समाचार सुन्नुहोस :
काठमाडौँ – बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्क कार्यदलको बैठक आज बालुवाटारमा सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट फर्किएलगत्तै बीआरआई सम्झौताबारे समीक्षा गर्न यो बैठक आयोजना गरिएको हो।
बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, एमालेका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, र आर्थिक सल्लाहकार युवराज खतिवडा सहभागी थिए। बैठकमा बेइजिङमा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे छलफल र समीक्षा भएको छ।
त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले बीआरआई सम्झौता कुनै ऋण सम्बन्धित नभएको स्पष्ट पारे। उनले भने, “चीनसँग भएको सम्झौता ऋण लिने उद्देश्यले गरिएको होइन। बीआरआईअन्तर्गतका परियोजनामा छुट्टाछुट्टै छलफल र सम्झौता हुनेछन्।”
बुधबार भएको फ्रेमवर्क सम्झौतामा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका कामु सचिव अमृतबहादुर राई र चीनका नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका थिए। ओलीले सञ्चारमाध्यमहरूमा आउने ऋणसम्बन्धी गलत व्याख्याप्रति असन्तुष्टि जनाउँदै सम्झौताका सबै बुँदाहरू पारदर्शी रहेको बताए।
यी हुन् फ्रेमवर्कभित्र परेका परियोजना
- टोखा-छहरे टनेल
- हिल्सा-सिमिकोट सडक योजना
- किमाथांका-खाँदबारी सडक र पुल
- जिलोङ-केरुङ-काठमाडौं रेलमार्ग
- अमरगढी सिटी हल प्रोजेक्ट
- जिलुङ-रसुवागढी-चिलिमे २२० केभी प्रसारण लाइन
- मदन भण्डारी प्राविधिक विश्वविद्यालय
- काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम
- चीन-नेपाल औद्योगिक पार्क दमक
- झापा स्पोर्ट्स एन्ड्स एथलेटिक्स कम्पलेक्स