समाचार सुन्नुहोस :
काठमाडौँ – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट गत एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन्। यो अवधिमा झण्डै पाँच हजार यात्रुले हवाई सेवा उपयोग गरेका छन्।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कात्तिक १८ देखि मंसिर १८ सम्म १५६ उडान/अवतरण भएको र जजिरा एयरवेजले सबैभन्दा धेरै तीन हजार ३४ यात्रुलाई सेवा दिएको छ। फलाई दुबईले सर्वाधिक उडान गरिरहेको भए पनि १,११३ यात्रुलाई मात्र सेवा दिएको छ। यस क्रममा दुई हजार २३८ यात्रु विदेश गएका छन् भने दुई हजार ५३३ भैरहवा आएका छन्।
थाइ एयर एसियाले ४४७, कतार एयरवेजले ९३ र नेपाल एयरलाइन्सले ३९ यात्रुलाई सेवा दिएको तथ्यांक छ। श्रम गन्तव्यतर्फ उड्ने यात्रु बढी रहेको र कुवेत सबैभन्दा धेरै रोजाइमा परेको पाइएको छ। विमानस्थलले सस्तो र सिधा उडान सेवाहरूले महँगो सेवा प्रदान गर्ने एयरलाइन्सभन्दा बढी यात्रु बोकेको देखिएकोले आगामी रणनीतिमा श्रम गन्तव्यलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको छ।
अन्तर्राष्ट्रिय उडानलाई प्रभावकारी बनाउन सरकार, सरोकारवाला निकाय र निजी क्षेत्रसँग नियमित छलफल भइरहेको महाप्रबन्धक तिवारीले बताए।