दो अनुभव छ। एकदिन काम गर्दागर्दै रात परेको पत्तै भएन। फ़र्कदा बेलुकीको ८ बज्न आँटिसकेको थियो। मधुरो टर्च बालेर झाडी पन्छाउँदै अघि बढ्दै थिएँ परबाट जंगली भालु आफैतर्फ आइरहेको देखें। डरले मुटुले ठाउँ छोड्यो। टर्च निभाएर अलि पर भागें र रुखमा टाँस्सिएर लुकेर बसिरहें। करिब ४५ मिनेटपछि भालुको चाल सुनिन छाड्यो अनि विस्तारै निस्किएर बाटो लागें।

आफूमा यस्तो शक्ति कहाँबाट आएजस्तो लाग्छ ?
म आशावादी महिला हुँ । म थुप्रै चुनौतीलाई पार गर्दै आएकी र जे पनि गर्न सक्छु भन्ने हिम्मत भएकी महिला हुँ। नेपालमा यस्ता भयंकर चुनौती सामना गर्ने अवसर कमै पाएकी थिएँ। यहाँ आएर यो अवसर प्राप्त भएको छ, यसैमा रमाइरहेकी छु।

तपाईंबाट नेपालले भविष्यमा के पाउला त ?
नेपालमा मात्र नभएर विश्वभर हाल जलवायु परिवर्तनले ल्याएका असर र प्रभाव बढिरहेको छ। हाम्रो हिमाली क्षेत्रमा पनि जलवायु परिवर्तनले हिउँलगायत हिमपात घट्दैछ भने बेमौसममा पनि हिउँ पग्लेर भारततिर ओरालो लाग्दैछ। भविष्यमा हाम्रो नेपालमा खानेपानीसम्म नपुग्ने अवस्था आउन सक्छ। यो उपकरण अत्यन्तै महँगो छ तर मेरो परिश्रम, रुचि र कडा परिश्रम देखेर यहाँका विदेशीहरूले सहयोग गर्न खोजिरहेका छन्। भविष्यमा नेपालमा यही उपकरण भित्र्याएर काम गर्ने योजनामा छु।

नेपाली महिलाका लागि केही गर्ने योजना छ कि ?
म अहिले यहीँ पनि वुमन फर वुमन ग्रुपसँग महिला हक-हित र अधिकारका लागि काम गरिरहेकी छु। छिट्टै नै यहाँ मेरो पहलमा महिलाका लागि विशेष कार्यक्रम हुँदैछ। भविष्यका लागि त थुप्रै योजना छन्।

महिला सशक्तिकरणको सूत्र केलाई मान्नुहुन्छ ?
सर्वप्रथम शिक्षा, आर्थिक रूपमा सबल तथा म जे पनि गर्न सक्छु भन्ने सकारात्मक सोच।

यस्तो जोखिम र बढी समय खर्च गर्नुपर्ने काममा श्रीमानबाट कत्तिको सहयोग मिलेको छ ?
उहाँकै हौसला र प्रेरणाले अघि बढ्न सघाएको छ।

श्रीमानको आकर्षक पक्ष ?
साधारण जीवन जिउन चाहने व्यक्ति, समझदार तथा मेरा लागि प्रतिक्रिया व्यक्त गरिरहनुपर्ने उहाँको स्वभाव।

उहाँको मन नपर्ने कुनै कुरा ?
आवश्यकताभन्दा बढी केयर गर्ने बानी। कहिलकाही त अभिभावकको नियन्त्रणमा छु कि जीवनसाथीसँगको साथमा झुक्किन्छु

तपाईंको जीवनकै अमूल्य उपहार ?
मेरो परिवार।

आमा र शिशु छुट्टएिर बस्दा मानसिकरूपमा करियरमा असर पर्दैन ?
यो कुरा नसम्झाउनुहोस् मेरो मुटु भक्कानिएर आउँछ, मन थामिदैन। म आमा हुँ। विदेशमा उच्च शिक्षा हासिल गरी यहाँ सिकेको सीपलाई नेपालमा कार्यान्वयन गर्ने भोक र मोहले मैले व्यक्तिगत एवं पारिवारिक जीवनमा ठूलो सेक्रिफाइस गरेकी छु। यो कुरा नेपालमा बसेर नेपाल बनाउँछु भन्ने कसले बुझ्ला ? बुझ्लान् त केवल ती आमाहरूले जसले सन्तानसँग छुट्टीनुको पीडा भोगेका छन्। यी सबै कुरा सम्झेर हृदय विक्षिप्त हुन्छ।

स्त्रीशक्ति केलाई मान्नुहुन्छ ?
माफी दिन सक्नुलाई।

आफूलाई शक्ति प्रदान गर्न सधैं साथ रहने वस्तु ?
मेरो साहस र मेहनत।

नेपाल भन्नेबित्तिकै दिमागमा आइहाल्ने कुरा ?
मातृभूमि र त्यसप्रतिको आत्मीय भावना ।

तपाईंको सबैभन्दा ठूलो पुँजी ?
आत्मविश्वास।

पहिलो प्रेम अनि डेटिङ ?
र्‍याडिसन होटलमा हालका श्रीमानसंग।

तपाईंको जीवनमा घटेको कुनै रमाइलो घटना जुन कहिल्यै बिर्सन सक्नुहुन्न ?
मैले त्रिविमा स्नातकोत्तर गर्दा उहाँ (हालका श्रीमान्) भर्खरै बेल्जियममा पढाइ सिध्याएर फर्किनुभएको थियो। मलाई क्याम्पसमा देखेपछि असाध्यै मन पराउनुभएछ। मैले उहाँको प्रस्ताव अस्वीकार गरेपछि उहाँमा मप्रतिको आकर्षण अझ बढ्दै गएछ। उहाँले २ वर्ष कुरेपछि मैले बल्ल स्वीकार गरें। मलाई प्रभाव पार्न उहाँले क्षमता बाहिरका के के मात्र गर्नुभएन। उहाँले सधैं फाइभ स्टार होटलमा डेटिङ बोलाउने। एकदिन हामी डेटिङका लागि सांग्रिला गयौं। पिज्जा अर्डर गरेको केही समय हुँदा पनि नआइपुगेकाले उहाँ रेस्टरुम जानुभयो र त्यही बेला पिज्जा आइपुग्यो। मलाई पिज्जा असाध्यै मन पर्ने छिटोछिटो पिज्जा काटेर खान्छु भन्दा पिज्जा जति सबै भुइँमा। मैले डराउँदै हतार-हतार पिज्जा टिपेर प्लेटमा हालेर जस्ताको तस्तै बनाएर राखिदिएँ। पछि उहाँले खाऊखाऊ भन्दा पनि भुइँमा खसेर फोहोर लागेको पिज्जा खान सकिन र भन्न पनि सकिन। उहाँले म रिसाएको मानेर तिमी नखाने भए म पनि खान्न भनेपछि हामी दुवै जना त्यहाँबाट बाहिरियौं। उक्त घटना सम्झदा अहिले पनि हाँसो रोकिँदैन ।

श्रीमानलाई विगतको कुनै क्षणमा लिएर जानुपर्‍यो भने ?
नयाँबानेश्वर चोकमा म चिटिक्क परेर डेटिङ जान उहाँलाई कुरिरहेकी थिएँ । उहाँ कार हाँकेर आउनुभयो। यसरी मोड्नुभयो कि वरिपरिका मान्छे नै चकित। त्यसपछि त कार गुड्नै छोड्यो। बाटो पनि हिलो थियो। उताबाट ट्राफिक सिटी फुकेको फुक्यै छ। अब के गर्ने ? उहाँले मलाई गाडी धकेल्न लगाउनुभयो। म हाइहिल लगाएर कार धकेल्न थालें। सबै चित खाएर हेरिरहेका छन्, कोही हाँस्दैछन्, हामी भने गाडी कसरी गुडाउने भन्ने धुनमा….(लामो हाँसो….)। त्यो समयमा एकपटक पुर्‍याएर मैले उहाँका लागि केसम्म गरिन भन्ने अनुभूति गराउन चाहन्छु ।  ***

प्रस्तुति: लक्ष्मी भण्डारी थापा

तपाईको प्रतिक्रिया