काठमाडौं – नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढासँग सत्ता साझेदार दल नेपाली कांग्रेस असन्तुष्ट बनेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मन्त्री बुढाको विकल्प नदिए सरकारमा सहभागी हुने विषयमा पुनर्विचार गर्ने चेतावनीसमेत दिएका छन् । सोमबार बसेको कर्णाली प्रदेश सभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै शाहीले मन्त्री बुढाको कार्यशैलीप्रति प्रश्न उठाउँदै तत्काल मन्त्रीका बारेमा आवश्यक निर्णय नदिए सरकार छाड्ने चेतावनी दिएका हुन् ।
सांसद शाहीले मन्त्री बुढाले फोन नउठाएको आक्रोश पोख्दै भने, ‘भौतिक मन्त्रीलाई मैले चार/पाँचपटक फोन गरेँ, तर फोन उठेन । जे भए पनि उसले सोच्यो होला जीवन शाही गइसक्यो आउँदैन, यसको किन फोन उठाउने ? भन्ने उसलाई पर्यो होला । संघीय सरकारको समपूरक बजेटमा स्रोत सुनिश्चित चाहिँदैन भन्न खोजेको हो । तर, मन्त्रीले रेसपोन्स नै नगर्ने विषयलाई मैले के रूपमा बुझ्ने ? केही दिनमा नतिजा ननिस्किए कांग्रेस सरकारमा बस्दैन ।’