बिहानको मर्निङ वाक गर्दै पशुपतितिर जाँदै थिएँ । गौशालाको पशुपति छिर्ने गेटै निर अब्दुल रहमान भेटिए बाटामा । अघि–अघि कुप्रिएको शरिरलाई बलैले घिसार्दै लुखुर–लुखुर गै रहेका ।
अब्दुल रहमान पशुपति तिर ! त्यो पनि यति बिहानै ! अचम्म लाग्दो दृश्य थियो त्यो । उनले नमाज गर्ने स्थान पशुपति हैन र फेरी यतातिर कुनै मस्जिद भएको पनि मलाई थाहा छैन । यी बुढा यता आए चैं किन हँ ? भन्ने खुल्दुलीले घर गरेर मलाई बस्नै दिएन अनि मैले बिस्तारै उनका काँधमा हात राखेर आफ्नो उपस्थिति जनाउँदै भने–“वस्सलाम वालेकुम अब्दुल चाचा ।”
“वालेकुम वस्सलाम”
उनले अभिवादन फर्काउँन पाएका मात्र के थिए, मैले नै पुनः प्रश्न राखि हालें–“अनि यति बिहानै कता नि चाचा ?”
“आर्यघाट”–उनले एक शब्दमा उत्तर दिए ।
बुढाका मुखबाट आर्यघाट भन्ने शब्द निस्किएको देखेर मलाई झन आश्चर्य चकित बनायो अनि मैले भनि हालें–“ठट्टा नगर्नु न चाचा, साँच्चै सोधेको ।
“तिमीसँग किन ठट्टा गर्थें र बाबु म, साच्चै म पशुपति आर्यघाट नै हिडेको हुँ”–बुढाले स्पष्ट पारे ।
“किन र चाचा ?”–मैले नसोधि सकिन ।
“हिजो पनि म यतै थिएँ भोली पनि फेरी यतै हो, त्यसैले आजको नमाज चैं यही देवभूमिमा बसी पशुपतिनथतिर फर्किएर गर्नु परयो भनेर नि”–बुढाले कारण खोले र अझ स्पष्ट पार्दै थपे–“यहाँबाट मस्जिदसम्म पुग्न ढिलो पनि हुन्छ र मस्जिदभन्दा पशुपतिनै नजिक पनि पर्छ, आखिर नामैमात्रले त के फरक पर्ने रहेछ र बाबु !”
बुढाका पाङ्दुरे कुराले आज दिन बिताइ दिने भयो यतै भनेर मेरा मनमा चसक्क चिसो पस्यो अनि मैले भाग्ने सुरले बाहना बनाएँ–“लौ त चाचा मलाई आज अलि हतार छ, यहीं चाचाका कुरामा भुलिईरहें भनें त मैले दुइगाँस चेप्ने समय पनि पाउँदिन त्यसैले म हिडें है त ।”
म हिड्लाई लम्कन आँटेको मात्र के थिएँ, पख–पख गर्दै बुढाले मेरा पाखुरामा च्याप्प समाते र मलाई रोके अनि “केका लागि हतार गर्छौ त बाबु ? जति हस्याङ–फस्याङ, खाइ–नखाइ र सबैलाई पछि पारेर कुदे पनि आखिरमा मान्छेको पुग्ने ठाउँ भनेको त त्यही आर्यघाटसम्ममात्र त रहेछ, आजसम्म जति हतारिएर कुदे पनि कोही आर्यघाट तरेर पारी पुगेको मैले देखेको छैन”–बुढाले उसै गरि शान्तभावमा उत्तर दिए र प्रश्न थपे– “कि तिमीले देखेका छौ ? ***