टोकियो – यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था ‘निहोन हिदानक्यो’ले पाएको छ । ‘निहोन हिदानक्यो’ दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोसिमा र नागाशाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो ।
पुरस्कार समितिले नर्वेको ओस्लोमा विशेष समारोहकाबीच ‘विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन’ भन्ने प्रदर्शन गरेकाले निहोन हिदानक्योलाई पुरस्कृत गरेको हो । यस पुरस्कारले आणविक अस्त्रको उन्मूलनका लागि अभियानलाई ऊर्जा दिने अपेक्षा गरिएको छ, जब कि बढ्दो भू–राजनीतिक तनावले यी अस्त्रहरू पुनः प्रयोग हुने चिन्ता उत्पन्न गरेको छ ।
संस्थाका सहअध्यक्ष ९२ वर्षीय तेरुमी तानाकाले पुरस्कार समारोहमा आफ्नो संगठनको करिब ७० वर्ष लामो आणविक उन्मूलन अभियानबारे र आफू नागासाकीमा अमेरिकी बमबारीबाट बाँचेको अनुभवबारे बोल्दै भाषण दिएका थिए । ‘त्यस समयमा देखेका मृत्युलाई मानवीय मृत्यु भनेर वर्णन गर्न पनि गाह्रो थियो,’ उनले भने,‘ ‘मैले ती क्षणहरूमा महसुस गरें कि युद्धमा पनि यस्ता हत्या र अंगभंग कहिल्यै स्वीकार्य हुनुहुँदैन ।’तानाकाले युक्रेनविरुद्धको युद्धमा रसियाले आणविक धम्की दिएको र इजरायली सरकारका एक सदस्यले गाजा स्ट्रिपमा आणविक अस्त्र प्रयोगको सन्दर्भ दिएका कुरालाई उल्लेख गर्दै भने, ‘आणविक निषेधको परम्परा तोडिने खतराले मलाई अत्यन्त दुःखी र क्रोधित बनाएको छ ।’
तानाकासँगै ८२ वर्षीय तोशियुकी मिमाकी र ८४ वर्षीय शिगेमित्सु तनाका पनि मञ्चमा थिए । द्वितीय विश्वयुद्धको अन्त्यमा, १९४५ मा हिरोसिमा र नागासाकीमा अमेरिकी आणविक बम बमबारीबाट बाँचेका १७ जनासहितको ३० जनाको टोलीमा तानाका सबैभन्दा पाका हुन् । नोर्वेजियन नोबेल समितिका अध्यक्ष जोर्गेन वाट्ने फ्रिडनेसले आफ्नो भाषणमा भने, ‘आणविक युद्धले हाम्रो सभ्यता ध्वस्त गर्न सक्छ । हामी बाँच्नका लागि आणविक निषेधलाई कायम राख्न प्रयास गर्नुपर्छ ।’
१९५६ मा स्थापना भएको निहोन हिदानक्योले आणविक अस्त्र उन्मूलन र बमबारीका पीडितहरूलाई स्वास्थ्य तथा अन्य सहायता प्रदान गर्ने जापानी कानुनको कार्यान्वयनका लागि अभियान चलाउँदै आएको छ । तर, वृद्ध सदस्यहरू र सदस्यताको गिरावटका कारण समूहका ११ शाखाहरू बन्द भइसकेका छन् । पुरस्कारको राशी ११ मिलियन क्रोनर ($९९०,०००) तोकिएको छ ।