काठमाडौं – जिल्ला अदालत काठमाडौँमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्ने भएका छन् ।
सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि आइतबार अदालतमा उपस्थित भएका लामिछानेको अहिले बयान चलिरहेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बयान सकिएपछि थुनछेक बहस हुने छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि उनी आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ ।
अभियोग पत्रमा उल्लेख भए अनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिट मार्फत विदेश पठाएको फेला भेटिएको छ । २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो रकम रवि लामिछानेको नामबाट विदेशमा पठाएको भेटिएको छ ।