मैले प्रतीक्षा गरेको त्यो अंक पनि कोपिला नबन्दै उखेलेर फालेको फूलको बिरूवाझैँ हुन पुग्यो । कुरा के भने साथी गजेन्द्र अकेलाकी एउटी प्रेमिका थिइन् । उनको नाम सविना थियो । उनलाई पनि साहित्यिक हावाले मज्जैसंग छोएको थियो । चालीसेले विकल उपनाम झुण्ड्याए । त्यसैगरी कसैले प्यासी राखे । अनि कसैले अन्जान । सविनालेचाहिँ नामको पछाडि अंकित गरिन् निर्मोही भनेर । त्यत्ति गतिली लेखिका त होइनन् तर केही संपादकहरूलाई उनले आफ्नो ब्यागमा राखेर हिँड्ने गर्दथिन् । कुरा उही हो, बुझे भइगो । मलाई उनै सविना निर्मोहीसंग साथी अकेलाले एउटा कार्यक्रममा परिचय गराएको थियो । त्यो हाम्रो प्रत्यक्ष भेटघाट थियो । खासै भन्ने हो भने त्यो लुच्चाले प्रख्यात साहित्यिक पत्रकार तथा प्रकाशक गजाधर पथिकसंग मिलन गराउने कसम खाएको थियो । परन्तु, उसकी प्रमिकाको अनुहारलाई पो दर्शन गरायो । घनिष्ट प्रेम परेको प्रमाण दिन खोजेको रहेछ । युवती, त्यसमाथि कवयत्री ! मभित्र भावनाका छालहरू उत्पातसंग उर्लिन थालिहाले । अटेसमटेस किसिमले प्रश्नका पर्राहरू क्रमशः छुट्न थाले—‘अँ त निर्मोहीजी, मेरा कृतिहरूमा पनि दृष्टि लगाउनु भएकै होला । मन विचरण गराउनु नै भएको होला । कस्तो लाग्यो तपाईँलाई ? केही टिप्पणी सुन्न पाए…।’
— ‘मैले तपाईँका दुई–चार थान कविता पढेकी थिएँ । खासै गतिला लागेनन् ।’ मेरो आशक्तिको विरूवालाई उनले यसरी निमोठेर फालिदिइन्, मैले ऐया पनि भन्न सकिनँ । उनी धक्कू लगाउँन थालिन-‘मैले तपाईँका अन्य कृतिहरूतिर आँखा लगाउनै पाएकी छैन । आफ्नो रचना लेख्दैमा फुर्सद छैन । संपादकहरूले रचना मागेर हैरान पार्छन् । आज पनि एकजना प्रकाशक तथा संपादकलाई नभेटी भएको छैन ।’ उनको प्रेमी गजेन्द्रले आग्रह गर्यो-‘तिमीले पथिक सरको कुरा गरेकी होइनौ ? यो मित्रसंग पनि परिचय गराइदेऊ न है ?’ उनको भागै खोस्न आएकोजस्तो गरेर सहमति जनाउन गाह्रो मानिन् सिकारू कवयत्री सविना निर्मोहीले ।
पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ कविले साहित्यिक दर्शनबारे विवेचना गरिराखेका थिए तर कतिपय लेखकहरूलाई मतलवै थिएन । उनीहरू आ–आफ्नै तालमा मस्त थिए । संपादक गजाधर पथिक पनि पकेटका केही महिला कविहरूलाई जम्मा पारेर गफ चुटिरहेका थिए । सविनाले उनीसंग हात मिलाइन् । नरम हात, चाँडै छोड्ने त कुरै थिएन । मेरो साथी अकेलालाई द्विविधा भैरहेको थियो, प्रेमी आफू हो कि पथिक सर ? उसले मलाई अघि सार्दै परिचय गरायो— ‘पथिक सर, यो मेरो लेखक साथी । के.के. विराग क्या त ।’ उसले नाम र उपनाममा किन पनि जोड दियो भने, कृति पढेको हुन सक्छ तर भौतिक देह नदेखेको होला । संपादकले चासो दिएकै हुन् । नत्र यस्तो जिज्ञासा प्रकट्याउँदैनथे— ‘विराग त टाइटल रहेछ, त्यो मैले बुझेँ । तर..।’ उनको जिज्ञासा मेरो नामबारेमा थियो । मैले नै अथ्र्याइदिएँ— ‘कृष्णकान्त । अर्थात् के.के. विराग । मैले हात मिलाउन अघि बढाएँ तर उनको उत्सुकता हराइसकेको थियो, जति अघि निर्मोहीको हात मिलाउँदा थियो ।
त्यहाँ १–१ प्रति विमोचित किताब उपहार दिन थालिएको थियो । सवितासहित महिला कविहरू यसरी कुदे, लाग्थ्यो म्याराथन भइरहेछ । किताब पाएपछि दर्शकहरू किन बसिरहन्थे र ? उद्देश्य पूर्ण भैहाल्यो । तताए आ–आफ्नो बाटो । मेरो साथीकी प्रेमिकाले उसलाईभन्दा बढी माया आगामी अंकमा छापिने गजललाई गरिरहेकी छिन् भन्ने भान पर्ने व्यवहार गरिरहेकी थिइन् ।
अर्को दिन म एक्लै गजाधर पथिकको कार्यालय पुगेँ । पहिला त काउन्टरमा बस्ने केटीले लफडा झिकिन् अप्वाइन्टमेन्टको । मैले भिजिटिङ कार्ड देखाइदिएँ । उनले जाने अनुमति दिइन् । संपादक गजाधर पथिक दुईजना नारीरत्नहरूको बीचमा सोफामा बसिरहेका रहेछन् । गिद्धले पँखेटा फिजाएसरी आफ्ना कर्मठ बाहुहरू उनीहरूको कुम–कुममा अड्याइराखेका थिए । सायद अन्यको पालो पुगेर हो कि, अर्को सोफासेटमा बसेर गफ मारिरहेका थिए । मलाई देख्नासाथ सबैजना सम्हालिए । पथिक सर उठेर घुम्ने मेचतिर सरे । उनको वक्रदृष्टि पनि मतिर पर्यो । मैले मेरा कृतिहरू उनको टेबुलमा राखिदिएँ । उनले एउटा कृति उठाएर कभर निहारे । म सामुन्नेको मेचमा बसेको थिएँ । पुलिसले चोरलाई केरेझैँ मसंग वयान लिन थाले उनले— ‘मैले दिएको समयभन्दा किन पहिल्यै आउनुभयो भन्नोस् त ?’ उनी आफू निकै व्यस्त भएको वयान गर्दै नारी कविहरूसंग साहित्यिक भलाकुसारी चलिरहेको गफ दिन थाले । उनी पैसाका मामिलामा निकै कन्जुस र आशामुखी छन् भन्ने कुरा मलाई थाहा थियो । अतः म पूर्वतयारी गरेर गएको थिएँ । मैले पथिक सरको साहित्यिक पत्रिकामा आफ्नो कार्यालयको विज्ञापन छपाउन हाकिमबाट स्वीकृति पत्र लगेको थिएँ । त्यो पत्र उनको हातमा दिएँ । व्यहोरा अवगत भएपछि एकाएक उनको अनुहारमा चमक देखापर्यो । उनले वास्तविकता खुलाउँदै लेक्चर छाँट्न थाले— ‘ हेर्नोस् विराग भाइ, यो साहित्यिक पत्रिका चलाउनु भनेको त आकाशे खेतीजस्तै रहेछ । कहिले सप्पै बिक्छ । कहिले त एउटा पनि बिक्तैन । खालि वार्षिक सदस्यहरूको भरमा चलाउनुपर्छ । वास्तवमा भन्ने हो भने यी नारीरत्नहरूको मदतमै निर्भर छ मेरो पत्रिका ।’ मैले उनको आशय बुझिसकेको थिएँ । तसर्थ आफ्नो दर्शन छाँट्न थालेँ— ‘नोकरी भएको मान्छेले लेखकस्वप्रति र्याल चुहाउनु हुन्न । म पनि लेखकस्व माग्नेवाला छैन ।’ — ‘उत्तम, अत्युत्तम ।’ पथिक सर खुसी देखिए ।
मैले संपादक तथा प्रकाशक गजाधर पथिकलाई सक्दो सहयोग गर्दै गएँ । उनले मेरा थोरै कविताहरू मात्र छाप्न थालेका थिए । उनी यस्तो लोभी र कन्जुस थिए, रचना छापिनासाथ महँगो रेष्टुराँमा लगेर मासुभात र स्कच ख्वाउनु पर्दथ्यो । अति भएपछि मैले भन्दिएँ— ‘पथिक सर, मैले नोकरी छोडेँ । अब त तलब पनि दिँदैनन् अनि विज्ञापन पनि दिँदैनन् ।’ त्यो समयदेखि हाम्रो सम्वन्धमा दरार पैदा भयो । निकै लामो समयसम्म मेरा रचना प्रकाशित नभएपछि मैले कड्केर सोधेँ— ‘संपादकज्यूले मेरा रचनाहरू किन रद्धीको टोकरीमा फालिदिनु भयो ? त्यो मेरो ‘ढलेको श्रीपेच’ शीर्षकको कविता किन छाप्नु भएन भन्नोस् त ? अब त देशमा लोकतन्त्र स्थापना भैसक्यो नि होइन र ? फेरि किन सामन्तहरूलाई खुसी पार्न चाहनुहुन्छ तपार्इँ ?’ —‘जाबो एउटा, दुइटा कृतिको मालिक भइटोपल्दैमा सबै कुरामा निपूर्ण छु भन्ने घमण्ड नगर्नोस् न विराग । संपादकको टेबुलमा आएजति सबै रचना छाप्नैपर्छ भन्ने वाध्यता छैन । उपयुक्त र राम्रो भए छापिन्छन् । नभए..।’ संपादकले आफ्नो अधिकारको धमास देखाउँदै भने । मैले बहसलाई अझै जटिल बनाइदिएँ—‘त्यसोभए राम्रो रचनाको परिभाषा दिनोस् न त संपादक महोदय । मेरो “मलाई पनि महाराज बन्न मन लाग्यो” शीर्षकको कवितामा के खोट देख्नुभयो यहाँले ? स्पष्ट बताइदिनु भए आभारी हुने थिएँ ।’ अहँ, उनीसंग जवाफ थिएन । नालायक नेपाल सरकारका उच्च अधिकारीहरू भूतपूर्व राजाको चाकरीमा सारा राष्ट्रिय शक्ति खर्चिरहेका थिए । उनका आसेपासेहरूले श्री ५ कै हैसियतमा ठाउँठाउँमा अभिनन्दन गरिरहेका थिए । धनको बलमा जयजयकार खाइरहेका थिए भू. पू. राजाले । लोकतन्त्र आए पनि हामीजस्ता साधारण लेखकलाई तिनै पूर्वशासकहरूको शक्तिरूपी हाउगुजी देखाएर स्वतन्त्रताको काफलगेडी खानबाट वञ्चित गराइयो । मेरो त्यो महाराजवाला कविताको भाव के थियो भने, यदि हामी सबैले आफूलाई महाराज घोषणा गरिदिने हो भने ती भूतपूर्व महाराजको भ्रम टुट्ने थियो र उनी आफ्नो औकातमा बस्ने थिए । तर पथिकजस्ता केही पतित पत्रकारहरूको चाकरीले चौथो अङ्गको धज्जी उडिरहेको थियो ।
एकदिन मलाई संपादक पथिककै डेक्सगर्लले उनका विरुद्वका सूचना र सामग्रीहरू उपलब्ध गराइदिइन् । संपादक गजाधर पथिक त पतित मान्छे भएको प्रशस्तै प्रमाण फेला परेको थियो । मैले गणतन्त्रवादी पत्रकार चरित्रमान नेपालीलाई गोप्यरूपमा भेट गरेँ । मैले पथिकसंग सम्बन्धित सबै फोटाहरू देखाएँ । तर उल्टै मैलाई उल्लू बनाउने तर्क गर्न थाले नेपालीजीले—‘के काम दिन्छ यस्ता तस्विरले ? जमाना अहिले कम्प्युटरको छ । कसैलाई बदनाम गराउन “ट्रिकफोटाहरू” जति पनि बनाउन सकिन्छ ।’ —‘यसको मतलव यहाँले त्यो गजाधर पथिकलाई असल पत्रकार र लेखक भन्ठान्नु भएको हो ?’ एक्कासी मेरो कम्पारो तातिहाल्यो । म अलि उत्तेजितिँदै बोलेँ—‘तपाईँले वर्गीय स्वार्थ हेर्ने कि विकृतिविहीन वर्ग निर्माण गर्ने पत्रकारज्यू ? गजाधर पथिकजस्तो कलङ्गलाई राष्ट्रको चौथो अङ्गमा लुकाएर राख्न चाहनुहुन्छ तपाईँ ?’ अहँ, उनले अरू स्पष्टीकरणको आवश्यकता देखेनन् ।
पथिकजी निवन्धकारकोरूपमा पनि परिचित थिए तर करिब दशवटा किताबबाट चोरेर लेखेको प्रमाण मैले भेटेको थिएँ । ती दशैजना मूर्धन्य लेखकहरूलाई साक्षीकोरूपमा उपस्थित गराउन सफल भइयो । उनका कालाकर्तुतजन्य सबै तस्विरहरू विभिन्न पत्रिकाहरूमा छापिए । ओहो ! पत्रकार बन्न इच्छुक व्यक्तिले समेत तीनपल्ट सोच्नुपर्ने स्थिति देखियो । अन्ततः साहित्यिक पत्रकार एवं संपादक गजाधर पथिक जेल परे । उनको प्रकाशन सँस्था “बाङ्मय सेवा” पनि खारेजीमा पर्यो ।
म र साथी अकेला उनै पथिक सरलाई जेलमा भेट्न पुगेका थियौँ । सन्जोगवश उसकी पूर्वप्रेमिका सविना निर्मोहीसंग जम्का भेट भयो । देख्नासाथ साथीले मुख बिटुल्याइहाल्यो—‘थुइक्कः नकचरी । यस्तो फटाहा र ४२० चोरको संगतमा लागेर मेरो पवित्र प्रेमको हत्या गरिस् होइन ?’ —‘गजेन्द्र । बढ्ता मुख नचलाऊ तिमी ।’ निर्मोहीले राम्रै मुखले चेतावनी दिइन्—‘मलाई तिमी मन परेन, प्रेम गर्न छाडिदिएँ ।’ उनलाई गजेन्द्र मन नपर्नुको कारण एउटै थियो । एक समय ऊ निकै बिरामी पर्यो । टाइफाइडले करीव बाईस दिन सुतायो अस्पतालको बेडमा । एकातिर प्रेमी इन्तु न चिन्तु भएर लडिराखेको थियो । अर्कोतिर प्रेमिका भनाउदीचाहिँ संपादक पथिकको पछि लागेर साहित्यिक गोष्ठी र कविसंम्मेलनतिर रमाइरहेकी थिइन् । पछि लाग्दालाग्दै पथिकसंग निर्मोहीको ‘ऊ’ भएछ । अनि त उनकै निर्देशनलाई शिरोपर गरिकन निर्मोहीले गजेन्द्रलाई आठ हरफे प्रेमत्यागपत्र दिएकी थिइन् । त्यही बखतबाट उसले आफ्नो नाम पछाडि टाइटल राख्यो, ‘अकेला’ । प्रेमिकाको रिसले एकदिन उसले मेरो कविताको समेत दाहसँस्कार गरिदिएको थियो । एउटै पानामा उनको गजल र मेरो कविता छापिएका थिए । साथीले त मैँबाट लगेको पत्रिका…!
त, जेलको भेटमा उनले हाकाहाकी भन्दिइन्—‘तिमीसंग प्रेम न गरेकी थिएँ, बिहे त होइन नि । अबदेखि मसंग यस्तो कुव्यवहार नगर ।’ —‘बरू बिहे गरेपछि छोडेकी भए भन्न सजिलो पथ्र्यो— स्वास्नी थिई, पोइल गई । तर यो विछोडको परिभाषा के भनेर गर्ने मैले ?’ अकेला वहकिँदै थियो । उनी बाटो लागिसकेकी थिइन् । उनको रिस ‘जारप्रेमी’ माथि खन्यायो । डण्डीबाट हात छिराएर पथिकको कठालो समातिसकेछ । मुखमा थुकिदिएछ । उनी गार्डसंग सहायता माग्दै कराउन थाले—‘गुहार..गुहार । मलाई बचाऊ । मलाई…।।’***