काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने संलग्न सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख दीपक थापाका अनुसार, लामिछानेमाथि संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण जस्ता अभियोगमा अनुसन्धान लगभग पूरा भएको हो ।
तोकिएको ९० दिनभित्र अदालतमा अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने कानूनी प्रावधानअनुसार प्रहरी तीव्र गतिमा प्रतिवेदन तयार गर्न व्यस्त छ । लामिछाने अहिले ५४ दिनदेखि प्रहरी हिरासतमा छन् । यस प्रकरणमा पोखराको सूर्यदर्शन सहकारीबाट सुरु भएको अनुसन्धानले वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, र नेपालगञ्जको समानता सहकारीसम्मका अनियमितता उजागर गरेको छ । यी सहकारीहरूबाट बचतकर्ताको करोडौं रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरिएको भेटिएको छ ।
प्रहरीले लामिछानेले सहकारीको रकम जथाभावी खर्च गरेको र बचतकर्ताको रकम अनियमिततामा सरिक रहेको निष्कर्ष निकाल्दै प्रतिवेदन तयार गरेको छ । अनुसन्धानका क्रममा लामिछानेले सहकारीहरूलाई ऋण तिर्न चेक काटेको प्रमाण फेला परेको छ। यसलाई प्रहरीले ठगीमा उनको संलग्नताको बलियो प्रमाणका रूपमा अदालतमा पेश गर्ने तयारी गरेको छ । लामिछानेले भने, प्रबन्ध निर्देशकका रूपमा आफूले खाली चेक ड्रअरमा छाड्ने गरेको र अरू कसैले त्यसमा नाम भरेको हुन सक्ने बताएका छन् । तर, प्रहरीका अनुसार, उनका बचाउका दाबीहरू सबुतले पुष्टि गर्दैनन् ।
सहकारी ठगी प्रकरणमा लामिछानेका तत्कालीन साझेदार, पूर्वडीआईजी छविलाल जोशीलाई समेत सहकारी ठगीका लागि जिम्मेवार ठहराइएको छ । जोशीलाई ६ असोजमा पक्राउ गरिएको थियो भने लामिछानेलाई २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाट नियन्त्रणमा लिइएको थियो ।
यसअघि संसदीय समिति गठन गरेर यो प्रकरणको छानबिन गरिएको थियो । एमाले सांसद सूर्य थापाको नेतृत्वमा बनेको समितिले लामिछानेलाई बचतकर्ताको रकम अपचलनमा दोषी ठहर गर्दै प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले सहकारीहरूको अनियमिततामा लामिछाने र उनका साझेदारहरूको प्रत्यक्ष संलग्नता रहेको औंल्याएको थियो ।
प्रहरीका अनुसार, लामिछानेमाथि अनुसन्धानको अन्तिम चरणमा सहकारीका अन्य अनियमितताहरू समेत समेटिएको छ । उनीमाथि वीरगञ्ज, पोखरा, र काठमाडौंका सहकारीहरूबाट बचतकर्ताको करोडौं रकम हिनामिना गरेको आरोप छ । गोर्खा मिडिया नेटवर्कमा रकम लगानी गर्ने नाममा सहकारीहरूबाट ऋण प्रवाह गराएर रकम जथाभावी खर्च गरिएको भेटिएको छ । प्रहरीले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र उनका साझेदार जिबीको नाममा गाडी खरिदका लागि ४६/४६ लाख रुपैयाँ ऋण प्रवाह भएको र यो रकम पनि बचतकर्ताको हितविपरीत प्रयोग भएको अनुसन्धानबाट पत्ता लगाएको छ ।
अनुसन्धान प्रतिवेदनलाई समयमै अदालतमा पेश गर्न प्रहरीलाई दबाब छ । लामिछानेमाथि लगाइएका आरोपका अतिरिक्त, अन्य सहकारीहरूसँग सम्बन्धित थप प्रमाणहरू पनि फेला परेको अवस्थामा अनुसन्धान फाइललाई अदालती प्रकृयामा थप प्रमाणका रूपमा समेटिने गरी अगाडि बढाइने प्रहरीका अधिकारीहरूले जनाएका छन् ।